सत्तरी प्रतिशत भूकम्पपीडितका घर बने

हरिराम उप्रेती

गोरखा — भूकम्पको केन्द्रविन्दु जिल्लामा ५० हजार २ सय ६२ निजी आवासका घर बनेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार एकाइको कार्यालयका अनुसार पुनर्निर्माणको यो संख्या ७०.७५ प्रतिशत हो । 

फाइल तस्बिर

५ हजार ३ सय ३१ प्रबलीकरण (मर्मत) तथा ६५ हजार ७ सय ६० पुनर्निर्माण गरी ७१ हजार ३८ भूकम्पपीडित लाभग्राही सूचीमा समावेश रहेका एकाइका सामाजिक परिचालक राजकुमार ढकालले बताए ।

यीमध्ये ६४ हजार ७ सय ९६ लाभाग्राहीले पहिलो किस्ता र ५८ हजार ४ सय ८१ ले दोस्रो किस्ताको रकम बुझिसकेका छन् । अनुदान सम्झौता गर्दा पहिलो किस्ताको ५० हजार, डीपीसी सकेपछि दोस्रो किस्ताको १ लाख ५० हजार र घर निर्माण सकेपछि अन्तिम तेस्रो किस्ताको एक लाख पाउने प्रवाधान छ । बनिसकेका घरले तेस्रो किस्ता लगिसकेका छन् ।

निर्माण सकेसँगै टहरोको बसाइ त्यागेर पीडित नयाँ घरमा सरेका छन् । ‘बल्लतल्ल बनाएको घरमा सर्न किन ढिला गर्नु,’ सहिद लखन गाउँपालिका-९ नाम्जुङ धुसेनीका विष्णु विकले भने । सरकारी अनुदानमा थपथाप गरी ९ लाख खर्चिएर घर निर्माण सकेको उनले बताए । सरकारले दिएको अनुदानले दुईकोठे घर पनि नबन्ने उनको अनुभव छ ।

निर्माण सामग्री र कामदारको ज्याला महँगो हुँदा लागत बढेको उनको भनाइ छ । ‘ढुंगामाटोको प्रयोग गरेर एककोठे घर ३ लाखले बन्दोरहेछ,’ उनले भने, ‘मनमा सन्तुष्ट हुने गरेर घर बनाए ऋण नखोजी सुखै छैन ।’ भूकम्पले ढुंगामाटोको घर बढी नै क्षति गरेकाले पीडितले पुरानै प्रकृतिको घर निर्माणमा मन नदेखाएको उनले बताए । ‘सिमेन्टकै घर बनाउने भन्छन्,’ उनले भने, ‘सिमेन्ट, बालुवा, इँटा सबै किन्दा पनि बढी पैसा लागेको हो ।’

केही पीडित भने किस्ता निकासामा ढिलाइ भएको भन्दै सदरमुकाम धाउन बाध्य छन् । छाना छाएपछि तेस्रो किस्ताको रकम निकासा हुने प्रवाधान छ । तर सिरानचोक गाउँपालिका-६ गाँखुका विष्णु विक किस्ता रकम नपाएको गुनासो गर्दै सदरमुकाम धाइरहेका छन् ।

‘इन्जिनियरको आन्दोलनले किस्ता निकासामा ढिला भएको बुझ्यौँ,’ उनले भने, ‘गारो लगाएपछि दोस्रो किस्ता पाइन्थ्यो, मैले वैशाख ८ गते धुरी नै छाइसके, किस्ता निकासा भए सरसापट तिर्ने र घर फिनिसिङ सकेर सरिहाल्थे ।’ घर निर्माणले पूर्णता नपाउँदा भूकम्पले चर्किएको पुरानोघरमा बसेको उनले बताए ।

बारपाक सुलिकोट अगाडि
११ स्थानीय तह रहेको जिल्लामा बारपाक सुलिकोट गाउँपालिका निजी आवास पुनर्निर्माणमा अगाडि छ । ७ हजार २ सय २ लाभग्राहीमध्ये ६ हजार एक सय ८७ घर निर्माण सम्पन्न भएका छन् । उक्त गाउँपालिकामा ८५ प्रतिशत पुनर्निर्माण सकिएको ढकालले बताए । गण्डकी गाउँपालिका अन्य स्थानीय तहको तुलनामा पछाडि छ । ५ हजार ६ सय १९ लाभग्राही रहेको गण्डकीमा ३ हजार ३८ ले मात्र घर निर्माण सकेर तेस्रो किस्ताको रकम लगेका छन् ।गाउँपालिकाको ५४.०५ प्रतिशत पुनर्निर्माण सकिएको हो ।

६ हजार ९ सय २४ लाभग्राही रहेको आरुघाट गाउँपालिकामा ५ हजार ५ सय ३८ घर निर्माण सम्पन्न भएका छन् । यो ७९.७८ प्रतिशत हो । अजिरकोट गाउँपालिकामा ८३ प्रतिशत पुनर्निर्माण सकिएको छ । ४ हजार एक सय २६ लाभग्राहीमा ३ हजार ४ सय ४३ ले घर निर्माण सकेर तेस्रो किस्ता बुझिसकेका छन् ।

६ हजार ८ सय ३६ लाभग्राही रहेको भीमसेन थापा गाउँपालिकाले ५ हजार एक सय १४ घर निर्माण सम्पन्न गरेर ७४ प्रतिशत प्रगति गरेको छ । दुर्गमको चुमनुब्री गाउँपालिकामा २२ सय ७५ लाभग्राही रहेकोमा एक हजार ४ सय ५३ ले घर बनाइसकेर ६३ प्रतिशत पुनर्निर्माण सकिएको एकाइले जनाएको छ । धार्चे गापामा ६८ प्रतिशत पुनर्निर्माण सकिएको छ ।

४ हजार एक सय ६९ लाभग्राहीमध्ये २ हजार एक सय ४४ ले तेस्रो किस्ता लगेका छन् । पालुङटार नगरपालिकामा ९ हजार ७ सय ९८ लाभग्राहीमा ५ हजार ६ सय ५३ ले घर निर्माण सम्पन्न गरेका छन् । १० हजार एक सय ९० लाभग्राही रहेको गोरखा नगरपालिकामा ७ हजार ५ सय ४२ घरनिर्माण सकेर तेस्रो किस्ता बुझेका छन् ।

सहिद लखन गाउँपालिकाका ७ हजार ६५ लाभग्राही रहेकोमा ४ हजार ७ सय ३० ले घर निर्माण सकेका छन् । ६७.९५ प्रतिशत पुनर्निर्माण सकिएको एकाइले जनाएको छ । सिरानचोक गाउँपालिकामा ६ हजार ८ सय ३४ लाभग्राहीमध्ये ४ हजार ७ सय २० ले घर निर्माण सकेका छन् । यहाँका केही वडाको पनि पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ ।

मान्वुले ९३.४६, घ्याच्चोकले ९२.०५, गुम्दाले ९१.६५ र ताकुकोटले ९३.६६ प्रतिशत पुनर्निर्माण सकेका छन् । आरुचनौटेमा ४५.६२, सिर्दिबासमा ३८.२१, उहियाको ४७, दर्बुङको ४४ मकैसिङमा ४२ रकेरौजाले ३६ प्रतिशत मात्र पुनर्निर्माण सकेका छन् ।

एक सय ७३ को किस्ता फिर्ता
पहिलो किस्ताको रकम बुझेका एक सय ७३ ले रकम फिर्ता गरेका छन् । ‘सरकारी अनुदान बुझेका केहीको घर संघसंस्थाको सहयोगमा पनि बनेका छन्, यस्ता लाभग्राहीले दोहोरो अनुदान लिन मिल्दैन,’ ढकालले भने । किस्ता फिर्ता गर्ने धेरैजसोले अन्यत्र बस्नयोग्य घर भएको कारण पेस गरेका छन् ।

प्रकाशित : जेष्ठ ८, २०७६ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्

न्यायको पर्खाइमा लालचनी र मुन्नी

पीडकलाई गाउँमै देखेर तर्सिन्छिन् लालचनी
भूषण यादव

वीरगन्ज — पर्साका लालचनी र मुन्नी न्याय पाउने पर्खाइमा छन् । अझ लाचनी यादवले पीडकलाई गाउँमै देखेर तर्सिने गरेको बताएकी छन् । उता मुन्नी खातुन घरेलु महिला हिंसाविरुद्धको अदालतको फैसलापछि पनि उनीमाथि कुटपिट रोकिएको छैन । 

पर्साको बहुदरमाई नगरपालिका ३ का ४७ वर्षीय चन्द्रिका यादवले पुर्ख्यौली सम्पत्तिबाट अंश नपाएपछि गत माघ दोस्रो साता जिल्ला अदालतमा काका टुँवर भनिने कुँवर यादवविरुद्ध अंश मुद्दा दर्ता गराए ।

अंशको मुद्दा दर्ता गरेको थाहा पाएपछि टुँवरका छोरा श्रीकिसुन यादव र नाति रामअयोध्या र रामायण यादवले गत फागुन २८ मा चन्द्रिकाको घरमै पुगेर कुटपिट गरेका थिए । एक्लो चन्द्रिकालाई ४/५ जनाले कुटपिट गरिरहेको देखेर उनकी छोरी लालचनी यादव बचाउन पुगिन् । २२ वर्षीय गर्भवती लालचनी कुटपिटबाट घाइते भइन् । छिमेकीले उपचारका लागि उनलाई वीरगन्जको नारायणी अस्पताल पुर्‍याए ।

चन्द्रिकालाई इलाका प्रहरी कार्यालय पोखरियाले दुई दिन थुनामा राख्यो । घटनाको वास्तविकता नबुझी प्रहरीले नेताको कुरामा लागेर चन्द्रिकालाई थुनेको स्थानीयले प्रहरीलाई जानकारी गराएपछि उनी थुनामुक्त भएका थिए ।

यता अस्पताल भर्ना भएकी लालचनी ४ दिनपछि घर फर्किन् । कुटपिट गर्नेमाथि प्रहरीले सामान्य अनुसन्धान पनि गरेन्, बरु पीडितलाई नै दुई दिन थुनामा राखेको स्थानीयको गुनासो छ । अत्यधिक रक्तश्राव र तल्लो पेट दुखेपछि चैत ११ मा लालचनी फेरि नारायणी अस्पताल भर्ना भइन् । चिकित्सकले उनलाई नेसनल मेडिकल कलेज रिफर गरे । चैत १२ मा मेडिकल कलेजमा उनको ६ महिनाको गर्भ तुहियो ।

चिकित्सकका अनुसार कुटपिटका कारण बच्चा पेटमै मरिसकेको थियो । कुटपिटकै कारण गर्भ तुहिएको भन्दै लालचनी र उनका बुवा चन्द्रिकाले पीडकविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा किटानी जाहेरी दिए ।

प्रहरीले जाहेरीको सत्यताबारे अनुसन्धान गरी निवेदन दिएको २५ दिनपछि वैशाख १७ मा मुद्दा दर्ता गरेको थियो । ‘एसपी साहेबले सबैको नाम नहाल्नुस् भनेकाले दुईजनाको नाममा मात्र मुद्दा दर्ता गरायौँ,’ चन्द्रिका भन्छन्, ‘मुद्दा दर्ता भएको पनि २० दिन नाघिसक्यो, पीडक गाउँमै घुमफिर गरिरहेका छन् ।’

कुटपिट गर्नेलाई गाउँमै निर्वाध रूपमा घुमिरहेको देखेर लालचनी देवी आफूलाई असुरक्षित महसुस गर्छिन् । ‘त्यस दिनको घटना सम्झिँदा आङ सिरिङ हुन्छ,’ उनले भनिन्, ‘बलियाले कुटा कमजोरले न्याय नपाउने रहेछन्, बुवा र मलाई पिट्नेहरू गाउँमै छन् । जिल्ला प्रहरी कार्यालयमा गुहार लगाएर थाकिसक्यौँ ।’

मुद्दा दर्ता भएकामध्येका एक रामअयोध्या यादव गाउँमै किराना पसल थापेर बसेका छन् । अर्का रामायण यादव ट्याक्टर चालक हुन् । स्थानीयका अनुसार यी दुवै शनिबार साँझसम्म गाउँमै देखिएका थिए । स्थानीयले उक्त मुद्दाको ‘प्रोग्रेस’ कहाँसम्म पुग्यो भनेर एसपीसँग जानकारी लिन खोज्दा उनले यस्ता कुरा सोधेर ‘इरिटेसन’ नगर्नुस् भनेर फोन राख्ने गरेका छन् । प्रहरी उपरीक्षक रेवती ढकालले दुबै फरार रहेको बताउँछन् ।

‘उनीहरूको बुवालाई बोलाएर छोरा कहाँ छन् भनेर सोधपुछ गरेका छौँ,’ एसपी ढकालले भने, ‘दुबै हेटौंडा पुगेको खबर छ ।’ खोजबिनमा प्रहरी निरन्तर लागिपरेको उनले दाबी गरे ।

मुन्नी पनि न्यायको पर्खाइमा
गत शुक्रबार घरेलु महिला हिंसाविरुद्ध पर्सा अदालतको फैसला आएपछि मुन्नी खातुन हर्षित थिइन् । अदालत गेट बाहिर आउनेबित्तिकै उनका ससुरा जालिम देवान र लक्ष्मी उप्रेतीको समूहले कुटपिट गर्‍यो । नजिकै रहेको वडा प्रहरी कार्यालय श्रीपुरले उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको महिला सेलमा पुर्‍यायो । ‘त्यहाँ पुगेर उप्रेतीले खातुनले पिटेको आरोप लगाइन्,’ खातुन भन्छिन्, ‘उनलाई प्रहरीले उपचार गराउन अस्पताल पठायो, मलाई नियन्त्रणमा राखे ।’

गत वर्ष विवाह भएपछि श्रीमान र उनको परिवारले घरेलु हिंसा गरिरहेको खातुन बताउँछिन् । जिल्ला अदालतले शुक्रबार घरेलु हिंसाविरुद्धको फैसला उनको पक्षमा गरेको थियो । श्रीमानको घरमा बसोबास गर्न, खाना लाउन दिन, कुटपिट नगर्न, शिष्ट सभ्य व्यवहार गर्न शारीरिक, मानसिक चोट पुगेको भएमा उपचार गर्न तथा पीडितको हित र सुरक्षाका निमित्त आवश्यक उपयुक्त व्यवहार गर्न विपक्षीको नाममा आदेश गरेको थियो ।

‘कुटाइ खाएपछि शुक्रबार साँझ शनिबार पुन: आउने गरी प्रहरीले छाडे,’ उनले भनिन्, ‘शनिबार दिनभरि बसाए अनि साँझ छाडे ।’ महिला सेलमा समेत महिला प्रहरीले कुटपिट गरेको उनको आरोप छ । महिला सेलमै उनी पटकपटक बेहोस भएको थिइन् ।

प्रकाशित : जेष्ठ ८, २०७६ ११:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्