१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सुरुङमार्ग कथा मात्रै

प्रतीक्षा काफ्ले

स्याङ्जा — पोखरासँग छोटो दूरीमा जोडिन सदरमुकाम पुतलीबजारमा सुरुङमार्गको योजना बनेको वर्षौं भयो । यो विषयमा बहस थुप्रै हुन्थ्यो । यतिबेला भने यसको कुनै चर्चै हुन्न । 

सिद्धार्थ राजमार्गको दूरी लामो र बढी घुम्ती भएका कारण आवतजावत असहज भएको भन्दै स्याङ्जाको गुणीखोलादेखि पोखराको छोरेपाटनसम्म सुरुङमार्ग बनाउने योजना धेरै अघि आएको थियो । तर यसले अहिले कुनै महत्त्व पाएको छैन ।


जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नवराज सुवेदीले केही वर्षअघि सुरुङमार्गको डीपीआर बनाउन लागे पनि अहिले सेलाउँदै गएको बताए । ‘सरकारले सुरुङमार्गको छुट्टै कार्यालय स्थापना गरेको छ,’ उनले भने, ‘यस विषयमा हामीले नगरपालिकामा पनि कुरा उठाइरहेका छौं । कार्यालय नै स्थापना गरिएकाले अब यसको काम अगाडि बढाउनुपर्‍यो ।’ उनले पछिल्लो समय नेतृत्व लिएर अघि बढ्ने नहुँदा यसतर्फ कसैको ध्यान पुग्न नसकेको जनाए ।


विगतका निर्वाचनमा विभिन्न पार्टी र उम्मेदवारले सुरुङमार्गलाई चुनावी एजेन्डा बनाउँदै आएका थिए । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल, संघीय सांसद नारायण मरासिनी, पूर्वसांसद राजु थापा, पूर्वमन्त्री गोपालमान श्रेष्ठलगायतको मुख्य चुनावी एजेन्डा यही सुरुङमार्ग हो ।


केन्द्रीयस्तरमा बहस चलाउने कोही नहुँदा योजना ओझेलमा परेको स्थानीयको भनाइ छ । ‘जिल्लाको नेतृत्व टिमले केन्द्रबाट पहल गर्ने हो भने योजना बन्छ,’ स्थानीय विश्व पौडेल भन्छन्, ‘जिल्लाले केन्द्रीय नेतृत्व कहिल्यै गुमाएको छैन । यसतर्फ ध्यान नपुर्‍याइएको मात्र हो ।’ ठूलो बजेट आवश्यक पर्ने भन्दै नेताहरू तर्किने गरेको जिल्लावासीको भनाइ छ । सुरुङमार्गले जिल्लाको विकासमा टेवा पुर्‍याउने विश्वास स्थानीयको छ ।


५५ वर्षअघि निर्माण भए पनि सिद्धार्थ राजमार्ग मापदण्डअनुरूप फराकिलो छैन । उक्त राजमार्ग निर्माणपछि मात्र सडक ऐन लागू भएका कारण मापदण्डअनुरूप बन्न नसकेको हो । राजमार्ग फराकिलो बनाउने माग यथावत् राखेर स्याङ्जालीले सुरुङमार्गको योजनासमेत अघि सारेका हुन् ।


‘बुटवल र पोखराको बीचमा परे पनि धेरै घुमाउरो र साँघुरो राजमार्गका कारण स्याङ्जामा यथोचित विकास फस्टाउन सकेको छैन,’ सुवेदीले भने । सिद्धार्थ राजमार्ग २०२२ सालमा निर्माण सुरु गरेर २०२८ सालमा सम्पन्न भएको थियो । ०३१ सालमा मात्र सडक ऐन बनेकाले राजमार्ग मापदण्डअनुरूप नभएको हो ।


एक घण्टाको दूरी १० मिनेटमै

अहिले स्याङ्जा बजार र पोखरासम्मको दूरी ३० किलोमिटर र सवारीलाई समय कम्तीमा एक घण्टा लाग्छ । सुरुङमार्गले ५ किलोमिटर दूरी छोटिएर यात्रा पनि १० मिनेटको हुने जनाइएको छ । सुरुङमार्गलाई तत्कालीन जिविसले जिल्लाको गौरवको आयोजनाको रूपमा पारित गरेको थियो ।


‘पोखराको नजिनक भएर पनि भौगोलिक कठिनाइले स्याङ्जा दुर्गमजस्तो भएको छ,’ जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दास भन्छिन् । सुरुङमार्ग निर्माणमा २० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित : जेष्ठ १३, २०७६ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?