कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

अप्ठेरामा पनि निरन्तर सिर्जना

प्रतीक्षा काफ्ले

स्याङ्जा — उमेरले ५ दशक काटिन् । काम गर्ने इच्छाशक्ति भने कुनै युवाको भन्दा कम छैन । सानै उमेरदेखि साहित्य र कला क्षेत्रमा रुचि राख्दै आएकी संगीता सारथि दुर्घटनापछिको नयाँ जीवनमा कलम चलाउन थालेको बताउँछिन् । 

अप्ठेरामा पनि निरन्तर सिर्जना

शान्तिनगर, झापा घर भई १८ वर्षदेखि स्याङ्जाको पुतलीबजार–१ प्रगतिनगर बस्दै आएकी उनी पेसाले शिक्षिका हुन् । कलाकारसँगै साहित्यकारको सूचीमा पनि उभ्याउन सफल भएकी छन् ५१ वर्षीया सारथि । ०६५ सालमा उनलाई ब्रेन हेम्ब्रेज भयो । टाउकामा किराको अन्डा परेकाले २ पटकसम्म शल्यक्रिया गर्नुपर्‍यो । बाँच्ने आस हराइसकेको थियो । उनले भनिन्, ‘सबैले मरी भन्दाभन्दै पुनर्जन्म पाएँ । बाँकी जिन्दगी समाजमा केही गर्नुपर्छ भन्ने भएर कलम चलाउन थालेँ ।’ जीवनको ग्यारेन्टी नहुँदा इच्छाशक्ति भएर पनि प्रस्तुत गर्न नसकेको अवस्थामा शल्यक्रियाले हिम्मत जुटाइदिएको उनले बताइन् ।


बीएड उत्तीर्ण उनी २०४५ सालदेखि अध्यापनमा सक्रिय छिन् । दुर्गादेवी आधारभूत विद्यालय देवीस्थानमा पढाउँछिन् । उनका कुँडिएका मन २०६७, अनुभूति जीवन अनि मृत्युको २०७२ कथासंग्रह बजारमा आएका छन् । माइतै रमाइलो २०७२ लगायत ५ वटा तीजका गीत, २०६८ मा आधुनिक गीत एल्बम माया र मनलाई बाँध्न खोज्छु बजारमा ल्याइसकेकी छन् । प्रत्येक गीतमा शब्द र स्वर उनकै छन् । उनले जिल्लाको पर्यटकीय र धार्मिक क्षेत्रलाई समेटेर २०६८ सालमा वृत्तचित्र पनि बनाइन् ।


कथामा समाजमा हुने घटना, सामाजिक विसंगतिलाई समेटिएको छ । उनले निकालेको दोस्रो कथा संग्रहमा भने केही भाग आफ्नै टाउकाको शल्यक्रिया हुँदाको कहानी जोडेकी छन् । स्याङ्जा सांस्कृतिक कला केन्द्रको संस्थापक अध्यक्ष रहेकी सारथि ओमशान्ति सिर्जना नारी सीप विकास संस्थाको उपाध्यक्ष, नारी सचेतना केन्द्रको सचिव र प्रगतिशील लेखक संघको गण्डकी प्रदेश सदस्यलगायत विभिन्न सामाजिक संघसंस्थामा सक्रिय छिन् ।


काम गर्दै जाँदा आइपर्ने चुनौतीलाई सामना गर्दै जानुपर्ने बताउने उनले भनिन्, ‘सुरुसुरुमा मलाई धेरैले असहयोग गरे, विरोध गरे तर लेख्न पछि परिनँ । काम गर्दै गएँ, अहिले सहयोग गर्ने पनि विरोध गर्नेको संख्या बराबरी पाएकी छु ।’ उनी कविता पनि लेख्छिन् । तीनवटा आधुनिक गीत लेखेर छायांकन र एउटा किताब लेख्ने तयारीमा छिन उनी । उनका श्रीमान्, २ छोरी र एक छोरा छन् । श्रीमान् पनि शिक्षक छन् ।

प्रकाशित : जेष्ठ २८, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?