कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

किसानका फर्म पर्यटकीय गन्तव्य

प्रकाश बराल

बागलुङ — पैयुँथन्थापका गंगाबहादुर थापाले सदरमुकाममा खोलेको कृषि फर्म अहिले गतिलो पर्यटकीय गन्तव्य बनेको छ । मठमन्दिर र सहर घुम्दामात्र रमाउने आन्तरिक पर्यटकको रोजाइमा थापाको कृषि फर्म पनि पर्न थालेको छ ।

बागलुङ नगरपालिका–३ को गौंडाकोटमा २० वर्षअघि जग्गा भाडामा लिएर थापाले कृषि कर्म सुरु गरेका थिए । उनको सिको गर्दै अहिले ८० भन्दा बढी किसानले व्यावसायिक तरकारी खेती गर्छन् । अधिकांशले जग्गा भाडामा लिएका छन् ।


केहीको आफ्नो जमिन छ । एउटै फाँटमा यतिका धेरै किसानले गरेको कर्म हेर्न आउनेकै कारण गौंडाकोट, पावरहाउस र मूलपानीतर्फ दर्जन बढी पसल र रेस्टुरेन्ट खुलेका छन् । थापाले प्लास्टिकका टनेलमा बेमौसमी तरकारी खेती गर्छन् भने मौसमी तरकारी, कुखुरा पालन, च्याउखेतीसमेत गरेर वर्षको १० लाख रुपैयाँ कमाउँछन् ।


आफ्नै पुर्ख्यौली जग्गामा माछा पालेका नारायण उपाध्यायको फर्म हेर्न पनि उत्तिकै आउँछन् । १० हजार बढी माछाका भुरा छाडेर बर्सेनि झन्डै १० लाखकै कारोबार गर्ने उपाध्यायले दैनिक आउने पर्यटकलाई जानकारी दिन समय छुट्याएका छन् । ‘पूर्वपश्चिमदेखि घुम्न र कृषि कर्म हेर्न आएकालाई समय दिएर केही बताउनैपर्छ,’ उपाध्यायले भने, ‘हाम्रो थोरै समयले उनीहरूमा प्रेरणा जाग्यो भने विदेश नगई नेपालमै उत्पादनको काम गर्लान् ।’


थापा र उपाध्यायजस्तै यहाँका एक सय बढी किसानले सहकारी खोलेका छन् । मिर्मिरे कृषि सहकारी संस्थामार्फत उनीहरूले बागलुङ बजारलाई चाहिने कुल तरकारीको ६० प्रतिशत बढी उत्पादन गर्छन् । कुखुरा, माछा र बंगुरबाट आत्मनिर्भर बनाइसकेको थापाले बताए ।


यहाँका व्यपारीले दैनिक सयौं केजी तरकारी किसानका घरघरै पुगेर उठाउँछन् । यहाँ सानाठूला गरी ४० माछा पोखरी छन् । भाडामा जग्गा लिएर बसेको यो गाउँलाई उनीहरूले ‘नयाँ कृषि सहकारी गाउँ’ नामकरणसमेत गरेका छन् । यो गाउँ घुम्न विद्यार्थी पनि आउँछन् । बलेवास्थित कृषि प्राविधिकको पढाइ हुने क्याम्पसले आफ्ना विद्यार्थीको ६ महिने प्रयोगात्मक अभ्याससमेत यहीं गर्न थालेको छ । विद्यार्थीले पनि धेरै खर्च नगरी गाउँघरमै प्रयोगात्मक अभ्यास गर्न पाएको बताए ।


समाजशास्त्र र पत्रकारिता पढ्ने विद्यार्थीले पनि यो गाउँ घुम्न थालेका छन् । उनीहरूको प्रतिवेदनमा किसानकै कथा बढी लेखिन्छ । ‘एकहुल साथी गएका थियौं, हरेक व्यक्तिको मेहनतको समाचार लेख्न सकियो,’ जैमिनी नगरपालिका– ७ का नवीन सुवेदीले भने, ‘खाली हात बसेको कोही पनि देखिएन ।’ उनीहरू पत्रकारिताको अभ्यासका लागि गाउँ पुगेका थिए । मेहनत गर्दा कृषि पेसाबाटै ठूलो कमाइ गर्न सकिने अनुभव पाएको सुवेदीले बताए ।


धम्जाबाट झरेका मनबहादुर पुन, तंग्रामका जगबहादुर विक, रेशकी सरस्वती पुन, पैंयुँथन्थापकी लक्ष्मी थापा लगायतले दैनिक कृषि कर्म गरिरहेका छन् । घुम्न आएका विद्यार्थी र सहकारीकर्मीले कामकै अनुभव लिएर जाने गरेको विकले बताए । ‘कतिपयले कुटोकोदालो समातेर तरकारी गोडछन्,’ उनले भने, ‘कतिपयले प्राविधिक कुरा सोध्छन् ।’ धेरै किसानको व्यक्तित्व र अनुभवमा आधारित डकुमेन्ट्रीसमेत बनेका छन् ।

प्रकाशित : असार २, २०७६ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?