पाङ बन्ने भयो नमुना

दिप्ती सिलवाल

पर्वत — कृषिमा आधुनिक प्रविधि र उपकरण भित्र्याएर किसानलाई व्यावसायिक बनाउँदै कुश्मा नगरपालिका १ पाङलाई नमुना कृषि गाउँ बनाइने भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा नमुना कृषि गाउँ कार्यक्रम घोषणा भएको हो । 

कार्यक्रमअनुसार कृषिको व्यावसायीकरण र आधुनिकीकरण गर्ने गरी विभिन्न सीप, तरकारी तथा नगदेबालीको व्यावसायिक खेती, उन्नत जातको खेती, खेती लगाउने आधुनिक प्रविधिलगायत सुरुवात चालु वर्षदेखि नै गर्न लागिएको सरोकारवालाले बताए ।


प्रदेश सरकारको गौरवको योजनाका रूपमा नमुना कृषि गाउँ घोषणा गरेर गाउँका सबैजसो परिवारले बर्सेनि न्यूनतम २ लाख आम्दानी कृषिबाटै गर्न सक्ने गरी योजना अघि बढेको कृषि ज्ञानकेन्द्रले जनाएको छ । परम्परागत खेती प्रणालीलाई परिवर्तन गरी आधुनिकीकरण गर्ने र यहाँको नमुना अन्यत्रसमेत प्रयोग गर्ने गरी नमुना कृषि गाउँका रूपमा विकास गर्न थालिएको हो ।


कुल १ सय ८३ घरधुरीलाई प्रत्यक्ष संलग्न रहने गरी कार्यक्रम तय गरिएको ज्ञान केन्द्र प्रमुख वासुदेव रेग्मीले बताए । ‘पाङको समथर जमिनमा खेती गर्न सजिलो छ,’ रेग्मीले भने, ‘बीउ र खनजोतको उपकरण सहज भएर कृषिबाट आत्मनिर्भर हुन बेर लाग्दैन ।’ अहिले सिँचाइ सहज भएकाले किसान कार्यक्रममा हौसिएको उनले दाबी गरे ।


कार्यक्रमका लागि प्रदेश सरकारले पहिलो वर्ष २५ लाख २ हजार ५ सय रुपैयाँ लगानी गर्दै छ । स्थानीय समुदायको ४ लाख ९ हजार रुपैयाँको साझेदारीमा सञ्चालन हुने वडाध्यक्ष देवेन्द्र सुवेदीले बताए । कार्यक्रम दिगो रूपमा सञ्चालनका लागि स्थानीयको सक्रियतामा पार्वती कृषि नमुना गाउँ कृषि सहकारी संस्था सञ्चालनमा ल्याइएको छ ।


उक्त सहकारीमार्फत कार्यक्रम सञ्चालन गरिने सञ्चालक गोपाल सुवेदीले बताए । ‘हामीले निरन्तर खेती गर्दै आएकै थियौं,’ सुवेदीले भने, ‘सहकारीमार्फत अनुदान आउने भएपछि अरू युवा उत्साहित भएका छन् ।’ मध्यपहाडी लोकमार्गको सहस्रधाराबाट करिब २ किलोमिटर उत्तरतर्फको पाङ जिल्लाकै उर्वरभूमि हो । गाउँसम्म कालोपत्रे गरिएको सडक र बाह्रै महिना सवारी सहजै चल्ने भएकाले उत्पादित उपजको बजार खोज्न समस्या छैन । सिंचाइ सुविधा छ । घरघरै बेमौसमी तरकारी खेती गर्नेको संख्या बढ्दो छ ।


कार्यक्रम सञ्चालन भएपछि सबै घरधुरीमा प्लास्टिक टनेल, फूल रोप्ने गमला, हाते ट्रयाक्टरलगायत कृषि क्षेत्रका सामग्री उपलब्ध गराइने रेग्मीले बताए । मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रमको शुभारम्भ भएको घोषणा गर्दै संघीय सांसद पदम गिरीले गाउँलाई नमुना बनाउन स्थानीयको सक्रियताको खाँचो पर्ने बताए ।


‘सरकारी सहयोग साध्य हो, साधन होइन,’ गिरीले भने, ‘साधन भनेको किसानै भएकाले गाउँलाई कसरी आत्मनिर्भर बनाउने भनेर योजना बनाउनुस् । काम गर्नुस् । बजेटको खाँचो हुँदैन ।’ ४ वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रममार्फत किसानलाई विभिन्न सहयोग हुँदै आइरहेको जिल्लामा नमुना कृषि गाउँ घोषणा भएसँगै कृषिबाट समृद्धिको यात्रा सुरु भएको सरोकारवालाले बताए ।

प्रकाशित : जेष्ठ २८, २०७६ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?