कन्याद्वारा बाबुको काजकिरिया

प्रताप रानामगर

दमौली — सुरुमा छोरीले काजकिरिया गर्न हुँदैन भन्ने आबाज उठेको थियो । तर यो अन्धविश्वासमात्रै रहेको भन्दै आँबुखैरेनी–२ मार्कीचोकका तीन दिदीबहिनी यतिबेला बाबुको क्रियामा छन । २० वर्षीया चिज मगर र उनकी दुई बहिनी १८ वर्षकी बिनीता र १६ वर्षीया सविना मगर बाबु प्रितमको काजकिरियामा बसेका हुन । तीनैजना छोरीले बाबुको शवमा दागबत्ती पनि दिएका थिए । 

‘सामाजिक कुरीति र अन्धविश्वास अन्त्यका लागि तीन जना दिदीबहिनी बाबुको काजकिरिया गरेका हौं,’ चिजले भनिन्, ‘समाजका केही मान्छेले छोरीले काजकीरिया गर्नु हुँर्दैन भनेका थिए । हामीले त्यसलाई मान्नुपर्छ भन्ने ठानेनौं ।’ अन्तिम संस्कारका लागि बाबुलाई घाटसम्म पुर्‍याएर दागबत्ती दिएको पनि उनले बताइन् ।

बाबाले तिमीहरूनै मेरो छोरा हौ भनेको सम्झेपछि आत्मबल बढेको र अन्धविश्वासविरुद्ध लाग्न प्रेरणा मिलेको उनले बताइन । सुरुमा केहीले कुरा काटे पनि अहिले भने त्यस्तो केही नसुनिएको दिदीबैनीले बताए । काजक्रियामा खासै समस्या नभएको र आफन्त, इष्टमित्र आएर रेखदेख गरिरहेको सविनाले बताइन । छोरीसँगै आमा ४४ वर्षीया मनमाया मगर पनि किरियामा छिन् । छोरीहरूले बाबुको इच्छा अनुसारै क्रिया गरेको उनले बताइन । ‘छोरा नभए पनि के भोर छोरीले छोरा जस्तैसबै कष्ट गरेका छन छोरीले,’ उनले भनिन् ।

छोरीहरूको इच्छा अनुसार नै दाइको काजकिरियामा संलग्न गराइएको काका थमबहादुर मगरले बताए । ‘दाईको पनि इच्छा थियो । छोरीहरूको स्वास्थ्यमा ध्यान दिएका छौं । समाजका मान्छे आलोपालो गरेर रेखदेख गरेका छन,’ उनले भने । तीनै कन्या नानीले बाबुको काजकिरिया गरेर राम्रो उदाहरण दिएको स्थानीय सोलबहादुर चितौरे मगरले बताए ।

गाउँमा अहिलेसम्म छोरीले काजकिरिया गरेका थिएनन । मगर दिदीबैनीले सामाजिक विकृती हटाउन साहस गरेर सकरात्मक सन्देश दिएको उनको भनाइ थियो । घरको आर्थिक अवस्था दयनीय छ । तीनै जना नानीहरू पर्ढ्दै छन् । तीन जनाको पढाइ खर्च नै चुनौती छ । सहयोगी मनलाई पढाइ खर्चका लागि सहयोग गरिदिन उनले आग्रह गरे ।

ठूली छोरी चिज आबुखैरेनी क्याम्पसमा शिक्षा शास्त्रको स्नातक दोस्रो वर्षमा अध्ययनरत छिन् । विनिता रामशाहमा कक्षा १२ मा र कान्छीछोरी सविना एक्टिभ स्कुलबाट एसईई दिएर बसेकी छिन् । बाबुको असार १ गते निधन भएको थियो ।

प्रकाशित : असार ११, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मगर भाषामा कक्षा

विना थापा

कास्की — मगर बाहुल्य बस्ती । विद्यालयका सबै विद्यार्थी मगर समुदायकै । त्यसैले माछापुच्छ्रे गाउँपालिका–५ रिभान मोहरास्थित माछापुच्छ्रे आधारभूत विद्यालयमा मगर भाषामा पढाइ थालिएको छ । कास्कीमा यसरी मगर भाषामा पढाइ भएको यो पहिलो हो । 

विद्यालयले गत सातादेखि मगर संघले निर्धारण गरेको पाठ्यपुस्तक पढाउन थालेको हो । विद्यालयमा मगरको बाहुल्यता भएकाले विद्यालयलाई छनौट गरिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले बताए ।

‘भाषा लोप हुन थालेकाले मगरहरूको मातृभाषामा कक्षा सञ्चालन गरिएको हो’, उनले भने ‘यसले जातीय पहिचानमा ठूलो टेवा मिल्छ ।’ भाषा नभए संस्कार र संस्कृति पनि लोप हुने भएकाले संरक्षण र उत्थान आवस्यक भएको उनले बताए । यो अभियानमा गाउँपालिकाले निरन्तर सहयोग गर्ने र विद्यालय र अभिभावकले पनि आवस्यक सहयोग गर्नुपर्ने उनले बताए । भाषा पढाइको गण्डकी प्रदेशका सांसद रामजी बरालले केही दिनअघि शुभारम्भ गरेका थिए ।

भाषा लोप हुँदै जानु राज्यको कमजोरी भएको भन्दै बरालले सबै भाषाको जगेर्ना गर्नुपर्नेमा जोड दिए । साथै मगर भाषाको शिक्षक उत्पादनमा पनि यसले सघाउ पुर्‍याउने बताए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष विश्वबहादुर रानाले विद्यालयमा मात्र नभई अन्य क्षेत्रबाट पनि सहयोग भएमा भाषा संरक्षण हुने बताए । ‘विद्यालयस्तरमा भाषाको पढाउन पाउँदा खुसी लागेको छ,’ उनले भने, ‘गाउँपालिकाले मात्र नभई राज्यले नै सबै जातिको मातृभाषामा पढ्न पाउने अधिकारको सुनिश्चित गर्नुपर्छ ।’ विद्यालयमा कक्षा ५ सम्मको पढाइ हुन्छ । ती कक्षामा २७ विद्यार्थी रहेकोमा १ जना गुरुङ र बाँकी सबै मगर समुदायका छन् ।

प्रधानाध्यापक जीवनाथ अधिकारीले मगर बाहुल्य भएकै कारण स्कुलको पहलमा पढाइ थालिएको बताए । उनी आफै पनि मगर भाषा बोल्छन् । एउटा शिक्षकै राखेर सबै कक्षामा दैनिक एक पिरियड मगर भाषाको पढाइ गरिने उनले बताए । ‘मातृभाषामा पढ्न पाउने संवैधानिक अधिकारलाई हामीले व्यवहारमा उतारेका हाैं,’ उनले भने ।
तीन कक्षाकी अनीता रानाले आफ्नो मातृभाषाबारे केही थाहा नभएको बताइन् । अब स्कुलमै पढ्न पाउने भन्दै उनी दंग थिइन् । ‘आफ्नै भाषा भएमा संस्कार सिक्न सजिलो हुन्छ भन्दा रहेछन्,’ उनले भनिन, ‘यस्तो अवसर हामीले पाउने भयौ ।’ ९० वर्षीया वीरमति बुढाले आफुहरूले पनि भाषा नबोलेको बताइन् । ‘हाम्रा बाबुबाजेले बोल्न छाडेपछि हामीले पनि सिक्ने कुरा भएन । त्यसैले भाषा लोप हुन थालेको थियो । अरू बोलेको सुन्दा बोल्न पाए हुन्थ्यो भन्ने रहर लाग्थ्यो,’ उनले भनिन्, ‘नातिपनातिनाले ढिलै भए पनि सिक्न पाए । यसैमा सन्तोष लागेको छ ।’

यसैगरी गाउँपालिकाकै खैवराङमा ९० प्रतिशत तामाङ बस्ती भएकाले त्यहाँको स्कुलमा पनि तामाङ भाषाको पढाइ हुने गापा अध्यक्ष कर्णबहादुर गुरुङले बताए ।

प्रकाशित : असार ११, २०७६ ०९:५०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×