कोत संरक्षणमा जुटे गाउँले

हरिराम उप्रेती

गोरखा — गोरखा इतिहासको खोजी गर्दै कोत संरक्षणमा पालुङटार नगरपालिका–८ र ९ स्थित धुवाँकोटवासी सक्रिय भएका छन् । बाइसे चौबिसे राज्य हुँदा राजा रजौटाहरू बस्ने कोत संरक्षण, प्रवर्द्घनसँगै प्रचारप्रसार गरेर पर्यटक भित्र्याउने उनीहरूको लक्ष्य छ । 

करिब ४ सय वर्षपहिले कोतमा राजा रजौटाले राज्य गरेका भग्नावशेष अझै देखिन्छ । कोत, जमरा राख्ने ठाउँ, सिद्घ बाबाको पाइला लगायतका भग्नावशेष देखिन्छ । पर्यटकीय दृष्टिकोणले सम्भावना बोकेको ठाउँ भएकाले संरक्षण गर्न स्थानीय जुटेका हुन् ।

साविकको धुवाकोट गाविस अहिले दुई वडा बनेको छ । वडाले इतिहास खोजी गर्दै आवश्यक संरचना निर्माणका लागि पहल थालेका हुन् ।

उक्त स्थानमा तामाखानी पनि रहेको स्थानीय बताउँछन् । सय वर्ष पहिले तामा निकालेर प्रयोग गरेको स्थानीयको दाबी छ । ‘तामाखानीको अध्ययन हुँदैछ,’ वडा ८ का अध्यक्ष शंकरराज कँडेलले भने, ‘कोत, सिद्घगुफा मन्दिरको प्रचार र तामाखानीको विषय खोज तथा अनुसन्धानको विषय वनाउन प्रयत्न गर्दै छौं ।’ स्मार्ट सिटीको रूपमा विकास गर्न लागिएको पालुङटार नगरपालिकामा उक्त ठाउँलाई जोडेर नयाँ पर्यटकीय पदमार्गको रूपमा विकास गर्न लागिएको वडा ९ का अध्यक्ष भोजराज पाण्डेले बताए ।

लिगलिगकोट, धुवाकोट हुँदै अकला मन्दिरसम्मको क्षेत्रलाई समेटेर नयाँ पर्यटकीय पदमार्गको रूपमा विकास गर्ने नगरपालिकाको योजना छ । ‘मगर समुदायको बाहुल्य यहाँ होमस्टे सञ्चालन गर्न लागेका छौँ,’ उनले भने, ‘पर्यटकीय करिडोर बनाउन सके पर्यटक नआउने कुरै छैन ।’ इतिहासका विद्यार्थीलाई खोजीका लागि पनि महत्त्वपूर्ण गन्तव्य बन्ने स्थानीय रुद्र उप्रेती बताउँछन् ।

‘राजारजौटा रहेको भग्नावशेषको विषयमा खोजी गर्नैपर्ने देखिन्छ, चिसो हावापानी भएको ठाउँ हो, केही संरचना बनाउन सके यसै आकर्षक गन्तव्य बन्छ,’ उनले भने । विश्रामस्थल, पिकनिकस्थल, पानीको व्यवस्था लगायतका संरचना निर्माणको आवश्यकता खड्किएको उनले बताए ।

‘कोतको विषयमा धेरै कुरा खोजीकै विषय छ,’ गोरखा क्याम्पसका प्राध्यापक यदु अधिकारीले भने, ‘पुरातात्त्विक सम्पत्ति हो, यस्ता सामाजिक सांस्कृतिक र धार्मिक पर्यटकीय महत्त्वका स्थलको खोजी गरे देशकै गौरव बढ्छ ।’

जिल्लाभर ३६ बढी कोतमध्ये धुवाँकोटको बेग्लै महत्त्व रहेको उनले बताए । कोतसँगैको सिद्घगुफामा स्थानीयले प्रत्येक महिनाको पहिलो र अन्तिम मंगलबार पूजा गर्छन् । डेढ घण्टा दूरीको चुचुरोमा पुगेर पूजा गर्नाले गाउँमा दुःख कष्ट नपर्ने स्थानीयको जनविश्वास छ । गुफामा पूजा गर्दा गाउँमा वन्यजन्तुले दुःख नदिने, महामारी, प्रकोपको भय नहुने स्थानीय बताउँछन् । ‘अर्गेली नगर्नु पुर्ख्यौली नछाड्नु भन्छन्,’ स्थानीय खड्कबहादुर रानाले भने, ‘पुर्खाले गर्दै आएका परम्परा नासिन दिँदैनौँ ।’

परम्परादेखिको प्रचलन अहिलेका युवा पुस्ताले पनि अँगाल्दै आएको सिस्नेरी गाउँका कटुवाल ठाकुरबहादुरगुरुङले बताए ।

प्रकाशित : असार ३, २०७६ ०९:४८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

श्रवणकुमारको सालिक निर्माण

कान्तिपुर संवाददाता

स्याङ्जा — पुतलीबजार नगरपालिका–४ नागडाँडाको जिरोस्थित चोकमा अन्धाअन्धी श्रवणकुमारको सालिक राखिने भएको छ । आँधीखोला गाउँपालिकाको अनुदानमा निर्माण गर्न थालिएको कपर फाइबरबाट बन्ने सालिक भारतबाट झिकाएर वालिङ्मा राखिएको गाउँपालिका अध्यक्ष सुधीर पौडेलले बताए ।

असार मसान्तसम्म सकिने गरी निर्माण थालिएको सालिक राखिने स्थानको सोमबार गण्डकी प्रदेशसभा सदस्य मीनप्रसाद गुरुङले शिलान्यास गरे । सालिकका लागि १० लाख रुपैयाँ खर्चिएको बताउँदै उनले ५ फिट अग्लो मूर्तिको ७ फुट लम्बाइ र साढे २ फुट चौडाइ रहेको बताए । सालिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने गाउँपालिकाले जनाएको छ ।

आँधीखोला गाउँपालिकाको प्रवेशद्वार नागडाँडामा पुतलीबजारसँगको सहकार्यमा सालिक राख्ने भएको हो । श्रवणकुमारले आफ्ना दुबै आँखा नदेख्ने आमाबुवालाई बोकेर हिँडेको प्रतीकात्मक सालिक राख्न लागिएको हो । मुक्तिनाथ दर्शनका लागि बाबु आमालाई खर्पनमा बोकेर हिँडेका बेला तिर्खा लागेपछि श्रवणकुमार पानी खोज्न गएका थिए ।

आफ्ना दृष्टिविहीन बाबुआमालाई चिलाउनेवासस्थित अन्धाअन्धी क्षेत्रमा राखेर वाङसिंको ध्याङ्साङीको मुहानमा पानी लिन जाँदा दशरथको वाण लागेर उनको मृत्यु भएको किंवदन्ती छ । सोही मुहान आँधीखोलाकोउद्गमस्थल हो ।

प्रकाशित : असार ३, २०७६ ०९:४७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×