२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

प्रधानमन्त्री रोजगारका पैसाले चौतारा

हरिराम उप्रेती

गोरखा — ग्रामीण भेगमा परम्परागत चौताराहरू नासिने क्रममा छन् । भएका वरपीपलका चौतारा मर्मतसम्भार अभावमा लथालिंग छन् । यहाँको आरुघाट गाउँपालिकाले भने नयाँ जुक्ति निकाल्यो, ‘प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आएको रकम चौतारा संरक्षणका लागि खर्चने ।’

प्रधानमन्त्री रोजगारका पैसाले चौतारा

गोरखाको आरुघाट गाउँपालिका प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बनेको चौतारो । तस्बिर ः कान्तिपुर


चौतारा मर्मतको योजना बनाउँदादेखि नै गाउँपालिकाले प्रशंसा बटुल्यो । काम सुरु भएको १५ दिन बित्न नपाउँदै अहिले गाउँपालिकामा आकर्षक १६ चौतारा बनेको रोजगार संयोजक महेश खत्रीले बताए । ‘पुरानो चौतारा मर्मत–सम्भार पनि गरेका छौं,’ उनले भने, ‘एक चौतारो मर्मतका लागि एक लाख १० हजारदेखि एक लाख ९० हजार रुपैयाँसम्म खर्च भएको छ ।’


सिमेन्टको प्रयोग नगरी परम्परागत हिसाबले चौतारा निर्माण भएको उनले बताए । ‘ढुंगाको छपनी राखेका छौँ,’ उनले भने, ‘परम्परागत रूपमा जस्तो चौतारो हुन्थ्यो, त्यस्तै प्रकृतिको बनेको छ ।’ चौतारो मर्मतका लागि वडागत रूपमै योजना छनोट भएर आएको उनले बताए । ‘बाक्लो बस्ती भएका क्षेत्रमा अहिले प्रयोग भइरहेको तर मर्मत अभावमा अलपत्रजस्तो देखिने खालका चौतारा छनोट गरेका थियौँ,’ उनले भने, ‘६ चौतारो मर्मत गर्‍यौँ, एकवटा बिरुवा रोपेर नयाँ चौतारो लगायौँ, ९ वटा भने सुरुदेखि छपनी राख्नुपर्ने थियो, त्यसैअनुरूप बन्यो ।’


सडक सञ्जाल विस्तार हुँदा तथा ग्रामीण भेगबाट बसाइसराइ गर्ने क्रम तीव्र भएसँगै चौतारो मासिने क्रममा छ । यसको संरक्षणका लागि पनि चौतारा मर्मतको आवश्यकता खड्किएको गाउँपालिकाकाले जनाएको छ । गाउँ कार्यपालिकाबाट निर्णय गराएर रोजागार कार्यक्रमबाट आएको रकम चौतारो मर्मत–सम्भारमा खर्च गरिएको गाउँपालिका अध्यक्ष पूर्ण दाहालले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गापामा २८ लाख रकम आएको थियो । बाँकी रकमले छापगाउ आहाल, छापगाउँ नीलकण्ठ, र ढोंगचेत कोकाङ गोरेटो बाटो मर्मत भएको छ । सडकको ढल, वाल निर्माण पनि भएको हो ।


रोजागार कार्यक्रमअन्तर्गत छनोट भएका दुई सय ५२ जना चौतारो मर्मत–सम्भार र निर्माणमा खटिएका थिए । आगामी वर्ष चौतारासँगै खानेपानी धारा, चौतारासम्म पुग्ने घोरेटो बाटो पनि मर्मत–सम्भार गर्ने गाउँपालिकाको योजना छ ।

प्रकाशित : असार २५, २०७६ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?