कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बागलुङमा एकतर्फी ‘नो पार्किङ’

बागलुङ — सडकको दुवैतर्फ पार्किङ गर्दा दुर्घटनाको खतरा बढेको तथा नगरक्षेत्र कुरुप भएको भन्दै बुधबारदेखि एकतर्फी पार्किङ सुरु गरिएको छ । बागलुङ नगरपालिका, जिल्ला प्रशासन, प्रहरी, ट्राफिक प्रहरी र बागलुङ उद्योग वाणिज्य संघसमेतले अभियान चलाएका हुन् । यो अभियानअनुसार हरेक साताको पहिलो ३ दिन बायाँ र पछिल्लो ३ दिन दायाँतर्फ पार्किङ गर्न पाइनेछ । 

बागलुङमा एकतर्फी ‘नो पार्किङ’

ट्राफिक व्यवस्थापन अभावले सदरमुकामका गल्लीमा समेत घण्टौं सवारी जाम हुँदा पैदल यात्रीले सास्ती खेप्न बाध्य छन । सदरमुकामका चोक व्यवस्थापन गर्ने र ट्राफिक चिह्न राख्ने गरी बनाएको योजनाका लागि बजेट र सामाग्री जुटाएपछि बुधबारदेखि काम थालिएको जिल्ला ट्राफिक प्रमुख सुकबहादुर विकले बताए ।


‘कार्यक्रम बनाएको ६ महिनाअघि हो, बल्ल सामग्री उपलब्ध भएकाले काम थालियो,’ विकले भने, ‘अब बजार व्यवस्थित बनाउने काममा खटिन्छौं ।’ हार्डवेयर र होलसेल पसलका सामान झार्न सडकमै ठूला सवारी पार्किङ गर्दा बढी सास्ती भएको छ । दुई पाङ्ग्रे सवारी भने जथाभावी राखिन्थ्यो । ‘दुईतर्फ ट्रक पार्किङ गर्दा पैदल यात्री पनि हिँड्न नसक्ने, गुडेका सवारी पनि दुर्घटनामा पर्ने खतरा बढ्यो,’ विकले भने, ‘सवारी छन् भनेर लापरबाही गर्न भएन ।’ छेउका नालीसमेत च्यापेर उनीहरूले सवारी रोक्ने गरेको उनले बताए ।


दूरसञ्चार चोकदेखि ट्राफिक चोक, पुरानो सिनेमा रोड, हरिशंकर रोड, लोकतान्त्रिक चोकलगायतमा ठूला ट्रकले घण्टौं रोक्दा आवागमनमा समस्या परेको थियो । ठूला सवारीले सिमेन्ट, रड, खाद्यान्न लगायतका सामग्री लोड अनलोडका लागि घण्टौं बाटो अवरुद्ध गर्दै आएका छन् ।


अस्पतालका लागि आएका एम्बुलेन्सले बाटो नपाएर घुमाउरो बाटो हिँड्न बाध्य भएपछि ट्राफिकले कार्ययोजना बनाएर नगरपालिकामा बुझाएको थियो । नगरपालिकाले ३ लाख रुपैयाँ दिएर सामग्री खरिद गरिएको पूर्वाधार विकास समितिका संयोजक ध्रुबबहादुर केसीले बताए । ‘पहिलो चरणमा एकतर्फी पार्किङ बनाएका छौं, अब अन्य व्यवस्थापनका काम गर्छौं,’ केसीले भने, ‘जेब्रा क्रस, कन्भेक्स लेन्स राख्ने र निजी विद्यालयका बस रोक्न स्थान तोक्ने काम गरिनेछ ।’


बजारमा जेब्राक्रस, फुटपाथ छुट्ट्याउने, ठेला गाडा व्यवस्थापन तथा घुम्ती र चोकमा ऐना राख्ने काम पनि सुरु भएको हो । दर्जन बढी चोकमा जेब्रा क्रस राख्नुपर्नेछ । विद्यालय, अस्पताल र क्याम्पसमा हर्न निषेध गर्ने नगर प्रमुख जनकराज पौडेलले बताए । ‘लागत स्टिमेट बनाएर तत्कालीन र दीर्घकालीन व्यवस्था गर्दैछौं,’ पौडेलले भने, ‘बाहिरबाट आएका पर्यटकले नाक खुम्च्याउने व्यवस्था हटाउँछौं ।’ आफ्नै प्रहरीसमेत राखे पनि नगरपालिकाले फुटपाथ व्यवस्थापन र अबरोध हटाउने काम गरेको थिएन । केही समयअघि फुटपाथका सामान हटाउने तयारी गर्दा व्यवसायीले अवरोध गरेका थिए ।


पूर्वाधार विकास समितिले उद्योग वाणिज्य संघका अध्यक्ष र महासचिवसमेत सदस्य रहेको बजार व्यवस्थापन कार्यदल गठन

गरेको छ । कार्यदलकै अगुवाइमा बजारमा सिसी क्यामेरा राख्नेसहितका कार्यक्रम बनाएको हो ।


नगरपालिकाले चालु वर्षभिक्रै केही चोक सुधार गर्न बजेट विनियोजन गरेर निर्माण र मर्मतको काम गरिरहेको छ । सुधार कार्यत्रममा फराकिलो बनाउने, विद्युत्का पोल हटाउने र कल्भर्ट निर्माणको काम भएको हो ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?