कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भानुभक्तीय टोपी अनिवार्य

तनहुँको भानु नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीका लागि भानुभक्तीय (बिर्के) टोपी लगाउन अनिवार्य गरिएको छ 
प्रताप रानामगर

दमौली — घुमाउने कालो टोपी । टोपीको बीचमा डल्लो । जसलाई बिर्के टोपी भनिन्छ । यही टोपी आदिकवि भानुभक्त आचार्यले लगाउँथे । त्यसलाई अहिले भानुभक्तीय टोपी भन्ने गरिन्छ । उतिबेलाको चलनै बिर्के टोपी लगाउने थियो ।

पछिल्ला वर्ष भने हरायो । भानुभक्तको जन्मस्थलमै बिर्के हराउन थालेपछि भानु नगरपालिकाले नयाँ नियम ल्याएको छ, ‘जनप्रतिनिधि र कर्मचारीले अनिवार्यरूपमा बिर्के लगाउनुपर्नेछ ।’


जन्मस्थल भएकाले उनको सम्मानमा नगरपालिकाको नाम भानु राखिएको छ । भानुको सम्मानस्वरूप जनप्रतिनिधि र कर्मचारीले अनिवार्य भानुभक्तीय टोपी लगाउने निर्णय गरिएको नगरप्रमुख उदयराज गौलीले बताए । उनका अनुसार यो नियम असार १ गतेबाट सुरु भइसकेको छ ।


‘कार्यालय समयमा जनप्रतिनिधि र कर्मचारीले अनिवार्य बिर्के लगाउने निर्णय गरेका हौं,’ उनले भने, ‘आदिकविको सम्मान र सम्झनास्वरूप नगरको नाम भानु राखेजस्तै टोपीबाट पनि गर्न खोजेका हौं ।’ पोसाक भत्ताको रकमबाट टोपी किन्ने उनले बताए । कार्यालय र नगरपालिकाका औपचारिक कार्यक्रममा पनि अनिवार्य रूपमा त्यो टोपी लगाउनुपर्ने नियम राखिएको छ । टोपीले भानुभक्तको प्रचारमा पनि सहयोग पुग्ने विश्वास नगरपालिकाको छ ।


भानुमा ७२ जनप्रतिनिधि र ७५ कर्मचारी रहेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डेले बताए । त्यसमा २७ जनप्रतिनिधि र १७ कर्मचारी महिला छन् । उनीहरूका लागि टोपी अनिवार्य छैन । ‘बिर्खे टोपीका कारण नगरपालिकालाई कुनै पनि आर्थिक भार पर्दैन,’ उनले भने । भानुभक्तीय टोपी बजारमा ३ सय रुपैयाँमा किन्न पाइन्छ । अब नगरभित्रै टोपी उत्पादन गर्ने तयारीसमेत गरिएको छ । ‘टोपी बनाउने तालिमको तयारी भइरहेको छ,’ पाण्डेले भने, ‘उद्योगै सञ्चालनमा ल्याउने योजना छ ।’


भानुभक्तका पनाति श्रीभद्र आचार्यले नगरपालिकाको यस्तो निर्णयले आफूखुसी भएको बताए । ‘यो अभियानले भानुभक्तको थप पहिचान हुने भयो,’ उनले भने ।


स्थानीय क्षेत्रमा टोपी उत्पादन हुने अवस्थापछि सामुदायिक विद्यालयमा पनि अनिवार्य गर्ने योजनामा नगरपालिका छ । भानुको जन्मस्थलमा आएका पाहुनालाई भानुभक्तीय टोपीलाई मायाको चिनोका रूपमा दिने तयारी पनि नगरको छ । टोपी उद्योगबाट रोजगारी सिर्जना गर्ने योजना पनि रहेको नगरप्रुमख गौलीले बताए ।

प्रकाशित : असार ९, २०७६ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्

सिद्धार्थ राजमार्ग मर्मत भएन

माधव अर्याल

दोभान, पाल्पा — सिद्धार्थ राजमार्गअन्तर्गत झुम्सा–चिडियाखोला सडक खण्ड जीर्ण भएको छ । उक्त ८ किलोमिटर क्षेत्र ६ वर्षदेखि मर्मत गरिएको छैन । आर्थिक वर्ष ०६९/७० मा मर्मतका लागि ठेक्का लगाइए पनि अहिलेसम्म काम भएको छैन ।

रणनीतिक सडक पुनःस्थापना तथा सुधार शीर्षक अन्तर्गत ५ करोड ४५ लाख रुपैयाँमा मर्मतका लागि ठेक्का लगाइएको थियो । सडक डिभिजन कार्यालयका अनुसार कान्छाराम/जयबाबा गोरख जेभी निर्माण कम्पनीले ठेक्का सकारेको हो ।

अहिले झुम्सा–चिडियाखोला खण्ड कच्ची सडकजस्तै भएको छ । सडकमा ठूला खाल्डा परेका छन् । हिउँदमा धूलोले ढाकिन्छ । वर्षा लागेपछि हिलोले हैरानी खेप्नुपर्ने बाध्यता रहेको यात्रु सुनिल कार्कीले बताए । ‘झुम्साबाट बुटवलसम्म वर्षायाममा हिलो र हिउँदमा धूलोको सास्ती खेप्नु पर्छ,’ उनले भने, ‘शरीर पूरै हिलो र धूलोले ढाकिन्छ । साना सवारी साधनलाई निकै सास्ती छ ।’ निर्माण व्यवसायी र सडक डिभिजनको लापरबाहीले काम हुन नसकेको हो ।

सडक डिभिजनले ठेकेदारलाई काम लगाउन सकेको छैन । पहिलाको ठेकेदारले काम गरेको छैन । त्यसपछि थप मर्मतका लागि ठेक्का नहुँदा यस क्षेत्रमा पुनः कालोपत्रे भएको छैन । उक्त कम्पनीले आर्थिक वर्ष ०६९/७० मा डेढ वर्षमा काम सक्ने गरी मर्मतको ठेक्का लिएको थियो । अहिलेसम्म काम पूरा हुन नसक्दा त्यसपछि पुनः कालोपत्रेको कामको ठेक्का निकाल्न नसकेको सडक डिभिजनले जनाएको छ ।

‘दुई वर्षयता भुक्तानीका लागि नआए पनि अहिले ठेकेदार कम्पनीले म्याद थपका लागि निवेदन दिएको छ,’ सडक डिभिजनका सूचना अधिकारी सौजन्य नेपालले भने, ‘दुई वर्षयता ठेकेदार कार्यालयको सम्पर्कमा आएन ।’ काम गरेर बिलिङ गर्दा उसको भुक्तानीमा १० प्रतिशत हर्जाना लाग्छ । सार्वजनिक खरिद नियमावली सातौं संशोधनअनुसार कारबाही गर्न सहज हुने उनले बताए ।

राजमार्ग मर्मत नहुँदा यात्रु, स्थानीय बासिन्दा सबैले सास्ती खेप्नु परेको छ । दुर्घटनाको जोखिम उत्तिकै छ । हिउँदमा धूलो र वर्षायाममा हिलोले सडक वरपरका बस्तीमा समेत हैरानी खेप्नुपरेको तिनाउ–३, दोभानका विष्णुप्रसाद पाण्डेयले बताए ।

यसै खण्डमा ठूलो पहिरोले सताउने अर्को समस्या छ । तिनाउ–३, झुम्साका वडाध्यक्ष प्रेम पाण्डेका अनुसार सडकको धूलोधूवाँले बालबालिका, वृद्धवृद्धा बिरामी हुने गरेका छन् । ‘कतिपयलाई क्यान्सरको जोखिमसमेत बढेको छ,’ उनले भने, ‘यस विषयमा पटकपटक सडक डिभिजनलाई भनिसक्दा कुनै सुनुवाइ भएको छैन ।’

६ वर्षदेखिको अलपत्र
निर्माण व्यवसायीले ६ वर्षअघि राजमार्गको वृन्दावन, डुम्रे, केराबारी, झुम्सा, दोभान, सिद्धबाबा क्षेत्रमा सडक खनेर छाडेको थियो । ठेक्का सकारेको कम्पनीले काम नगरेपछि नयाँ कम्पनीबाट काम गराइसकेको सडक डिभिजनका सूचना अधिकारी नेपालले बताए ।

डिभिजनका अनुसार नियमित मर्मतका लागि आउने बजेटबाट मिलाएर ठेकेदारले खनेर अलपत्र छाडेको सडकमा कालोपत्रे गर्नु परेको थियो । मोड सुधार, कालोपत्रे, नालीको काम अझै बाँकी छ ।

डुम्रे, केराबारी, चर्चरे, झुम्सा क्षेत्रमा सुरक्षित पर्खाल लगाउने, मोड सुधार गर्नेलगायत काम भएको छैन । बर्तुङदेखि चिडियाखोलासम्मको मोड, घुम्ती सुधार, बिग्रेका स्थानमा कालोपत्रे, रेनफोर्समेन्ट सिमेन्ट कंक्रिट (आरसीसी) गर्नुपर्ने काम रहेको छ । ६ वर्षमा ३ करोड ३० लाख भुक्तानी लिएको छ ।

दुई वर्षयता भने काम गरे पनि भुक्तानी लिएको छैन । ‘निर्माण कम्पनीले काममा ढिला गरेको छ,’ सडक डिभिजनका लेखा अधिकृत सूर्यप्रसाद भुसालले भने, ‘दुई वर्षयता भुक्तानी लिनसमेत आएको छैन ।’ निर्माण कम्पनीको म्यादसमेत थप भएको छैन । सडक डिभिजनले ठेक्का तोड्नसमेत सकेको छैन । उसले १४ हजार ८ सय ५० घनमिटर मोड काट्ने, १ सय ४६ घनमिटर कालोपत्रे गर्नेलगायत काम अझै गरेको छैन ।

उसले गरेका कामसमेत भत्किसकेको छ । ढलान गरे पनि त्यो भत्केको छ । एउटा मोड काटे पनि कालोपत्रे गरेको छैन । अन्य काम पनि अझै बाँकी छ । सिद्धार्थ राजमार्ग भएर दैनिक ६ हजार बढी सानाठूला सवारी साधन सञ्चालन हुन्छन् । माथिल्लो भागमा चट्टानी पहाड छ । सोही पहाडबाट ढुंगा खस्छ ।

मस्याम, कचल र दोभानका विभिन्न स्थानमा संचालित खानी उद्योगमा चल्ने टिपरको चाप छ । राजमार्गमा गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङ्जा, पर्वत, कास्की, म्याग्दी, बाग्लुङ, मुस्ताङसम्मका सवारी साधन चल्छन् ।

प्रकाशित : असार ९, २०७६ १०:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×