१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

ल्यान्डफिल नहुँदा सेतीमा फोहोर

प्रताप रानामगर

दमौली — तनहुँको भिमाद नगरपालिकामा ल्यान्डफिल साइट नहुँदा बजारको फोहोर सेती नदीमा फाल्ने गरिएको छ । अव्यवस्थित रुपमा फालिने फोहोरका कारण नजिकको बस्तीमा दुर्गन्ध फैलिएको छ भने नदी पनि प्रदूषित हुने गरेको छ । 

ल्यान्डफिल नहुँदा सेतीमा फोहोर

भिमाद–६ साँढेहुलस्थित नदी किनारमा फोहोर फालिँदा नजिकैको जनज्योति क्याम्पस र म्याग्दे–५ छाङपाटन बस्तीमा दुर्गन्ध फैलिएको हो । दुर्गन्धले गाउँमा बसिनसक्नु भएको स्थानीय मीरा थापाले बताइन् । ‘फोहोरको दुर्गन्धले बसी खप्नु छैन,’ उनले भनिन्, ‘घरमा बस्दा पनि नाक थुन्नुपर्छ ।’ पशुजन्य हाडखोर र सडेको छाला र फोहोरमा आगो लगाउँदा गन्धले सास र्फेर्न गाह्रो हुने उनले बताइन् ।


फोहोर नफाल्न भिमाद नगरपालिकालाई पटकपटक अनुरोध गरे पनि सुनुवाइ नभएको स्थनीयले बताएका छन् । फोहोरको दुगर्न्धले गाउँका २ सय घर परिवारलाई असर पारेको छ । म्याग्दे–५ का वडाध्यक्ष शिवबहादुर आलेले फोहोरको दुर्गन्धले छाङपाटनमा असर परेको बताए । ‘फोहोरले पारेको असर र जनताको गुनासो भिमादलाई पत्राचार गरी जानकारी गराएका छौं,’ उनले भने, ‘तर, सुनुवाइ भएन ।’


गाउँपालिकाले पनि पत्राचार गर्दै फोहोर व्यवस्थापन गर्न भनेको उनले बताए । फोहोरको दुर्गन्ध जनज्योति क्याम्पसमा परिसरसम्म आएको क्याम्पस प्रमुख केशवराज काफ्लेले बताए । फोहोरमैलाको व्यवस्थापन गर्न सकिएन भने पठनपाठनमा समस्या देखिने उनको भनाइ छ ।


भिमादको प्रमुख समस्या ल्यान्डफिल साइड रहेको नगरप्रमुख मेखबहादुर थापाले बताए । ‘यो दीर्घकालीन समस्याको रूपमा छ,’ उनले भने, ‘ल्यान्डफिलका लागि जग्गाको खोजी भइरहेको छ । तर टुंगो लागेको छैन ।’ वडा ६ र ७ बाटै स्थायी ल्यान्डफिल साइडको खोजी भइरहेको उनले बताए ।


रातढुंगा क्षेत्रमा ल्याण्डफिलका लागि अध्ययन भइरहेको उनको भनाइ छ । बजारबाट निस्केका फोहोरलाई व्यवस्थित गर्नका लागि फोहोरको वर्गीकरण गर्नुको विकल्प नभएकाले कुहिने र नकुहिने वर्गीकरण गरेर व्यवस्थापन गर्ने तयारी भइरहेको उनले बताए ।


तनहुँ उद्योग वाणिज्य संघ भिमाद बजार एकाइले नगरपालिकाको सहयोग र समन्वयमा ५ वर्षदेखि फोहोरमैला व्यवस्थापन गर्दै आएको छ । संघका सचिव दयानिधि पौडेलले बजारलाई सफा र स्वच्छ बनाउन फोहोरमैला संकलन गरेर व्यवस्थापन गरेको बताए । भिमाद बजारबाट सातामा १२ देखि १४ ट्याक्टर फोहोर संकलन हुन्छ । बजारका एक हजार ५ सय १० घरधुरीबाट रकम उठाएर फोहोर संकलन गरिन्छ ।

प्रकाशित : असार १०, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?