१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

गर्भपतन गराउने बढे

प्रतीक्षा काफ्ले

स्याङ्जा — गर्भपतन गरेको तीन महिनापछि एक १८ वर्षीया युवती फेरि गर्भपतनका लागि जिल्ला अस्पताल आइन् । चिकित्सकका अनुसार गर्भपतन गरेको ५ महिनासम्म अर्को गर्भ बोक्न हुँदैन । जिल्लामा भने ३ महिनाभित्रै गर्भपतन गराउन आउनेको संख्या बढ्दो छ । 

गर्भपतन गराउने विवाहित महिलामात्र नभई अविवाहित महिलाको संख्या पनि अधिक छ । चिकित्सकले परिवार नियोजनको स्थायी र अस्थायी साधन प्रयोग गर्न अनुरोध गरे पनि कार्यान्वयन भने हुन सकेको छैन । जिल्ला अस्पतालका स्त्रीरोग विशेषज्ञ शंकर राउतले अस्थायी नियोजन गर्न भने पनि कसैले नटेर्ने बताए । ‘अविवाहित महिलाका लागि पनि हामीले ३ र ६ महिने परिवार नियोजन गर्न अनुरोध गर्छौं,’ उनले भने, ‘तर प्रयोग गर्न मान्दैनन् ।’


उनले गर्भपतनपछि नियोजन गराउन खोज्दा अधिकांश महिला मान्दैनन् । अस्पतालका अनुसार चालु वर्षमा परिवार नियोजन गर्नेको संख्या ५ सय ३ पुगेको छ । जिल्ला अस्पतालका प्रमुख डा.अमृत पोखरेलले पनि परिवार नियोजन गर्नेतर्फ विकर्षणको संख्या बढ्दै गएको अनुभव सुनाए ।


सरकारले निःशुल्क रूपमा उपलब्ध गराउने परिवार नियोजनका अस्थायी साधन कण्डम, इन्प्लान्टजस्ता साधन पनि कम संख्यामा मात्र प्रयोग हुने चिकित्सकको भनाइ छ । स्वास्थ्य कार्यालयका अनुसार चालु वर्षमा अस्थायी र स्थायी परिवार नियोजन गर्नेको संख्या ९ सय २७ छ । जसमध्ये कण्डम मात्र प्रयोग गर्नेको संख्या दुई सय २६ छ ।


यसैगरी १ सय ३३ ले इन्प्लान्ट, १ सय ७१ जनाले इन्जेक्टेबल प्रयोग गरेका छन् । १ सय २२ जनाले कुन साधन प्रयोग गरेका छन् भन्ने खुल्न नसकेको स्वास्थ्य कार्यालय प्रमुख यामप्रसाद शर्माले बताए । आइपास नेपाल नामक संस्थाकी जिल्ला सल्लाहकार थमकुमारी कुँवरले परिवार नियोजनलाई लापरबाही गर्दा कैयौं महिला मृत्युको मुखमा पुग्न बाध्य भएको बताइन् । ‘हामीले धेरै अध्ययन गरेका छौं,’ उनले भनिन्, ‘११/१२, ब्याचलर लेभलका नानीहरू यसको सिकार बनेका छन् ।

पटक/पटक गर्भपतन गराउँदा महिलालाई ठूलो असर पुग्ने बताउने उनले पनि गर्भपतनपश्चात परिवार नियोजन गराउन हिच्किचाउने गरेको बताइन् । वैदेशिक रोजगारीमा श्रीमान् भएका महिलासमेत गर्भपतन गराउन आउनेको संख्या बढदै गएकाले यसलाई रोकथाम गर्नका लागि छुट्टै अभियान सञ्चालन गर्नुपर्ने डा.पोखरेल बताउँछन् ।

प्रकाशित : असार १०, २०७६ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?