कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

झरीमा लगाएको कालोपत्रे उप्कियो

आश गुरुङ

(लमजुङ) — आर्थिक वर्षको अन्तिमतिर आएर बेंसीसहरको मनाङे चौतारादेखि सेराबजारसम्मको सडकको ओभरले (पुरानो कालोपत्रेमाथि कालोपत्रे) सुरु गरिएको छ  । गत वर्षभन्दा यसपटक चाँडै पानी पर्न थालेको छ  ।

झरीमा लगाएको कालोपत्रे उप्कियो

तर, सडकको मर्मत भने झरीमा समेत जारी छ । पुरानो कालोपत्रेबाट ३ सेन्टिमिटर पुनः नयाँ बिटुमिन राखेर गरिएको कालोपत्रे उक्किन थालेको छ । मनाङे चौताराका पूर्णचन्द्र घिमिरेले वर्षायामको समय गरिने विकास राम्रो नहुने बताए । ‘कालोपत्रे गर्दै आयो । हेर्दा राम्रो देखियो । केही गिट्टी पनि मिसिएको जस्तो देखिन्छ’ उनले भने, ‘गाडी हिँडैमा कालोपत्रे उक्कियो । गाडी फर्काउँदा भत्कियो । खै के हो, बुझ्नै सकिएन ।’

करिब ९ सय मिटर सडक ओभरले गर्नुपर्नेमा सडक मर्मत सुरु गरिएको एक महिनाको अवधिमा पुरानो बैंक चोकसम्म करिब ३ सय मिटर ओभरले गरिएको छ । ‘पानी परेको बेलासमेत काम गर्छन्,’ हाइस्कुलचोकका राजु थापाले भने । सडक मर्मत भए पनि राम्रो हुन नसकेको उनले बताए । ‘अलकत्र केही ठाउँमा नलागेको देखियो । यसरी अडिन्छ त ? भन्दा बाक्लो हाले त उकिन्छ भनेर कामदारले जवाफ दिए,’ उनले भने ।

सडक डिभिजन दमौलीले बेंसीसहर बजारभित्रको मुख्य सडकको लेयरमा कालोपत्रेको काम सुरु गरेको हो । बजार एरियारमा ‘ओभरले’ गर्न सुरुमा खाल्डो टालेर पछि पुरानो कालोपत्रेमाथि कालोपत्रे थप राखिएको छ । कुल १ करोड रुपैयाँको स्टेमेट भ्याटबाहेक ७७ लाख २७ हजारमा ठेक्का निकालिएको थियो । बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले अनुगमन र निरीक्षण राम्रो हुन नसक्दा काम पनि राम्रो नभएको बताए । ‘अहिले मात्रै होइन, यहाँको मर्मत कहिल्यै राम्रो हुन सकेन । कति भनें, भनें’ उनले भने, ‘पहिले राम्रैजस्तो लाग्छ, पछि बिग्रने गरेको छ ।’

डिभिजन सडक कार्यालयअन्तर्गत लमजुङको एकाइ कार्यालयका सब–इन्जिनियर हरिकुमार श्रेष्ठले काम राम्रो भएको दाबी गरे । कालोपत्रे भने केही ठाउँमा उक्किएको उनले स्विकारे । ‘ओभरलोड गाडी गुडा, गाडी थन्क्याउँदा तथा फर्काउने, घुमाउने ठाउँमा छेउछाउ केही उक्किएको छ । केही ठाउँमा भत्किएको पनि छ,’ उनले भने, ‘त्यसलाई मर्मत गर्न निर्माण व्यवसायीलाई भनिसकेका छौं ।’

कालोपत्रे हालिसकेपछि कम्तीमा ७२ घण्टा राख्नुपर्नेमा गाडीका पांग्रा घुमाउँदा उक्किएको उनले बताए । उनले वर्षायामको समय पानी पर्ने भएकाले पानी पर्दै गर्दा काम नगर्न आग्रह गरिएको बताए ।

उक्त काम सक्न असार मसान्तभित्रको समयसीमा छ । पोखरास्थित भान्जा एसआर जेभीले वैशाख १० गते सम्झौता गरेर काम अघि बढाएको सडक कार्यालयका डिभिजन इन्जिनियर विष्णुप्रसाद काफ्लेले बताए । उनका अनुसार सुरुमा सडकको खाल्डाखुल्डी पुरिएको र त्यसपछि अलकत्र हालेर कालोपत्रे गरिएको छ । ‘तोकिएको समयमा काम सक्छौं’ उनले भने ।

प्रकाशित : जेष्ठ २९, २०७६ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?