कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

प्रदेश बजेटमा सत्तापक्षकै असन्तुष्टि

लमजुङ — मर्स्याङदी गाउँपालिका ३ का अध्यक्ष प्रेम बस्नेतले गाउँपालिकामा प्रदेश सरकारले बजेट नपारेको भन्दै असन्तुष्ट व्यक्त गरे ।
उनले आफ्नो फेसबुक स्टाटसमा व्यंग्य गर्दै लेखेका छन्, ‘लमजुङबाट प्रदेश र संघमा प्रतिनिधित्व गर्नुहुने माननीयज्यूहरूबाट सही उत्तर आएमा सरदार वीरभक्ति स्वर्ण पदबाट विभूषित गरिनेछ ।’

लमजुङको मनाङसँग जोडिएको एक मात्र गाउाँपालिकाको नाम भन्नुहोस् ? जिल्लाबाट संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदलाई उनले सोधेको र फरक–फरक उत्तर आएको भन्दै उनले नेताले दिएको उत्तरसमेत लेखेका छन् ।


आफ्नै निर्वाचन क्षेत्रको मर्स्याङदी गाउँपालिकामा बजेटबारे जानकारी लिन खोज्दा प्रदेश सांसद धनन्जय दवाडीले थाहा छैन भन्ने जवाफ दिएको उनले लेखेका छन् । गण्डकी प्रदेश नेकपा संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले राइनास क्षेत्रमा बजेट पारेको, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पास गरेको, राष्ट्रिय सभा सदस्य दीपा गुरुङले क्व्होलासोंथर, प्रदेश सांसद मधु अधिकारीले दोर्दी गाउँपालिका, लमजुङबाट निर्वाचित संघीय सांसद एवं नेकपा प्रमुख सचेतक देव गुरुङले समय सकियो भन्ने जवाफ दिएको उनले फेसबुकमा लेखेका छन् ।


उनको स्टाटस धेरैले कपी गरेर शेयर गरेका छन् । कमेन्टमा मर्स्याङदी गाउँपालिका ७ का अध्यक्ष युवक घलेले मर्स्याङदी भन्ने पनि एउटा स्थानीय तह छ र यो स्थानीय तहबाट यहाँहरुलाई राम्रै भोट आएको छ भनेर सुनाइदिन आग्रह गरेका छन् । मर्स्याङदी गाउँपालिकामा बजेट नपारिएको भन्दै सामाजिक सञ्जालमार्फत विरोध गर्नेहरु जनप्रतिनिधि साथै नेकपाका नेता कार्यकर्ता छन् । नेकपा मर्स्याङदी गाउँपालिकाले पार्टीका नेता तथा जनप्रतिनिधिलाई बोलाएर बैठक नै डाकी गाउँपालिकामा प्रदेश सरकारले बजेट नपारेको भन्दै माइन्युटमै असन्तुष्टि व्यक्त गरेका छन् ।


नेकपा मर्स्याङदी गाउँ कमिटी अध्यक्ष धनसिंह तामाङले शनिबार बैठक बसेर प्रदेश सरकारले मर्स्याङदी गाउँपालिकामा बजेट नपारेको भन्दै असन्तुष्टि व्यक्त गरेको बताए । ‘बजेट नै नपारेको त होइन । तर, थोरै बजेट पार्‍यो । केही बजेट सिँचाइ र खानेपानीमात्रै छन् । पूर्वाधार विकासमा छैन’ उनले भने, ‘हामीले जिताएर पठाएका सांसदले समेत हामीलाई नहेरेपछि असन्तुष्टि जनाउन बाध्य भयौं ।’


बैठकमा पूर्व सांसद एवं नेकपा गण्डकी प्रदेश सदस्य जमीन्द्रमान घले, प्रदेश सदस्य बमबहादुर थापा, गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष होमबहादुर विक, मर्स्याङदी १ का अध्यक्ष रुद्रमान गुरुङ, २ का अध्यक्ष चेतबहादुर गुरुङ, ३ का अध्यक्ष प्रेम बस्नेत, ४ का अध्यक्ष सुमन गुरुङ, ८ का अध्यक्ष हिरादेवी घले लगायत समेतले बैठकमा सहभागि भएर असुन्तष्टि व्यक्त गरेका थिए । प्रदेश सांसद धनञ्जय दवाडीले मर्स्याङदी गाउँपालिकामा सडकबाहेकका योजना परेको दावी गरे । ‘सिँचाइ, खानेपानी, झोलुंगे पुल परेको छ । मैले सडकको योजना मागेकै हुँ ।’

प्रकाशित : असार १०, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?