मगर भाषामा कक्षा

विना थापा

कास्की — मगर बाहुल्य बस्ती । विद्यालयका सबै विद्यार्थी मगर समुदायकै । त्यसैले माछापुच्छ्रे गाउँपालिका–५ रिभान मोहरास्थित माछापुच्छ्रे आधारभूत विद्यालयमा मगर भाषामा पढाइ थालिएको छ । कास्कीमा यसरी मगर भाषामा पढाइ भएको यो पहिलो हो । 

विद्यालयले गत सातादेखि मगर संघले निर्धारण गरेको पाठ्यपुस्तक पढाउन थालेको हो । विद्यालयमा मगरको बाहुल्यता भएकाले विद्यालयलाई छनौट गरिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले बताए ।


‘भाषा लोप हुन थालेकाले मगरहरूको मातृभाषामा कक्षा सञ्चालन गरिएको हो’, उनले भने ‘यसले जातीय पहिचानमा ठूलो टेवा मिल्छ ।’ भाषा नभए संस्कार र संस्कृति पनि लोप हुने भएकाले संरक्षण र उत्थान आवस्यक भएको उनले बताए । यो अभियानमा गाउँपालिकाले निरन्तर सहयोग गर्ने र विद्यालय र अभिभावकले पनि आवस्यक सहयोग गर्नुपर्ने उनले बताए । भाषा पढाइको गण्डकी प्रदेशका सांसद रामजी बरालले केही दिनअघि शुभारम्भ गरेका थिए ।


भाषा लोप हुँदै जानु राज्यको कमजोरी भएको भन्दै बरालले सबै भाषाको जगेर्ना गर्नुपर्नेमा जोड दिए । साथै मगर भाषाको शिक्षक उत्पादनमा पनि यसले सघाउ पुर्‍याउने बताए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष विश्वबहादुर रानाले विद्यालयमा मात्र नभई अन्य क्षेत्रबाट पनि सहयोग भएमा भाषा संरक्षण हुने बताए । ‘विद्यालयस्तरमा भाषाको पढाउन पाउँदा खुसी लागेको छ,’ उनले भने, ‘गाउँपालिकाले मात्र नभई राज्यले नै सबै जातिको मातृभाषामा पढ्न पाउने अधिकारको सुनिश्चित गर्नुपर्छ ।’ विद्यालयमा कक्षा ५ सम्मको पढाइ हुन्छ । ती कक्षामा २७ विद्यार्थी रहेकोमा १ जना गुरुङ र बाँकी सबै मगर समुदायका छन् ।


प्रधानाध्यापक जीवनाथ अधिकारीले मगर बाहुल्य भएकै कारण स्कुलको पहलमा पढाइ थालिएको बताए । उनी आफै पनि मगर भाषा बोल्छन् । एउटा शिक्षकै राखेर सबै कक्षामा दैनिक एक पिरियड मगर भाषाको पढाइ गरिने उनले बताए । ‘मातृभाषामा पढ्न पाउने संवैधानिक अधिकारलाई हामीले व्यवहारमा उतारेका हाैं,’ उनले भने ।

तीन कक्षाकी अनीता रानाले आफ्नो मातृभाषाबारे केही थाहा नभएको बताइन् । अब स्कुलमै पढ्न पाउने भन्दै उनी दंग थिइन् । ‘आफ्नै भाषा भएमा संस्कार सिक्न सजिलो हुन्छ भन्दा रहेछन्,’ उनले भनिन, ‘यस्तो अवसर हामीले पाउने भयौ ।’ ९० वर्षीया वीरमति बुढाले आफुहरूले पनि भाषा नबोलेको बताइन् । ‘हाम्रा बाबुबाजेले बोल्न छाडेपछि हामीले पनि सिक्ने कुरा भएन । त्यसैले भाषा लोप हुन थालेको थियो । अरू बोलेको सुन्दा बोल्न पाए हुन्थ्यो भन्ने रहर लाग्थ्यो,’ उनले भनिन्, ‘नातिपनातिनाले ढिलै भए पनि सिक्न पाए । यसैमा सन्तोष लागेको छ ।’


यसैगरी गाउँपालिकाकै खैवराङमा ९० प्रतिशत तामाङ बस्ती भएकाले त्यहाँको स्कुलमा पनि तामाङ भाषाको पढाइ हुने गापा अध्यक्ष कर्णबहादुर गुरुङले बताए ।

प्रकाशित : असार ११, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?