कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

भगतसर्वजित सम्झिँदै संग्रहालय

प्रकाश बराल

(बागलुङ) — दलित आन्दोलनका अगुवा भगतसर्वजित विश्वकर्मालाई सम्झन उनकै जन्मगाउँमा संग्रहालय निर्माणको काम थालिएको छ । बागलुङ नगरपालिका–७ कालिमाटीस्थित ठाडोस्वाँरामा भगतसर्वजित विश्वकर्मा प्रतिष्ठानको अगुवाइमा संग्रहालयको काम थालिएको हो । नेपाल सरकारले विनियोजन गरेको १० लाख रुपैयाँबाट प्रारम्भिक काम थालिएको प्रतिष्ठान अध्यक्ष ओमबहादुर विश्वकर्माले बताए । 

विसं १९५० सालमा कालिमाटीमा जन्मेका विश्वकर्माले जातीय विभेदविरुद्धको पहिलो आन्दोलन गरेको इतिहास छ । सदरमुकाम बागलुङ बजारदेखि डेढ घण्टाको उकालो चढेपछि पुगिने कालिमाटीमा यसअघि उनकै स्मरणमा विश्वकर्मा माध्यमिक विद्यालय स्थापना गरिएको थियो । उनकै सम्मान र इतिहासको संरक्षणका लागि विश्वकर्माले अध्ययन गरेका ग्रन्थ, उनको जीवनशैली झल्कने वस्तु र कलाकौशल जोगाउन संग्रहालय बनाउन लागिएको हो ।


संग्रहालयसँगै बगैचा, विश्वकर्मा जन्मेको घरको नमुना, पार्क र पदमार्ग बनाउने प्रतिष्ठानको योजना छ । क्रमागत योजना मार्फत संघीय र स्थानीय सरकार मार्फत रकम जुटाएर योजना पूरा गर्ने लक्ष्य राखिएको छ । योजना पूरा गर्न २ करोड ६० लाखको अनुमान गरिएको प्रतिष्ठानका महासचिव परशुराम विकले बताए । विश्वकर्माका नाति लालबहादुरले ४ आना जग्गा दान दिएका छन् । आवश्यक थप २ रोपनी जमिन प्रतिष्ठानले खरिद गर्ने योजना बनाएको छ ।


कालिमाटीमा विश्वकर्माको अर्धकदको मूर्ति राखिएको छ । दलित मुक्तिको अभियानका लागि उनले कुनै नारा र जुलुस नगरी आफैं संस्कृत, वेद र पुराणहरूको अध्ययन गरेर परिवर्तनको प्रयास गरेका थिए । अध्यक्ष विक भन्छन्, ‘उहाँ राष्ट्रिय विभूति हो ।’ दलितको अधिकारका लागि मात्र नभएर विभेदलाई देश विकासका लागि बाधक मानेर काम गरेकाले राज्यले पनि प्रतिष्ठान मार्फत काम गर्न सम्बोधन थालेको उनले बताए ।


शिक्षाको विकास गर्न २००७ सालमा विश्वकर्माले खोलेकाले यो विद्यालयको नामसमेत विश्वकर्मा राखिएको थियो । ‘धार्मिक ग्रन्थअनुसार विश्वकर्मा भनेको शिल्प ब्राह्मण हो’ विक भन्छन्, ‘२००७ सालमा हिक्मत सिंह, लक्ष्मीनारायण विश्वकर्मा, मनवीर विश्वकर्मा र रामशरण विश्वकर्माको साथ लिएर भगतले विद्यालय खोल्नुभएको हो ।’ विभेद चाहेकाहरूले उनको घर गोठ भत्काएका थिए । गाथगद्दी ताकेको आरोपमा विश्वकर्मालाई तत्कालीन शासकले १७ महिना जेल हालेका थिए । विश्वकर्माले श्री ३ मोहनशमशेर राणासमक्ष आफ्नो वास्तविक माग राख्ने मौका पाएपछि जेलमुक्त गरिएको थियो ।


भारतमा पुगेर अध्ययन गरेर फर्केपछि १९९७ सालमा विश्वकर्माले विश्व सर्वजन संघ संस्था पनि खोलेका थिए । संस्थागत रूपमा आर्थिक उन्नतिका लागि श्रमशोषण र उत्पीडन हटाउन उनले अगुवाइ गरेका थिए । बालीघरे प्रथालाई परिमार्जन गर्न उनले जिन्सीको साटो नगद पाउनुपर्ने आवाज उठाएको इतिहास छ । उनको आवाजले बालीघरेहरूले ज्याला पाउन थालेको स्थानीय देवीराम विकले बताए ।


प्रतिष्ठानले भगत सर्वजित विश्वकर्माको योगदानमा आधारित स्मारिका प्रकाशन पनि गरेको छ । दलित मुक्तिको आन्दोलनमा उनले खेलेको भूमिका स्मारिकामा चर्चा गरिएको छ । स्मारिकामा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिंदै छुवाछूतविरुद्धको लडाइँ एक सय वर्ष पुग्दा पनि सार्थकता पाउन नसक्नु दु:खद भएको टिप्पणी गरेका छन् । संस्कृत, वेद र पुराणहरूको अध्ययन गरेका उनले जनै लगाउने चलन बसालेको जानकार बताउँछन् । ‘दलितले पनि समान अधिकार पाउनुपर्छ भन्ने पहिलो आवाज उठाउने उहाँ हुनुहुन्थ्यो,’ विश्वकर्माले भने, ‘अहिले पनि दलितले भेदभाव भोग्नुपरेको छ, अब यो समस्या निमिट्यान्न पार्नुपर्छ ।’


प्रकाशित : जेष्ठ २७, २०७६ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?