कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बाढी पूर्वसूचना अलपत्र

म्याग्दी — बेनी बजारसँगै कालीगण्डकी र म्याग्दी नदी तटका बस्तीलाई बाढीबाट जोगाउन जडित पूर्वसूचना प्रणाली अलपत्र छ । 
अन्नपूर्ण गाउँपालिका–३ तातोपानी छेउ कालीगण्डकी नदीमा राखिएको उपकरणलाई बेनी–जोमसोम सडक आयोजनाले सडक विस्तार गर्ने क्रममा डोजर लगाएर नष्ट गरिदिएको छ ।

मंगला गाउँपालिका केन्द्र बाबियाचौरनजिक म्याग्दी नदीमा राखिएको पूर्वसूचना प्रणाली पनि अलपत्र छ । बाढीपहिरोको सम्भावित अवस्थामा उक्त प्रणालीले साइरन बजाउँथ्यो, जसलाई सुन्नेहरू जीउधनको सुरक्षामा लागिपर्न समय पाउँथे ।


‘बेनी–जोमसोम–कोरला सडक विस्तारले गर्दा बाढीको पूर्वसूचना प्रणाली लथालिंग भएको छ,’ पूर्वसूचना सम्पर्क व्यक्ति श्याम रानाले भने, ‘सरोकारवालाको बेवास्ताले सोलार प्यानलसहित केही उपकरण चोरी पनि भएका छन् ।’


नियमित रेखदेख, मर्मतसम्भार र नियमन नहुँदा समस्या परेको हो । स्थानीय सरकार र जिल्लाका सरोकारवाला निकाय यसबारे अनभिज्ञ छन् । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र (डीओसी), जिल्ला दैवीप्रकोप उद्धार समिति, प्रमुख जिल्ला अधिकारी र विपद्मा खटिने सुरक्षा निकाय पनि प्रणाली बिग्रिएका विषयमा थाहै नपाए जसरी मौन छन् ।


‘बाढीको पूर्वसूचना कसरी लिने, दिने भन्ने प्रणालीको जानकारी छ । म्याग्दी र कालीगण्डकीमा अर्ली वार्निङ साइरन जोडिएकोबारे मलाई थाहा छैन,’ प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले भने, ‘सिस्टमलाई थप व्यवस्थित गर्न स्थानीय सरकारसँग सहकार्य गरेर एक्टिभ गराउनु आवश्यक छ ।’


एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) को उपकरण सहयोगमा ली–वर्ड, बहुसरोकारवाला वन कार्यक्रम विशेष पहल परियोजना, वातावरण संरक्षण शिविर (एक्का) र दिगो इको इन्जिनियरिङले म्याग्दी खोलाको बाबियाचौर, कालीगण्डकी नदी र तातोपानीमा यो प्रविधि जडान गरिएको थियो ।


नदी किनारमा जडित ट्रान्समिसन युनिट र नजिकको प्रहरी चौकीमा राखिएको रिसिभर ट्रान्समिसन युनिटले बाढीको अवस्थालाई सँगै जोडिएको डाटा डिकोडर र ट्रान्समिटरमा पठाई पहिलो साइरन १ मिनेटसम्म र खतराको साइरन लगातार बज्ने व्यवस्था मिलाएको छ । बाढीको संकेत गर्ने पहिलो साइरन बजेपछि बाढी थप ५० सेन्टिमिटर बढ्यो भने पूर्ण खतराको साइरन बज्छ ।


‘धौलागिरी र मालिका गाउँपालिकाको सीमाक्षेत्रमा पर्ने फेदीस्थित म्याग्दी खोलामा राखिएको सेन्सर तथा उपकरण यथावत् छ । तर चल्ने/नचल्ने यकिन छैन । हामीले पनि टेस्ट गरेका छैनौं,’ सम्पर्क व्यक्ति मोतीराज उपाध्यायले भने, ‘बर्खा लाग्नुअघि नै सिस्टमले काम गरे/नगरेको यकिन गर्न जरुरी छ । जिल्ला दैवीप्रकोप समितिले पनि चासो राख्नु आवश्यक छ ।’

प्रकाशित : जेष्ठ १९, २०७६ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?