कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गाउँमा बिजुली

सम्झना रसाइली

तनहुँ — व्यास नगरपालिका–१३ को सुढेगाउँमा बिजुली बत्ती पुगेको छ । टुकीको भरमा बस्दै आएका स्थानीय विद्युतीकरणसँगै खुसी भएका छन् । विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत गाउँका १३ घरमा विद्युत् सेवा विस्तार गरेको हो । 

गाउँमा बिजुली

विद्युतीकरणका लागि १५ लाख रुपैयाँको लगानीमा १५ केभीएको ट्रान्सफर्मर जडान गरिएको वितरण केन्द्रका प्रमुख शिव गोशेलीले बताए । व्यास–१४ नाल्दीघाटका करिब २५ घर अझै अन्धकारमा रहेकाले आगामी वर्ष विद्युतीकरणको तयारी भइरहेको उनको भनाइ छ । जिल्लाका ७८ हजार घरमध्ये १५ प्रतिशत घरधुरीमा अझै पनि विद्युत् विस्तार भएको छैन 


। गोशेलीले भने, ‘विद्युतीकरण हुन बाँकी रहेका घरमा आगामी आर्थिक वर्षदेखि काम सुरु हुनेछ । यसका लागि ३ वटा सबस्टेसन बनाउने तयारीमा छौं ।’ बन्दीपुरको साराङघाटमा ८ एमबीएको सवस्टेसन निर्माण भइरहेको छ ।


उक्त सवस्टेसनबाट आँबुखैरेनीसम्म १९ किमि दूरी लाइन तानेर आँबुखैरेनी गाउँपालिकाका विद्युत् नपुगेका गाउँमा विद्युत् सेवा पुर्‍याइनेछ । साथै सोही सबस्टेसनबाट नयाँ फिडर निकालेर देवघाट गाउँपालिकाको कोटा, वैदी, छिपछिपे लगायतका ग्रामीण बस्तीमा विद्युत् सेवा विस्तार गर्ने योजना वितरण केन्द्रले बनाएको छ ।


बुद्धसिं फिडरमार्फत आँबुखैरेनी गाउँपालिका–५ र ६, बन्दीपुर गाउँपालिका–६ को खहरे, व्यास नगरपालिका–१४ नाल्दीघाटलगायतका बुद्धसिं मार्गका छेउछाउका बस्तीमा विद्युतीकरण गरिने प्रमुख गोशेलीले जानकारी दिए ।


विद्युतीकरणका लागि घिरिङ गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारमा ८/८ एमबीएको सवस्टेसन निर्माणाधीन अवस्थामा रहेको र सोही सबस्टेसनबाट त्यस भेगका ग्रामीण क्षेत्रमा विद्युत् पुर्‍याइने भएको छ । केन्द्रले भोल्टेज नपुगेका बस्तीमा ट्रान्सफर्मर थप गरिरहेको छ । बन्दीपुर गाउँपालिकामा ४, भानु नगरपालिकामा ४, व्यास नगरपालिकामा ७ ठाउँमा र म्याग्दे गाउँपालिकामा नयाँ ट्रान्सफर्मर थप गर्ने कार्यालयले जनाएको छ ।


जिल्लाको दमौली, डुम्रे, आँबुखैरेनी सबस्टेसन निर्माण भइसकेको र घिरिङ, खैरेनीटार, साराङघाटमा सवस्टेसन निर्माण गरी ४५ एमभीए बराबरको सवस्टेसन निर्माण गर्ने लक्ष्य कार्यालयले लिएको छ । ठाउँका सबस्टेसन निर्माणपछि जिल्लाका सबै ठाउँमा विद्युत् सेवा पुग्नेछ ।

प्रकाशित : असार ३, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?