सडक निर्माणले स्वास्थ्यचौकी विस्थापित

नवलपुर — पूर्वी नवलपरासीको विकट बुलिङटार गाउँपालिका–४ स्थित अर्खला स्वास्थ्यचौकी भवन पहिरोको चपेटामा परेको छ । सडक निर्माण क्रममा अन्धाधुन्ध डोजर प्रयोग गर्दा गएको पहिरो अहिले स्वास्थ्यचौकीको नजिकै आएको छ । यसले चौकी उठेको छ । 

पहिरो मुख्य भवनको ३ मिटर नजिकै आएपछि कुनै पनि बेला भत्कने डरले कर्मचारी र स्थानीयले बुधबार चौकीका सामान अन्यत्र सारेका छन् । चौकी विस्थापित भएपछि यस क्षेत्रका करिब ४ हजार सर्वसाधारण स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्था आएको छ ।


७० लाख लागतमा केही वर्षअघि बनेको चारकोठे भवन नवलपरासीकै नमुना भएर पुरस्कारसमेत पाएको थियो । भवन पहिरोको जोखिममा परेसँगै सेवा पनि अवरुद्ध भएको छ । भवनसहित सबै संरचना बाटो निर्माण क्रममा भत्केर जाने अवस्थामा पुगेको स्वास्थ्यचौकीका प्रमुख टोकबहादुर सुस्लिङ मगरले बताए ।


‘मोटरबाटो निर्माणका लागि ठेक्का पाएको पुष्प कोसी एन्ड न्यौपाने बन्दना भगवती जेभी कन्सल्टेन्सीले सरकारी संरचना नबिगारी काम गर्ने सम्झौता भएको भन्ने सुनेका थियौं,’ उनले भने, ‘तर अहिले डोजर लगाउँदा वरपरको जमिनमा गएको पहिरोले भवन भत्कने अवस्थामा पुग्यो ।’


पहाडी क्षेत्रमा जाने मोटरबाटो निर्माणले धेरै निजी घर भत्केका छन् भने जग्गाजमिनसमेत पहिरोले लगेको छ । पूर्वी नवलपरासीमा दलदले मोटरबाटो र कालीगण्डकी मोटरबाटो विस्तार तथा निर्माणका क्रममा १० करोड बराबरको भौतिक संरचनामा क्षति पुग्ने आकलन गरिएको बुलिङटार–२ का वडाध्यक्ष प्रेमबहादुर थापा मगरले बताए । ‘विकास निमार्णको काम गर्दा केही क्षति पुगिहाल्छ,’ उनले भने, ‘क्षति कम गरेर निर्माण गर्नुपर्छ ।’

प्रकाशित : जेष्ठ ३०, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?