१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

पटक–पटक ठेक्का, काम अलपत्रै

जिल्लाभित्रको १ सय ४२ किमिमध्ये अधिकांश खण्डमा काम भए पनि सदरमुकाम जोडिएको खण्डमा ठेकेदारले काम अलपत्र पार्दै आएका छन्
प्रकाश बराल

बागलुङ — पटक–पटक ठेक्का लिएका कम्पनीले समयमा काम नसक्दा मध्यपहाडी लोकमार्गको वागलुङको सदरमुकामदेखि घोडाबाँधेसम्मको २५ किमि खण्ड जीर्ण छ । 

पटक–पटक ठेक्का, काम अलपत्रै

तीन पटकसम्म निर्माण कम्पनी फेरिंदा यो सडकमा करोडौं खर्च भए पनि उपलब्धि नभएको हो । जिल्लाभित्रको १ सय ४२ किमिमध्ये अधिकांशखण्डमा काम भए पनि सदरमुकाम जोडिएको खण्डमा ठेकेदारले काम अलपत्र पार्दै आएका छन् ।


यो खण्डमा पर्ने घर जग्गाको मुआब्जा नदिंदा सार्नुपर्ने घर, विद्युत्का पोल र खानेपानीको पाइपलाइनसमेत अलपत्र छन् । यहाँ भत्काउनुपर्ने १५ वटा घर नसारेकाले पहिलो समस्या आएको निर्माण कम्पनीले दाबी गरेको छ । ‘बजेट दिएर पनि खानेपानीको पाइप नसारेपछि काममा अवरोध भएको हो,’ सिद्धि शाही प्रकाश निर्माण कन्स्ट्रक्सनका साइट इन्जिनियर पुष्प शाहीले भने, ‘आयोजनाले मुआब्जा अझै दिएको छैन, हामीले काम गर्ने समय सकिन लागिसक्यो ।’ खानेपानीको पाइप र बिजुलीका पोल सार्न रकम दिए पनि सरकारी संस्थाले बेवास्ता गरेको उनले बताए ।


यो खण्डमा वागलुङ नगर खानेपानी आयोजनाको पाइपलाइन छ । ठाउँठाउँमा काम छाडेर कालोपत्रे गर्दा दोब्बर खर्च लाग्ने भएकाले सिंगो खण्ड अलपत्र परेको उनले बताए । सदरमुकामदेखि मूलपानी, खहरे, अक्षेते र बिहुँ खण्डमा सडक छेउका रूख र चौतारो भत्काउन नपाएर समेत काम रोकिएको हो । यो खण्डको रात्माटादेखि खहरेसम्म बिच्छाएको खानेपानीको पाइप सार्न कम्पनीले नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई ३३ लाख रुपैयाँ भुक्तानी दिएको थियो ।


आयोजनाले भने काम अपुरो छाडिदिएकाले काम रोकिएको उनले बताए । ‘सरकारी सुपरभाइजरको दैनिक भत्ता ६ सय ४० भएकोमा समितिले २ हजार ५ सय खाएको लगायतको बिल देखाएर रकम सकिएको भन्नुभयो,’ शाहीले भने, ‘डोजर लगाउनैपर्ने केही भागमा पाइप नसार्दा काम रोकियो ।’ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रबन्धक हिमालप्रसाद शर्माले भने भुक्तानी भएको काम गरेको दाबी गरे । ‘हामीले पाएको पैसाको काम सक्यौं, अरू पैसा आउन बाँकी छ,’ शर्माले भने, ‘ठूलो आयोजनाको पाइपलाइन सार्न करोडौं खर्च लाग्छ ।’


सानो रकमले भ्याएजति काम गरेको उनको दाबी छ । आयोजनाले दिएको सबै रकम एकमुष्ट खातामा पठाइदिंदा नगर खानेपानीले काम अलपत्र छाडिदिएको ठेकेदार कम्पनीको आरोप छ । बिहुँ खण्डमा पनि कतिपय उपभोक्ताले खेत पुरिन्छ भन्दै काम गर्न नदिएको आयोजनाका सुपरभाइजर गणेश सुवेदीले बताए । तोकिएको मापदण्डभन्दा कम क्षेत्रमा पनि काम गर्न नदिंदा एक–दुई ठाउँमा एकतर्फी सवारी चलाउनुपरेको गुनासो गरे ।


‘भीर खसाल्दा ठूलो पहिरोको खतरा छ, पर्खाल लगाउन नदिएर हैरान भयौं,’ सुवेदीले भने, ‘वडाअध्यक्षहरूले समेत कम्पनीका इन्जिनियर र जिम्मेवार व्यक्तिलाई तुच्छ व्यवहार देखाए ।’ राष्ट्रिय गौरवको आयोजना भए पनि सरकारी इन्जिनियर र जनप्रतिनिधिले समेत काम ढिला गरिरहेको उनले टिप्पणी गरे । नगर क्षेत्रमा नगरप्रमुख र गाउँपालिका खण्डमा अध्यक्ष र वडा अध्यक्षहरूलाई उनले सहयोगको अपिलसमेत गरेको बताए । कतिपयले धम्की दिने र कुट्न आउने गरेको उनले गुनासोसमेत गरे ।


मुलपानी नजिकैको बोक्से भीरमा आयोजनाका इन्जिनियरले वास्तविक डिजाइन नदिंदा काम रोकिएको शाहीले दाबी गरे । ‘झन्डै दुई सय मिटरदेखि वाल लगाएर बनाउन खोज्दा इन्जिनियरले नै ४०–५० मिटर मात्र काम गर्न भनेका छन्,’ शाहीले भने, ‘दुई वर्षभित्र भत्केको खण्डमा हाम्रो धरौटीसमेत जान्छ भन्दा उनीहरूले डिजाइन पनि देखाउन मान्दैनन् ।’ अनुगमनका लागि आएका अधिकांश इन्जिनियरहरू साइट नहेरी फर्कने गरेको उनले आरोप लगाए ।


यो खण्डमा मुआब्जा वितरण पनि भएको छैन । आयोजनाका इन्जिनियर सरोज ढकालले फाइल अध्ययनकै क्रममा रहेकोले मुआब्जा वितरण थाल्न नसकेको बताए । एक वर्षभित्र काम सक्ने आयोजनाको योजना उनले सुनाए । ठेकेदार कम्पनीले विद्युत्का पोल सार्न पनि साढे ८ लाख रुपैयाँ भुक्तानी दिइसकेको छ । कतिपय स्थानमा अझै पोल सारिएको छैन ।


तीन वर्षअघि ट्र्याक खोल्न ठेक्का लिएको एमके कन्स्ट्रक्सन प्रालिले कैयौं स्थानमा कामै नगरी भुक्तानी लिएको थियो । तत्कालीन इन्जिनियर गोपीनाथ मिश्रको सिफारिसमा कम्पनीले भुक्तानी लिएको हो । अहिले पनि यो खण्डका दर्जन स्थानमा फोड्नुपर्ने पहरा उत्तिकै छन् । असार मसान्तभित्रै कालोपत्रे गर्ने प्रतिबद्धता जनाएका शाही र उनका उपकरणसमेत यो खण्डमा छैनन् । यो खण्डमा अहिले दुई घण्टा लगाएर यात्रा गर्नुपर्छ । हिलाम्मे भएकाले स्थानीयले सास्ती खेपेर यात्रा गर्छन् । पैदल हिंड्न पनि नसकिने, सवारी चढेर पनि जोखिम मोल्नुपरेको बिहुँका विक्रम सापकोटाले बताए ।

प्रकाशित : असार २३, २०७६ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?