१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

जोखिमकै घर स्थानान्तरणमा परेन

आश गुरुङ

(लमजुङ) — क्व्होलासोंथर गाउँपालिका–७ भोंजे गाउँ नै जोखिममा पर्ने गरी पहिरो जान थालेको तीन दशक भयो । स्थानीयका अनुसार गाउँ नै स्थानान्तरण गर्नुपर्ने अवस्था छ । गाउँ जोगाइदिन उनीहरू हारगुहार गरिरहेका छन् । गाउँटोल र बस्ती एउटै, सवै आफन्त भएकाले पनि सामाजिक, सांस्कृतिक रूपमा छुटिनलाई सहज मानेका छैनन् । ज्यान जोगाउन उनीहरूले सरकारलाई भनेको २ दशक बितिसकेको छ ।

अहिले भोंजे गाउँका केही घरलाई स्थानान्तरणको प्रक्रियामा लगिएको छ । तर, पहिरोबाट सबैभन्दा बढी प्रभावित नै स्थानान्तरणको सूचीमा छैन ।


मैखु गुरुङको घर पुछारमा छ । पहिरोले उनको घर चर्किएको छ । आँगन भासिएको छ । उनी हरेक बर्ष बर्खायाममा आमा समूहको भवनमा विस्थापित हुन्छिन् । नजिकै सुलबहादुर गुरुङको घर पनि पहिरोको उच्च जोखिममा छ । उनी विस्थापित छन् । वर्षायाम सुरु हुनसाथ काजीमान गुरुङको घरमा बस्छन् । तर, भोंजेबाट स्थानान्तरण गर्ने भनिएको १४ घरमध्ये मैखु र सुलबहादुर लाभग्राही सूचीमा परेनन् । ‘हामीलाई अहिले हुँदैन, नाम छैन भन्छ । बर्खा लाग्यो, बगाउला भन्ने पीर भयो,’ मैखुले भनिन् ।


पुनर्निर्माण प्राधिकरणको अनुदान सहयोगपछि स्थानान्तरण हुनेमा १४ घर परेको वडासचिव तक्मा विकले बताए । उनका अनुसार कुमबहादुर गुरुङले किस्ता रकम बुझेर पोखरामा घर बनाई बसिसकेका छन् । टेकबहादुर गुरुङले गाउँ नजिकै साल्मेमा घर बनाउँदैछन् । उनले पहिलो किस्ता ५० हजार रुपैयाँ लगिसकेका छन् । उनी अहिले बौद्धप्रसाद गुरुङको घरमा बसेका छन् । प्राधिकरणले आफ्नो जग्गा भएमा ३ लाख र जग्गा नभएमा जग्गाको लागि थप २ लाख रुपैयाँ लाभग्राहीलाई दिने विकले बताए । गाउँका कुल ५६ घरमा स्थानान्तरण सिफारिस भएका ३० मध्ये १४ घरको मात्रै प्रमाणित भएको उनले बताए । प्रमाणित नभएकामा सवैभन्दा बढी जोखिमका मैखु र सुलबहादुर गुरुङको घरसमेत परेको उनले बताए । उनका अनुसार स्थानान्तरण सूचीमा परेका एकजनाले बेंसी, ३ लाभग्राहीले रामबजारको पिप्ले र बाँकीले साल्मेमा घर बनाउनेछन् । ‘बर्खा लाग्यो, सबै आफ्नो काममा व्यस्त । यही बेला स्थानान्तरण गर्ने भनिएको छ । सम्झौताको लागि वडा कार्यालय आउनुपर्छ, लाभग्राही आउनु भएकै छैन’ उनले भने । लाभग्राही सूचीमा नपरेका १६ जना प्रक्रियामा रहेको बताए ।


पुनर्निर्माण प्राधिकरणको आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालयका निमित्त प्रमुख जगदिश मिश्रका अनुसार लाभग्राही सूचीमा पार्न पछि २४ घर सिफारिस गरिपठाइएको छ । ‘स्थानीयले सबै लाभग्राही सूचीमा आएपछि घर बनाउने भनेका छन् । सबै पर्नलाई ढिलो हुने भयो’ उनले भने । ‘पहिरोको मुखैमा घर हुनेको समेत परेको छैन । केन्द्रबाट आएको टोलीले सही डाटा नलिँदा अहिले समस्या भएको हो,’ उनले भने ।


भोंजेमा बर्सेनि गइरहने पहिरोले स्थानीय विस्थापित हुन्छन् । कुशबहादुर गुरुङलगायत पोखरामा बसाइँ सरेका छन् । कोही आफन्तको शरण लिन बाध्य छन् । पानी पर्न थालेपछि अहिले पनि विगतकै नियति

दोहोरिएको उनीहरूको भनाइ छ ।


प्रकाशित : असार १९, २०७६ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?