फरक स्वादको 'ताँजे होमस्टे’

आश गुरुङ

लमजुङ — घरबास (होमस्टे) मा प्रायः खानपिनका परिकार र स्वाद एकै प्रकारको हुन्छ । जिल्लाको विकट ताँजे गाउँ आउने पर्यटकलाई भने स्थानीयले बाह्रै महिना फरक स्वाद खुवाउन थालेका छन् ।

फरक स्वादको 'ताँजे होमस्टे’

समूहमा आउने पर्यटकलाई उनीहरूले कम्तीमा २२ वटा छुट्टाछुट्टै स्वादका परिकार खुवाउने गरेका छन् । दोर्दी गाउँपालिका ६, ढोडेनीको ताँजेवासीले पर्यटकलाई खुवाउने परिकारमध्ये धेरैजसो वनजंगल र पाखोबारीमा पाइन्छ । जंगली च्याउ, टुसादेखि सागपात खुवाउने गरेका छन् । अन्य गाउँ तथा होमस्टेमा नपाइने र नखुवाइने परिकार समेत उनीहरूले पर्यटकलाई खुवाउने गरेका छन् ।


सेतो चामल, मार्सी चामलको भात, मकै र कोदोको ढिँडो, रोटी, लोकल खसी, कुखुरा र भेडाको मासु, लोकल मदिरा तथा गुन्द्रुक भने बाह्रै महिना पाइन्छ । फागुन, चैत, वैशाख र जेठमा कुरिलो, ठोस्ने, रायो, चिम्टे, जरे साग, नाङले साग, खोलेसाग, निउरो, बडमले खुवाउने गरिएको छ ।


असार, साउन, भदौ र असोजमा टुसा, सिमी, बोडी, च्याउ साथै कात्तिक, मंसिर, पुस र माघमा कालो, सेतो, रातो भटमास, फुलेको सिस्नो खुवाउने गरिएको उनीहरूले बताए । यी सबै परिकारलाई सुकुटी बनाएर जुनसुकै बेला खान सकिन्छ ।


गाउँमा ५५ घर छन् । गाउँमा प्रायः घले समुदायको बसोबास छ । भूकम्पपछि पुनर्निर्माण गरिएका घरलाई स्थानीयले होमस्टेका रूपमा सञ्चालनमा ल्याएका हुन् । होमस्टे सञ्चालक मेखकुमारी घलेका अनुसार २ वटा कोठामा ४ बेड राखिएको छ । शौचालय र बाथरुम बनाइएको छ । उनीसँगै ३ घरमा होमस्टे सञ्चालन गरिएको ताँजे होमस्टे व्यवस्थापन समितिका अध्यक्ष टकलाल घलेले बताए । उनका अनुसार ३ घरबाट सुरुवात गरिए पनि कम्तीमा १० घरमा सञ्चालन गरिने उनले बताए ।


अध्यक्ष घलेका अनुसार खाद्यान्न र तरकारी बेसाउनु पर्दैन । आलु, गोलभेंडा, सबैखाले सागसब्जी गाउँमै फल्छ । ‘विकट गाउँ भएर पनि होला, सहरबजारका खाद्यान्न हाम्रोमा आउँदैन । हामी पनि प्रयोग गर्दैनौं । गाउँघरमा जे फल्छ, त्यही खान्छौं ।’


होमस्टे सञ्चालक उरमजंग घलेका अनुसार गाउँमा आउने पर्यटकलाई घाँटु, सोरठी, झ्याउरे लगायत लोपोन्मुख संस्कृति देखाइन्छ । हिमचुली र चित्रे लेकले गाउँको सुन्दरता थपेको छ । प्रुमु झरना, क्यामे झरना हेर्न लायक छन् । मौसममा हुने भीरमहले पर्यटकलाई लोभ्याउँछ ।


दोर्दी गाउँपालिका– ६ का वडाध्यक्ष नन्दराज घलेका अनुसार ताँजेबाट ऐतिहासिक तथा धार्मिकस्थल बराहपोखरी, दूधपोखरीलगयत ठाउँ जान सकिन्छ । हिमचुली बेसक्याम्प समेत जान सकिने भएकाले विदेशी पर्यटकसमेत आउने उनले बताए ।


गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले ताँजेमा होमस्टे सञ्चालन गर्न २ लाख रुपैयाँ विनियोजन गरिएको बताए । ‘हामीले दोर्दीमै पहिलो होमस्टे ताँजेमा सुरु गरेका छौं । गाउँमा कृषि उत्पादनलाई बढावा दिएर अन्य गाउँमा पनि होमस्टे सञ्चालन गर्ने उद्देश्य राखेका छौं’ उनले भने । गण्डकी प्रदेश सभा सदस्य धनञ्जय दवाडीले प्रदेशको समृद्धि पर्यटकबाटै हुने दाबी गरे ।


‘प्रदेश सरकारले पर्यटनलाई समृद्धिको पहिलो आधारका रूपमा राखेको छ । हामी पर्यटनबाटै प्रदेशको समृद्धि र देशको समृद्धि चाहन्छौं’ उनले भने । पूर्वसांसद जमिन्द्रमान घलेले ग्रामीण पर्यटनबाट ग्रामीण अर्थतन्त्रलाई सबल बनाउन सकिने बताए ।


जिल्लाको पूर्वी क्षेत्रमा पर्ने ताँजे गाउँसम्म जिप जान्छ । बेंसीसहर–डुम्रे सडक खण्डको बेंसीसहर–१, उदीपुरसम्मको ८ किलोमिटर पक्की सडक हिँडेपछि ३० किलोमिटरको कच्ची सडकको यात्राबाट नौथर शेरा हुँदै ताँजे पुगिन्छ । भोटेओडारबाट दोर्दीको नौथर शेरा भएर पनि ताँजे गाउँ पुग्न सकिन्छ । ताँजे पुग्न बेंसीसहरबाट साढे ३ घण्टा लाग्छ ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?