कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

विपद् व्यवस्थापनमा समन्वय अभाव

दीपक परियार

लेखनाथ — बाढी र पहिरोबाट नेपालमा जति मानवीय क्षति हुन्छ, त्यति नै क्षति भूकम्पबाट हुन्छ । भूकम्प प्रविधि राष्ट्रिय समाजका अनुसार वार्षिक २ सय ७ जनाको भूकम्पका कारण मृत्यु हुन्छ ।

नेपाल भूकम्पको उच्च जोखिममा रहेको क्षेत्र भएकोले आगामी दिन अझै बढी धनजनको क्षति हुन सक्ने अनुमान गरिएको छ । आपसी समन्वय नहुँदा क्षतिमा बढोत्तरी भएको सरोकारवालले बताएका छन् ।


विपद प्रतिकार्य अभ्यास तथा अनुभव आदानप्रदानसम्बन्धी अन्तर्राष्ट्रिय तालिममा समन्वय अभावमा क्षति बढ्ने चिन्ता व्यक्त गरिएको छ । नेपाल सेना र अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्र कमान्डको संयुक्त आयोजनामा आइतबारदेखि पोखरामा तालिम सुरु भएको हो ।


तालिम उद्घाटन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले पर्याप्त जनचेतना र तयारीको अभावमा विपद् व्यवस्थान चुनौतीका रूपमा उभिएको बताए । विपद् जोखिम न्यूनीकरण व्यवस्थापन ऐन, राष्ट्रिय विपद् प्रतिकार्य कार्यढाँचाअनुसारको संरचना, प्रक्रिया र संयन्त्र बनाउने तयारी प्रदेश सरकारको रहेको उल्लेख गरे ।


‘संयुक्त अभ्यासले विपद् प्रतिकार्य तथा व्यवस्थापनमा प्रदेशको संरचना, प्रक्रिया र क्षमताको मूल्यांकन गर्न सहयोग पुग्नेछ,’ उनले भने, ‘विपद् र विपद्सम्बन्धी ज्ञान अभिवृद्धि गर्छ । सरोकारवालाबीचको बुझाइमा एकरूपता ल्याउँछ ।’


गण्डकीमा मुख्यमन्त्रीको नेतृत्वमा प्रदेशस्तरीय विपद् व्यवस्थापन समिति र त्यसलाई सहयोग पु¥याउने गरी आन्तरिक मामिला तथा कानुन मन्त्रीको अध्यक्षतामा विपद् व्यवस्थापन कार्यकारी समिति छ ।


जिल्ला र स्थानीय तह सम्भावित विपद्सँग जुध्न तयारी अवस्थामा रहेको उनको दाबी छ । प्रदेश सरकारले विपद् कोषमा हरेक वर्ष १ करोड रुपैयाँ छुट्याएको जानकारी उनले दिए । विपद् प्रतिकार्य र व्यवस्थापनमा प्रदेशको आत्मविश्वास बढाउन तालिमले सहयोग पुर्‌याउने उनको आशा छ ।


नेपाल सेनाका बलाध्यक्ष रथी गौरव तण्डुलले विपद् परेका बेला मानवीय सेवा गर्नका लागि आवश्यक छलफल गर्न अभ्यास तालिमको आयोजना गरिएको बताए । तालिमले विपद् व्यवस्थापनका लागि आवश्यक जनशक्ति, स्रोत तथा साधन परिचालन कार्यक्रमलाई प्रभावकारी बनाउन सहज बनाउने उनले जनाए ।


नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी जितबहादुर गुरुङले मुख्य समस्या सरोकारवालबीचको समन्वय नै भएको बताए । ‘विपद् व्यवस्थापनमा हामी धेरै सरोकारवाला छौं,’ उनले भने, ‘तर समन्वयकारी भूमिका हुन सकेको छैन । त्यसका लागि संयुक्त अभ्यास जरुरी छ ।’ तालिमले संघ, प्रदेश र स्थानीय तहको क्षमता विकासमा सहयोग पु¥याउने उनी बताउँछन् । यसअघिका संयुक्त तालिमका सिकाइले २०७२ को भूकम्पमा सहज भएको अनुभव उनले सुनाए ।


अमेरिकी दूतावासअन्तर्गत सुरक्षा सहयोग कार्यालय प्रमुख जोनाथन सोयरले विपद् व्यवस्थापनमा प्रदेशको भूमिका पनि उत्तिकै महत्वपूर्ण भएकोले यसपल्ट काठमाडौं बाहिर अभ्यास गरेको बताए । विपद् व्यवस्थापनमा अन्तर्राष्ट्रिय अभ्यासको अनुभव आदानप्रदानले एकअर्काबाट सिक्न मद्दत पुग्ने उनले जनाए ।


तालिममा नेपालसहित १३ मुलुकका सैनिक तथा विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत प्रतिनिधिको सहभागिता छ । यो तालिम प्रदेशस्तरमा भएको पहिलोपल्ट हो । ८ दिनसम्म चल्ने तालिममा नेपाल, अमेरिका, थाइल्यान्ड, भारत, चीन, मंगोलिया, श्रीलंका, बंगलादेश, क्यानडालगायत देशका सेनाको सहभागिता छ । कार्यक्रममा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सरोकारवाला संघसंस्थाका प्रतिनिधिसहित २ सय २० सहभागी छन् ।


तालिमको पहिलो र दोस्रो दिन विज्ञले कार्यपत्र प्रस्तुत गर्नेछन् । तेस्रो र चौथो दिन सहभागीलाई १० समूहमा विभाजन गरी सामूहिक छलफलमा सहभागी गराइन्छ । पाँचौं दिन पोखराका पर्यटकीय स्थलको अवलोकन, विदेशी र नेपाली सेनाबीच फेवातालमा डुंगा दौड प्रतियोगितालगायत गतिविधि छन् । छैटौं र सातौं दिन विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास हुनेछ ।


तालिममा पोखरा नजिकै भूकम्प आएर १९ हजारको मृत्यु भएको र १ लाख ६४ हजार घरमा क्षति पुगेको काल्पनिक घटना सिर्जना गरी खोज, उद्धार र राहत कार्यक्रमबारे व्यावहारिक अभ्यास हुने जनाइएको छ । बाढीले बगाएको हेलिकप्टर र जमिनबाट उद्धार, सडक र हवाई दुर्घटनामा परेकाको उद्धार, गाडी र हेलिकप्टरबाट राहत सामग्री वितरण, सेती खोँचमा डोरीबाट उद्धार, आगलागीबाट उद्धारलगायत अभ्यास तालिमका क्रममा हुनेछन् ।


पोखराका विभिन्न स्थानमा हुने यो अभ्यासमा विदेशी तथा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पोखरा विमानस्थल, नेपाल रेडक्रसलगायत मानवीय उद्धार कार्यमा संलग्न संस्था सहभागी हुनेछन् । तालिमको यो पाँचौं संस्करण हो । यसअघि सन् २०११, २०१३, २०१५ र २०१८ मा पनि तालिम भइसकेको छ ।

प्रकाशित : जेष्ठ ७, २०७६ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?