२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

गाउँलेको पहलमा विद्युत्

सदरमुकामदेखि ५० किमि पश्चिमको ताराखोलावासीले सेयर संकलन गरेर निर्माण गरेको बिजुलीको परीक्षण सफल
प्रकाश बराल

बागलुङ — आलु फलेपछि बारीबाटै बेच्नुपर्ने ताराखोलाका अमृत घर्तीमगरले अब भण्डारण गरी मूल्य पाउँदा बेच्ने योजना बनाएका छन् । भण्डारण अभावमा उनले खानेबाहेक सबै आलुबाट बेच्नुपर्ने बाध्यता थियो । मगरजस्ता यहाँका सयौं किसानले सामुहिक र व्यक्तिगत भण्डारण बनाउने योजनामा लागेका छन् । विद्युत अभावमा भण्डारण बनाउन सकेका थिएनन ।

गाउँलेको पहलमा विद्युत्

सबैभन्दा धेरै फल्ने आलु र केही वर्षदेखि थालिएको अलैंची बारीबाटै बेच्ने ताराखोले किसानलाई राहत दिन आवस्यकतानुसारका भण्डारगृह बनाउने गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए ।


सदरमुकामदेखि ५० किमी पश्चिमको ताराखोलाबासीले शेयर संकलन गरेर निर्माण गरेको बिजुलीको परीक्षण सफल भएपछि किसान र जनप्रतिनिधिसमेत खुसी भएका हुन् । यसअघि लघुविद्युत् र पेल्ट्रिक सेटबाट बिजुली बालेका स्थानीयले आफ्नै लगानीको ३ सय ८० किलोवाटको विद्युत् आयोजना बनाएका छन ।


बिजुली आएपछि गाउँपालिका भवनमा चौबिसै घण्टा विद्युत् आपूर्ति गरेर कम्प्युटर विधिबाट सबै काम गर्न सकिने घर्तीले बताए । ‘बिजुली नभएर हामीले चाहेका धेरै काम गर्न सकेका थिएनौं,’ घर्तीले भने, ‘अब केही गरेर देखाउने बेला आएको छ ।’ ताराखोलामै बनाइने हाते कागज उद्योग, धागो कात्ने तथा अल्लो र भाङ्ग्रो बुन्नेलाई मेसिनमार्फत काममा लगाउन सकिने उनले बताए ।


गाउँपालिकाभित्रका १ हजार ६ सय घरले सेयर संकलन गरेर ताराखोला सामुदायिक विद्युत्मार्फत बिजुली उत्पादन गरेका हुन् । गाउँलेले संकलन गरेको ११ करोड रुपैयाँमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ९ करोड १२ लाख अनुदान थपेर २० करोड रुपैयाँ लागतमा काम सम्पन्न भएको अध्यक्ष धनबहादुर बिकले बताए ।


‘आफ्नै मेहनतले बत्ती बाल्न हामीले दशकदेखि काम गरेका थियौं, अब कसैको आस गर्नु परेन,’ बिकले भने, ‘राज्यको सेवा पाउन नसकेका हामीले हाम्रो उत्पादन राज्यलाई बेच्ने लक्ष्य बनाएका छौं ।’ सबै घरमा बिजुली बाल्ने अभियान चलिरहेकाले केही समयभित्रै सरकारसँग विद्युत् खरिद सम्झौता गरिने उनले बताए । गलकोटस्थित हरिचौरमा निर्माण भइरहेको सबस्टेसन पूरा भएपछि यो विद्युत्को प्रसारण लाइन जोड्ने गरी खरिद सम्झौता हुने उनले बताए ।


यसअघि लघु जलविद्युत्मार्फत ताराखोलाका केही गाउँमा बिजुली बालिएको थियो । राष्ट्रिय प्रसारण लाइन यहाँ छैन । लघुविद्युत्बाटै यहाँ कुटानीपिसानी मिलसमेत सञ्चालनमा थिए । निर्माणाधीन विद्युत् उत्पादन भएपछि सबै विद्यालयमा कम्प्युटर शिक्षा सञ्चालन गरिने घर्तीले बताए । यहाँ धेरै ढुंगाखानी लघुविद्युत्को भर परेका थिए । अब सबै ढुंगाखानी विद्युत्मार्फत सञ्चालन हुनेछन् । ढुंगाखानी, खाद्यान्न प्रशोधन, कम्प्युटर शिक्षा तथा अन्य घरेलु उद्योगसमेत सञ्चालन गरेर आगामी ३ वर्षभित्र ५ हजार बढी युवा गाउँमै रोजगार बनाउने लक्ष्य गापाको छ ।


बिजुली आएकाले बालबालिकाले सहजै पढ्न लेख्न पाउनेछन् । ‘अब बालबालिकाले सजिलै पढ्न पाउने भए,’ ताराखोलाकी विष्णुमाया रोकाले भनिन्, ‘बिजुली अभावमा मोबाइल चार्ज गर्ने कामसमेत साँझका बेला मात्र हुन्थ्यो ।’ लघुविद्युत् बेलाबेला बन्द गरेर सञ्चालन गर्नुपर्थ्यो ।

प्रकाशित : जेष्ठ २४, २०७६ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?