विद्यालय पुनर्निर्माणमा ढिलाइ

सम्झना रसाइली

तनहुँ — भूकम्पबाट क्षति भएका विद्यालयको पुनर्निर्माणले जिल्लामा पूर्णता पाउन सकेको छैन । भूकम्पका कारण जिल्लाका २ सय ९१ विद्यालयमा क्षति पुगेको थियो ।


यो ४ वर्षको अवधिमा १ सय ६५ विद्यालयको मात्र पुनर्निर्माण भएको छ । साविक जिल्ला शिक्षा कार्यालय र हाल कायम गरिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षा कार्यालयले विद्यालय पुनर्निर्माण गरेका हुन् ।

जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाले आव २०७६/०७७ मा केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) बाट यही जेठ मसान्तबाट ५३ वटा विद्यालयको पुनर्निर्माण कार्य बढाउने स्वीकृति पाएको छ ।

जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षा कार्यालय प्रमुख सूर्यप्रसाद क्षत्रीका अनुसार बाँकी १ सय २६ विद्यालयमध्ये ५२ को भवन बनिरहेको छ । ५३ विद्यालयको भवन निर्माणका लागि स्वीकृति पाइएको र अन्य २१ विद्यालयको विषयमा भने अन्योल छ ।

नेपाल सरकारले तोकेको मापदण्डअनुसारको भवन निर्माण, विद्यार्थी संख्यालगायतका विविध कारणले २१ विद्यालयको भवन पुनर्निर्माण कार्य के–कसरी अगाडि बढाउने भन्ने विषयमा कुनै निर्णय नभएको एकाइ प्रमुख क्षत्री बताउँछन् ।

विद्यालय भवन पुनर्निर्माणका लागि भूकम्पले पारेको क्षति, विद्यार्थीको संख्या र भवन निर्माणका लागि आवश्यक क्षेत्रफलको जग्गा भएका विद्यालयलाई प्राथमिकतामा राखिएको छ । कक्षा १ देखि ३ सम्म सञ्चालित विद्यालयलाई ५ कोठा, १–५ लाई ८, १–८ लाई १२ कोठा र १–१२ कक्षासम्म सञ्चालनमा रहेका विद्यालयलाई १८ कोठा भएको भवन निर्माण गर्नुपर्ने मापदण्ड बनाइएको छ ।

क्षत्रीका अनुसार प्रत्येक विद्यालयले ४ कोठे भवनका लागि ७० लाख ४० हजार, ३ कोठाको ट्रस्टसहितको भवनका लागि ३५ लाख ८०हजार र २ कोठाको ट्रस्टसहितको भवन निर्माणका लागि २३ लाख ९० हजार रुपैयाँ गरी ५२ वटा विद्यालयको भवन निर्माणका लागि कुल २३ करोड २५ लाख ६ हजार ५४१ रुपैयाँ बजेट विनियोजन भएको छ ।

विद्यालय भवन निर्माणसँगसँगै चालु आर्थिक वर्षको जेठबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यक्रमअन्तर्गत जिल्लाका ५२ वटा विद्यालयमा सुविधासम्पन्न शौचालयसमेत निर्माण गरिनेभएको छ ।

छात्राछात्र र अपाङ्गता भएका विद्यार्थीको छुट्टाछुट्टै शौचालय निर्माणका लागि प्रतिशौचालय १५ लाख रुपैयाँको दरले ७ करोड ८० लाख रुपैयाँ लागत अनुमान गरिएको एकाइ प्रमुखक्षत्रीले बताए ।

प्रकाशित : जेष्ठ २२, २०७६ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्

उर्बर भूमिमा सिँचाइ छैन

प्रताप रानामगर

दमौली — उर्बर फाँट । नियमित सिँचाइ उपलब्ध हुने भए वर्षमा तीन खेती गर्न सकिने । तनहुँको भिमाद नगरपालिका–५ स्थित ८५ हेक्टरको बुडुवाफाँटमा सिँचाइ सुविधा नहुँदा किसान भने आकाशेपानीको भर पर्नुपर्ने अवस्था छ ।

पानी अभावमा यतिबेला किसानले धानको ब्याडसम्म राख्न पाएका छैनन् । ‘ब्याड राख्ने बेला भयो,’ किसान माधव गैह्रेले भने, ‘तर कुलोमा पानी छैन । अलिअलि आउने पानी पनि बाढ्नुपर्छ । ब्याड राख्न पनि आकाशेपानीको भर पर्नुपर्छ ।’ समयमै ब्याड राख्न पाए असारमा आकाशेपानीमा भए पनि छिट्टै धान रोप्न पाइन्थ्यो भन्दै उनी खेतमा भौंतारिरहेका थिए ।

फाँटमा २ दशकदेखि सिँचाइ अभाव हुँदै आएको बुडुवा सिँचाइ आयोजनाका अध्यक्ष बालकृष्ण गैह्रेले बताए । बुडुवा खोलामा बाँध हालेर ल्याएको पानी पर्याप्त नआएको हो । ३ सय मिटर तल त्यही खोलामा पनि अर्को बाँध थापेर कुलोबाट पानी चलाएका थियौं । तर, ४ वर्ष पनि सुचारु हुन सकेन । खोलाको बाँधभन्दा कुलोको उचाइ बढी भएपछि समस्या आएको हो । सुरुङ बनाएर ह्युमपाइप मार्फत कुलो बनाइए पनि प्रभावकारी सञ्चालनमा आउन नसकेको हो ।

कुलोमाथि पछिल्लो समय मोटरबाटोसमेत खनिएकाले थप असर गरेको स्थानीयले बताए । अर्कोतर्फ खोलामा आएको बाढीले कुलो थुन्ने कामसमेत भएको छ । डिभिजन सिँचाइ कार्यालयले सुरुङ कुलो सफा गरिदिए पनि पानी सुचारु गर्न नसकेको उनले बताए ।

२००७ सालमा निर्माण गरिएको माथिल्लो बाँध र कुलो जीर्ण छ । खोला बढेको बेलामा मात्र कुलोमा पानी आउँछ । अघिपछि भने निकै कम मात्रामा पानी आउँछ । आलोपालो गरेर खेतमा पानी लगाउन बाध्य भएको अध्यक्ष गैह्रेले बताए । कुलो मर्मतका लागि उपभोक्ता समितिले सरकारसँग माग गरेको छ ।

साथै मर्मतका लागि वडा कार्यालयसँग पनि माग गरेको वडासदस्य देवीराज अधिकारीले बताए । ‘बढी बजेट आवश्यक परेकाले वडाले पनि प्रदेश सरकारसँग माग गरेको छ,’ उनले भने, ‘प्रदेश सरकारले प्राथमिकता राखेर बजेट विनियोजन गर्नुपर्छ । सिँचाइ अभावले किसान मारमा परेकोप्रति ध्यान दिनुपर्छ ।’ सिँचाइ सुविधा बाह्रै मास पुर्‍याउन सके तीन खेतीगर्न पाइने उनले बताए ।

कुलो मर्मतका लागि उपभोक्ता समितिले प्रदेश सरकारसँग निवेदन दिएको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत जलस्रोत तथा ऊर्जा महाशाखा गण्डकी प्रदेशका प्रमुख हरिदत्त पौडेलले बताए । निवेदनका आधारमा प्राविधिकले स्थलगत निरीक्षण सकेका छन् । प्रतिवेदन तयारपछि योजना कार्यान्वयनका लागि डिभिजन सिँचाइ कार्यालयमा पठाउने उनले बताए ।

भिमाद–५ स्थित मालेबगर सिँचाइ आयोजना पनि जीर्ण हुँदा सिँचाइबाट किसान वञ्चित छन् । २०४३ सालमा निर्माण गरेको बाँधकुलो जीर्ण छ । मालेबगरमा २० हेक्टर खेतीयोग्य जमिन छ ।

प्रकाशित : जेष्ठ २२, २०७६ ११:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्