च्याउ खाँदा बालकको मृत्यु

कान्तिपुर संवाददाता

लमजुङ — च्याउ खाएर बिरामी पर्दा क्व्होलासोंथर गाउँपालिका ९, गिलुङ लौबारीका १० बर्षीय साजन क्षेत्रीको मृत्यु भएको छ । स्थानीयका अनुसार आमा तारा क्षेत्री र बुवा रामबहादुर क्षेत्री उपचारका लागि पोखरा गएको बेला छोरा साजन छिमेकी सुलबहादुर क्षेत्रीको घरमा बस्न लगाइएको थियो । 

सुलबहादुर र उनकी पत्नि सरिताले शुक्रबार गाउँ नजिकैको जंगलबाट च्याउ टिपेर ल्याएको र बेलुकी पकाएर खाएका थिए। च्याउ खाएका सबै शुक्रबार राति बिरामी परेपछि गाउँलेले उनीहरुलाई उपचारका लागि पोखरा पुर्‍याएका थिए। सुलबहादुर र सरिता साथै गम्भीर भएका उनीहरुका छोरा १२ बर्षीय मनतोष र छिमेकीका छोरा साजनलाई फेवासिटी अस्पतालमा पुर्‍याइएको थियो।

अस्पतालले ४ जनालाई काठमाडौं रिफर गरेपछि सोमबार काठमाडौंस्थित नेशनल लाइफ हस्पिटलमा भर्ना भएका थिए। उपचारमा खटिएका डाक्टरले साजनको उपचार सम्भव नभएपछि गाउँ फर्काएकोमा मंगलबार दिउँसो उनको मृत्यु भएको वडाअध्यक्ष नन्दजंग गुरुङले बताए। साजन गिलुङस्थित बुद्धोदय मावि कक्षा ५ मा पढ्थे।

मनतोषको अवस्था चिन्ताजनक रहेको अध्यक्ष गुरुङले बताए। मन्तोष कक्षा ७ मा पढ्छन्। सुलबहादुर र सरिताको अवस्था भने सामान्य अवस्थामा रहेको बुझिएको गुरुङले बताए।

उपचारमा संलग्न डाक्टरले च्याउ विषालु परेका कारण उनीहरु बिरामी भएको गाउँलेले बताएका छन्। घटनाबारे प्रहरीमा जानकारी आएको जिल्ला प्रहरी कार्यालयका डीएसपी यादव ढकालले बताए।

प्रकाशित : जेष्ठ १, २०७६ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्

७८ लाख धरौटी बुझाएर छुटे अख्तियारका पूर्वआयुक्त पाठक

कान्तिपुर संवाददाता

काठमाडौँ — विशेष अदालतको आदेशअनुसार ७८ लाख रुपैयाँ धरौटी बुझाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकले तारेखमा छुटेका छन् । ७८ लाख रुपैयाँ घूस बुझेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेपछि उनी बुधबार विशेष अदालतमा उपस्थित भएका थिए । 

अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले पाठकलाई ७८ लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको थियो । पाठकले धरौटी बुझाएपछि अदालतबाट छुटेका हुन् । अब उनले थुनामा नबसी आफूमाथिको आरोपको प्रतिवाद गर्न पाउने भएका छन् ।

प्रकाशित : जेष्ठ १, २०७६ १८:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्