मापदण्डविपरीत अग्ला घर

प्रकाश बराल

(बागलुङ) — गलकोट नगरपालिकाले अघिल्लो वर्ष भवन निर्माण संहिता पालना गर्ने र नक्सापासको आफ्नै कार्यविधि बनाईसकेको छ ।

कार्यविधिले साढे ३ तलामात्र घर बनाउन पाउने प्रावधान तोकेको छ । तर नगरभित्र साढे ५ तलासम्मका घर बनेका छन । ५ तलासम्मको घर बनाउनुपर्दा माटो परीक्षण र ‘स्ट्रक्चरल एनलाइसिस’ गरेर बनाउनै पर्ने नियम छ । तर अधिकांश घर ५ देखि ६ तलाका बनिरहेका हुन् ।


गलकोटमा क्षेत्रमा मध्यपहाडी राजमार्गको मापदण्डभित्रै अग्ला घर बनिरहेका छन् । सडकको मापदण्डले तोकिएको दुरीमा मात्र घर बनाउन पाउने नियम छ । लोकमार्गले कम्तिमा ३१ मीटर मापदण्डमा घर बनाउन नपाउने मापदण्ड बनाएको छ । उक्त मापदण्ड धमाधम उल्लंघन भइरहेको हो ।


नगरपालिकाले भने आफ्नो मातहतको सडकमा ८ मिटर र १२ मीटर तोकेको नगरप्रमुख भरत शर्मा गैह्रेले बताए । नगरको मापदण्डलाई कडाइका साथ लागू गरिरहेको गलकोट नगरपालिकाले राजमार्ग छेउमा बनाउनेका लागि भने सम्झाउने काममात्र गरेको उनको भनाइ छ । ‘हामीले दबाब दिन मिलेन, त्यसैले केही भनेका छैनौं’, उनले भने, ‘राजमार्गमा घर बनाएकाले नक्सापास समेत गरेका छैनन् ।’ नक्सापास गर्नका लागि एक/दुईपटक कुरा गरे पनि उनीहरूले समेत वास्ता नगरेको एक प्राविधिकले बताए ।


अघिल्लो वर्ष बनेको कार्यविधि पालना गर्न कडाइ गरे पनि ठूला घर बनाउनेले मापदण्ड मिच्न खोजेको गैह्रेको टिप्पणी छ । ‘पहिलो वर्ष हामी अन्यौलमा थियौं, अहिले नीति बनाएर नक्सापाससहित भित्री र बाहिरी सडकको मापदण्ड बनाएका छौं’, गैह्रेले भने, ‘राजमार्गले तोकेको मापदण्डमा बनाउनेलाई हामीले भत्काउनुपर्दैन, राजमार्गकै नियम आर्कर्षित हुनेछ ।’ ढोरपाटन नगरपालिकाले पनि नक्सापाससहित मापदण्ड लागू गर्न लागेको इन्जिनियर नारायण पौडेलले बताए । अघिल्लो वर्ष नगर प्रमुख देवकुमार नेपालीले भने बुर्तिवाङमा ७ तले घर बनाएका छन् ।


उनले ‘स्ट्रक्चरल एनलाइसिस’ गरेपछि पोखराका प्राविधिकको सहयोगमा घर बनाएको दावी गरे ।

सरकारले जारी गरेको बस्ती विकास मापदण्ड २०७२ अनुसार मापदण्डविपरीत बनेका घर भत्काउनुपरेमा सरकारले मुआब्जा दिन नपर्ने व्यवस्था छ । मापदण्ड पूरा नगरेका भवनलाई नगरपालिकाले अपनत्वसमेत नलिने गलकोट–२ का अध्यक्ष हिमबहादुर भण्डारीले बताए । नगरपालिका घोषणा हुनुअघि बनेका अधिकांस भवनको पनि नक्सा पास भएको छैन ।


गलकोटका सार्वजनिक संस्थाहरूका पनि चार तलासम्मका भवन छन् । पहिले बनेकोले उनीहरूलेपनि नक्सापास नगरेका हुन् । पहिला बनेका घरलाई मापदण्डमा ल्याउने र राजस्व असुली गराउने नगरपालिकाको योजना रहेको प्रशासकीय अधिकृत तुलबहादुर थापाले बताए ।

प्रकाशित : असार १९, २०७६ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्

जोखिमकै घर स्थानान्तरणमा परेन

आश गुरुङ

(लमजुङ) — क्व्होलासोंथर गाउँपालिका–७ भोंजे गाउँ नै जोखिममा पर्ने गरी पहिरो जान थालेको तीन दशक भयो । स्थानीयका अनुसार गाउँ नै स्थानान्तरण गर्नुपर्ने अवस्था छ । गाउँ जोगाइदिन उनीहरू हारगुहार गरिरहेका छन् । गाउँटोल र बस्ती एउटै, सवै आफन्त भएकाले पनि सामाजिक, सांस्कृतिक रूपमा छुटिनलाई सहज मानेका छैनन् । ज्यान जोगाउन उनीहरूले सरकारलाई भनेको २ दशक बितिसकेको छ ।

अहिले भोंजे गाउँका केही घरलाई स्थानान्तरणको प्रक्रियामा लगिएको छ । तर, पहिरोबाट सबैभन्दा बढी प्रभावित नै स्थानान्तरणको सूचीमा छैन ।

मैखु गुरुङको घर पुछारमा छ । पहिरोले उनको घर चर्किएको छ । आँगन भासिएको छ । उनी हरेक बर्ष बर्खायाममा आमा समूहको भवनमा विस्थापित हुन्छिन् । नजिकै सुलबहादुर गुरुङको घर पनि पहिरोको उच्च जोखिममा छ । उनी विस्थापित छन् । वर्षायाम सुरु हुनसाथ काजीमान गुरुङको घरमा बस्छन् । तर, भोंजेबाट स्थानान्तरण गर्ने भनिएको १४ घरमध्ये मैखु र सुलबहादुर लाभग्राही सूचीमा परेनन् । ‘हामीलाई अहिले हुँदैन, नाम छैन भन्छ । बर्खा लाग्यो, बगाउला भन्ने पीर भयो,’ मैखुले भनिन् ।

पुनर्निर्माण प्राधिकरणको अनुदान सहयोगपछि स्थानान्तरण हुनेमा १४ घर परेको वडासचिव तक्मा विकले बताए । उनका अनुसार कुमबहादुर गुरुङले किस्ता रकम बुझेर पोखरामा घर बनाई बसिसकेका छन् । टेकबहादुर गुरुङले गाउँ नजिकै साल्मेमा घर बनाउँदैछन् । उनले पहिलो किस्ता ५० हजार रुपैयाँ लगिसकेका छन् । उनी अहिले बौद्धप्रसाद गुरुङको घरमा बसेका छन् । प्राधिकरणले आफ्नो जग्गा भएमा ३ लाख र जग्गा नभएमा जग्गाको लागि थप २ लाख रुपैयाँ लाभग्राहीलाई दिने विकले बताए । गाउँका कुल ५६ घरमा स्थानान्तरण सिफारिस भएका ३० मध्ये १४ घरको मात्रै प्रमाणित भएको उनले बताए । प्रमाणित नभएकामा सवैभन्दा बढी जोखिमका मैखु र सुलबहादुर गुरुङको घरसमेत परेको उनले बताए । उनका अनुसार स्थानान्तरण सूचीमा परेका एकजनाले बेंसी, ३ लाभग्राहीले रामबजारको पिप्ले र बाँकीले साल्मेमा घर बनाउनेछन् । ‘बर्खा लाग्यो, सबै आफ्नो काममा व्यस्त । यही बेला स्थानान्तरण गर्ने भनिएको छ । सम्झौताको लागि वडा कार्यालय आउनुपर्छ, लाभग्राही आउनु भएकै छैन’ उनले भने । लाभग्राही सूचीमा नपरेका १६ जना प्रक्रियामा रहेको बताए ।

पुनर्निर्माण प्राधिकरणको आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालयका निमित्त प्रमुख जगदिश मिश्रका अनुसार लाभग्राही सूचीमा पार्न पछि २४ घर सिफारिस गरिपठाइएको छ । ‘स्थानीयले सबै लाभग्राही सूचीमा आएपछि घर बनाउने भनेका छन् । सबै पर्नलाई ढिलो हुने भयो’ उनले भने । ‘पहिरोको मुखैमा घर हुनेको समेत परेको छैन । केन्द्रबाट आएको टोलीले सही डाटा नलिँदा अहिले समस्या भएको हो,’ उनले भने ।

भोंजेमा बर्सेनि गइरहने पहिरोले स्थानीय विस्थापित हुन्छन् । कुशबहादुर गुरुङलगायत पोखरामा बसाइँ सरेका छन् । कोही आफन्तको शरण लिन बाध्य छन् । पानी पर्न थालेपछि अहिले पनि विगतकै नियति
दोहोरिएको उनीहरूको भनाइ छ ।

प्रकाशित : असार १९, २०७६ १२:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×