कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

विद्यालयमा पोसाक ढाका

अंग्रेजी माध्यमबाट पढाइ हुने स्कुलमा विद्यार्थीलाई मासिक शुल्क अनिवार्य छैन । विद्यार्थीलाई आवश्यक किताब, कापी, कलम साथै पोसाकको समेत व्यवस्था विद्यालयले गरेको छ ।
आश गुरुङ

लमजुङ — छात्रा ढाकाको चोली र फ्रकमा छन् । छात्रले ढाकाकै भोटो र सुरुवाल लगाएका छन् । टाई र बेल्ट प्रयोगमा छैन । बेंसीसहर नगरपालिका ३, गाउँसहरको लमजुङ दरबार नजिकै हेभेन हिल एकेडेमीमा छात्राछात्रको स्कुल पोशाकमा नेपालीपन झल्किन्छ ।

विद्यालयमा पोसाक ढाका

बिहान साढे ९ बजेदेखि खुल्ने स्कुलमा प्रार्थनाअघि विद्यार्थीलाई नेपाली तथा अंग्रेजी र्‍याम प्रस्तुत गरी नाच्न लगाइन्छ । कमजोर विद्यार्थीका लागि ‘हर्स थेरापी’ गरिएको छ । घोडचढीले विद्यार्थीमा आत्मविश्वास बढ्ने र बढाउने विश्वास स्कुलको छ । ‘नेपालीपन झल्काउन हामीले ढाकाको लुगा प्रयोगमा ल्यायौं । विद्यार्थीमा आत्मविश्वास बढाउन हर्स थेरापी गर्दै आएका छौं’ प्रिन्सिपल शम्सेरबहादुर थापाले भने ।


एकेडेमीमा १ सय १० विद्यार्थी छन । अंग्रेजी माध्ययमबाट पढाइ हुने स्कुलमा विद्यार्थीलाई मासिक शुल्क अनिवार्य छैन । विद्यार्थीलाई आवश्यक किताव, कापी, कलम साथै पोसाकको समेत व्यवस्था विद्यालयले गरेको छ । उनका अनुसार हरेक शनिबार विद्यार्थीलाई खाना पकाउन सिकाइन्छ । यसबाट बालबालिकामा सिर्जनात्मक क्षमताको विकास हुने उनले बताए । बालबालिकाले विभिन्न परिकार खान पाउने भएकाले कुपोषणबाट बचाउन र पढाइप्रति रुची बढाउन थप मद्दत मिलेको उनले दावी गरे ।


‘विद्यार्थीलाई पूर्ण बालमैत्री वातावरणमा पढाउने गरिएको छ’ उनले भने । उनले गत डिसेम्बरमा दुबईको एक संस्थाबाट ‘टिचिङ एक्सिलेन्ट अवार्ड–२०१८’ समेत पाएका थिए । यस वर्ष बेलायती संस्था भार्की फाउन्डेशनले एक मिलियन अमेरिकी डलरको ‘ग्लोबल टिचरङ प्राइज’ को उत्कृष्ट ५० मा उनी छानिएका थिए । अन्तिममा उनी विजयी हुन सकेनन् । ‘म नेपालबाट यो पुरस्कारका लागि ५० जनामा पर्ने एक्लो शिक्षक थिएँ । पुरस्कार प्राप्त नभएपनि विश्वभरबाट ५० जनामा छानिनु नै ठूलो कुरा ठानेको छु’ उनले भने । उनका अनुसार उक्त पुरस्कारका लागि विश्वभरका ३० हजार शिक्षकले फर्म भरेका थिए ।


गाउँमा मावि कक्षा पढेपछि कक्षा ११ र १२ पढ्न शम्सेर बेंसीसहर झरे । उच्च शिक्षाका लागि काठमाडौं गए । नगरकोटमा एउटा होटलमा काम गरे । गाउँ फर्केर उनले हेभन हिल होटल खोले । उनको होटलमा विदेशी पर्यटक आउन थाले । उनीहरूको सम्पर्कबाट स्कुल पढाउन भोलेन्टियर विदेशी आउन थाले ।


उनीहरूको सहयोग साथै स्वदेशी तथा विदेशी सहयोगबाट असाहय तथा गरीब परिवारका विद्यार्थी पढाउन थालेको उनले बताए । ‘अहिले खाना, खाजा, ड्रेस, कापीकलम सवै व्यवस्था उहाँहरूले गर्नुहुन्छ’ उनले भने । ‘म ३६ वर्षको भएँ । युवाले गाउँको सेवा गर्नुपर्छ भनेर लागेको छु,’ उनले भने । उनका अनुसार ८ जना शिक्षकको तलब पनि स्वदेशी तथा विदेशी सहयोगबाटै जुट्छ ।

प्रकाशित : असार ११, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?