१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

ठडिँदै विद्यालय

गोरखा/बागलुङ — भूकम्पले क्षतिग्रस्तमध्ये गोरखाका २ सय ९० विद्यालयको निर्माण सकिएको छ । ५ सय १३ विद्यालय क्षतीग्रस्त बनेकोमा २ सय ११ निर्माणाधीन रहेको भूकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का प्रमुख विष्णुप्रसाद मिश्रले बताए ।

ठडिँदै विद्यालय

अरु १२ विद्यालयको पनि स्रोत सुनिश्चित भएर निर्माण तयारीमा छन् । साढे २ सय आधारभूत र ४० माविको भवन निर्माण सम्पन्न भएको हो । ‘आयोजनाकै समय अझ २० महिना छ, आर्थिक वर्ष ०७७/७८ सम्ममा सबै विद्यालय पुनर्निर्माण सक्ने लक्ष्य राखेका छौँ,’ उनले भने ।


जिल्लाका केही विद्यालय सरकारी तवरबाट निर्माण भएका छन् भने केही दातृ निकाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाले निर्माण गरिरहेका छन् । जाइकाले ६१, भारतीय दूतावासले १० विद्यालयको जिम्मा लिएका छन् । जाइकाले ६१ मध्ये २१ वटा निर्माण सम्पन्न भएर हस्तान्तरण भइसकेको एकाइका प्राविधिक सुरज श्रेष्ठले बताए ।


२२ विद्यालय भवन निर्माणको अन्तिम चरणमा छन् भने १८ विद्यालयको काम आधा सकिएको छ । दूतावासले जिम्मा लिएको मध्ये ३ भवनको निर्माण सुरु भएको छ । ‘अरू सर्भेको चरणमा छन्,’ उनले भने । केही विद्यालय एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण हुँदै छन् । केही विद्यालय निर्माणको माग भइरहेको उनले बताए । ‘अस्थायी संरचना बनेका ठाउँमा समस्या भएका गुनासा आइरहेका छन्, त्यसलाई पक्की भवनले रिप्लेस गर्न केहीको माग छ,’ उनले भने ।


निर्माणाधीन र बन्न बाँकी विद्यालयका विद्यार्थी अस्थायी सिकाइ केन्द्रमा अध्ययन गर्दै आएका छन् । अस्थायी संरचनाका कारण विद्यार्थी र शिक्षकलाई समस्या परेको छ । सिरानचोकको संसारी महेन्द्र माविका प्रधानाध्यापक भोजराज कोइरालाले भौगोलिक अवस्था सुहाउँदो कक्षाकोठा निर्माण नहुँदा फाइबर तातेरै बस्न सक्ने अवस्था नरहेको बताए ।


यस्तै बागलुङमा पनि पुनर्निर्माण प्राधिकरणको जिल्ला कार्यान्वयन एकाइमार्फत ४० विद्यालय बनिरहेका छन । भवन निर्माण अन्तिम चरणमा पुगेको एकाइ प्रमुख रेणुकुमारी पाण्डेले बताइन् । बिहुँको खोलातीर प्राविले अन्तिम मूल्यांकन गरिसकेको छ । अन्यले असार मसान्तमा काम सकेर अन्तिम किस्ता भुक्तानी लैजाने पाण्डेले बताइन् । आगामी वर्षका लागि थप ३८ विद्यालय बनाउने योजना उनले सुनाइन् । भूकम्पले क्षति पुगेका १ सय १२ विद्यालयमध्ये प्राथमिकताका आधारमा भवन बनाउने काम गरिएको हो ।


बागलुङ नगरपालिका–११ को महाविद्याजन माविले ४ वर्षदेखि अस्थायी संरचनामा पढाउँदै आएकामा अबको केही समयभित्रै नयाँ भवनमा पढाउन पाउनेछ । भवन असारभित्रै सकिने प्रधानाध्यापक रामबहादुर केसीले बताए ।


एकाइमार्फत गत वर्षको ६३ लाख बजेटबाट ४ कोठे भवन र चालु वर्षको ७३ लाख बजेटबाट ४ कोठे भवन निर्माणाधीन छ । यो विद्यालयमा अझै अपुग भएपछि शिक्षा विभागको १६ लाख रुपैयाँबाट २ कोठे भवनसमेत निर्माण गरिएको छ ।


प्राधिकरणले सूचीकृत गरेको मध्ये बागलुङ कम क्षति भएको जिल्लामा छ । कम क्षति भएका जिल्लामा ढिला गरी प्रवेश गरेकाले निर्माणको काम पनि ढिलाइ भएको हो ।

प्रकाशित : असार ६, २०७६ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?