१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

डढेलो नियन्त्रण सिक्दै गाउँले

अपनाउनुपर्ने सतकर्ता र आगलागी भइहालेमा नियन्त्रण कसरी गर्ने भन्ने तरिका थाहा पाउन प्रयोगात्मक अभ्यास भएको हो
आश गुरुङ

लमजुङ — वनमा एक्कासि आगो लाग्छ । देख्ने एक जनाले गाउँलेलाई भन्छ । गाउँले सबै जुटेर घटनास्थलतर्फ लाग्छन् । 
गाउँलेले वनको पातपतिंगर फालेर अग्निरेखा कोर्छन् । वनको तल्लो भागको ३ ठाउँबाट आगो बढ्दै छ ।

डढेलो नियन्त्रण सिक्दै गाउँले

सुरक्षित कपडा, पञ्जा, बुट, हेल्मेट लगाएर गाउँले पानीको ब्याग बोकेर आगो निभाउन आइपुग्छन् । अन्य गाउँले हँसियाले काँचो स्याउला काट्दै अघि बढ्दै आगो निभाउँछन् । केही पानी फालेर आगो निभाउँदै छन् । हावा बगेको दिशाबाट आगो निभाउँदै जान्छन् । अग्निरेखा कोरिएकाले आगो माथि फैलिन पाउँदैन ।


लागिरहेको आगो पनि छिनभरमै निभ्छ । जंगल सखाप हुनबाट जोगिन्छ । बेंसीसहर नगरपालिका २, गैरी नजिकैको जग्रेनी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण अभ्यास चलिरहँदा वरपरका मानिससमेत झुम्मिन्छन् । उनीहरू साँच्चिकै डढेलो लागेको रहेछ भनी हेर्न आएको वन उपभोक्ता समितिकी अध्यक्ष नानुमाया थापाले बताइन् ।


‘गर्मीयाम र सुक्खायाममा डढेलो लाग्ने भएकाले डढेलो नियन्त्रण अभ्यास सिक्दै थियौं । हारगुहार गरेको सुनेर छिमेकी के भयो भनी हेर्न आए,’ उनले भनिन्, ‘अभ्यासका लागि सल्याइएको आगो निभाउन उहाँहरूले पनि सहयोग गर्नुभयो ।’

डढेलोसम्बन्धी अपनाउनुपर्ने सतर्कता र लागिहालेमा नियन्त्रण कसरी गर्ने भन्ने तरिका उपभोक्ताले प्रयोगात्मक अभ्यास गरेका हुन् । डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थलगत अभ्यासले पछि वनमा आगो लागेमा अपनाइने तरिकाबारे थाहा पाएको उपाध्यक्ष थापाले बताइन् ।


डिभिजनल वन अधिकृत मोहनराज काफ्लेले आगो लाग्ने कारण र नियन्त्रण गर्ने तरिकाबारे सिकाएका थिए । डढेलो लाग्दा निभाउन समूहमा जानुपर्ने, सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गर्नुपर्ने उनले बताए ।


वन समूहकी कोषाध्यक्ष निर्मला थापाका अनुसार वनजंगलमा डढेलो लागेको समयमा डराउने र कराउनेभन्दा पनि प्रयोगात्मक रूपमा अघि बढ्नुपर्नेबारे जानकारी पाइएको छ । ‘वनमा आगो लाग्यो । के गरौं, कसो गरौं हुन्थ्यो । आगो निभाउन सकिँदैन होलाजस्तो लाग्थ्यो,’ उनले भनिन्, ‘आगो निभाउनेबारे तालिम लियौं । आफू कसरी सुरक्षित हुनुपर्छ र आगो कसरी निभाउनुपर्छ भनेर जान्यौं ।’ सचिव सोभिता रानाले वनजंगलमै गएर आगलागी नियन्त्रणबारे गरिएको अभ्यासले आगामी दिनमा नियन्त्रणमा लिन सकिने दाबी गरे । ‘वनलाई कसरी सुरक्षित गर्नुपर्छ भन्ने सिकेका छौं । अरूलाई पनि सिकाउनेछौं,’ उनले भने ।


काफ्लेले चैतदेखि जेठ महिनासम्म उपभोक्तालाई वनजंगल जोगाउने तरिकाबारे अभ्याससहित सिकाउँदै आएको बताए । ‘गर्मी र सुक्खायाममा बनमा डढेलो लाग्ने सम्भावना बढी हुन्छ । होसियारी अपनाउनुपर्छ’ उनले भने, ‘हामीले अभ्यास गराएर होसियारी अपनाउन सचेतना जगाएका छौं । उपभोक्ता समितिलाई आवश्यक सामग्री सहयोग गर्दै आएका छौं ।’ कार्यालयले विभिन्न अग्निनिरोधक सामग्री उपभोक्तालााई दिएको छ ।

प्रकाशित : जेष्ठ १३, २०७६ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?