भिमाद–रिसिङ श्रृंगपथ : ४ पटक म्याद थप, काम भएन

श्रृंगपथमा ओटासिलको काम ३ बर्ष अघि सकिनु पर्नेमा अझै ४ किमीमा ग्राभेलबाहेकको काम भएको छैन
प्रताप रानामगर

दमौली — तनहुँको भिमाददेखि रिसिङ जोड्ने श्रृंगपथको ओटासिलको काम ३ वर्ष अघिनै सकिनुपर्ने हो । पटकपटक म्याद थपे पनि ठेकेदारको लापरबाहीले कामको प्रगति भने हुन सकेको छैन । सडक स्तरोन्नति नहुँदा स्थानीयबासी र यात्रुले सास्ती खेप्नु परेको छ ।

भिमाद–रिसिङ श्रृंगपथ : ४ पटक म्याद थप, काम भएन

पटकपटक म्याद थप गर्दा पनि काम नभएको जिल्ला पूर्वाधार विकास कार्यालय नवलपुरका प्रमुख लक्ष्मी भण्डारीले बताए । ‘श्रृंगपथको ओटासिल गर्ने कार्य प्रगति नाजुक अवस्था छ,’ उनले भने, ‘थप गरिएको म्याद पनि सकिएको छ ।’


चोथौ पटक थप गरिएको म्याद गत कात्तिकमा सकिएको छ । अहिलेसम्म ४५ प्रतिशत मात्र काम भएको उनले बताए । रिसिङसम्मको १७ किलोमिटरमध्ये रिसिङतर्फको ४ किमी दुरी ओटासिल छ । अर्को ४ किमी सडकमा ग्राभेलको काम भए पनि वर्षाको पानीले बगाएको छ । नाली पनि केही मात्रामा बनेको छ ।

‘ठेकेदारलाई धैरैपटक म्याद थप गरियो, उनले भने, ‘तर, कामले गति लिएन । ठेक्का तोड्ने तयारीमा छौं ।’ ठेक्का तोड्नका लागि प्रक्रिया सुरु गरेको र कामको प्रगतिका बारेमा जानकारी गराउन पत्रपत्रिकामा सूचना प्रकाशन समेत गरिएको छ । ‘ठेकेदार कार्यालयमा आएर काम गर्ने प्रतिबद्धता जनाउँदै जाने गर्छन, उनले भने, ‘तर, काम गर्दैनन् ।’ सडक स्तरोन्नतिको जिम्मा स्वच्छन्द मना संयुक्त जेभीले लिएको हो ।


म्याद सकिएपछि ठेकेदार औपचारिक सम्पर्कमा नआएको ग्रामिण यातायात सुदृढीकरण कार्यक्रमका इन्जिनियर दिलिप उप्रेतीले बताए । ‘म्याद सकिएपछि ठेकेदार सम्पर्कमा छैनन्,’ उनले भने । लामो समयसम्म सडक स्तरोन्नति नहुँदा स्थानीय र यात्रुले सास्ती खेप्नुपरेको श्रृंगपथ माझकोट सडक खण्डका सचिव धनबहादुर थापाले बताए । ‘ठेकेदारको लापरवाही भयो,’ उनले भने, ‘तीन वर्षअगाडि सम्पन्न गर्नुपर्ने ओटासिल अझै हुन सकेको छैन ।’

उपभोक्ता समिति र स्थानीयले पटकपटक ठेकेदारलाई दबाव, सम्बन्धित कार्यालयमा डेलिगेसनदेखि सडक अबरुद्धसम्म गर्दा पनि सुनुवाइ नभएको स्थानीयले बताए । ठेकेदारले चरम लापरबाही गरेको र अब पनि म्याद थपेमा काम सम्पन्न गर्ला भन्ने नलागेको स्थानीयको भनाइ छ । ठेक्का तोडेर नयाँ प्रक्रियामा जादा उपयुक्त हुने भन्दै थापाले इमान्दार र समयमा काम सक्ने ठेकेदार कम्पनी छनौट गर्नुपर्ने बताए ।


दैनिक सयभन्दा बढी सवारी साधन चल्ने सडक हिउँदमा धुलाम्मे र बर्खायाममा हिलाम्मे हुन्छ । ग्रामिण सडक भएपनि सवारी साधनको चाप छ । यसले छेउछाउका बस्तीलाई ठूलो असर परेको छ । धुलोका कारण स्वास्वप्रश्वासमा समस्या देखिएको स्थानीय मायादेवी थापाले बताइन । ‘सडकको धुलोले घर पुरिन्छ’ उनले भनिन्, ‘धुलोले सास फेर्न पनि गाह्रो हुन्छ ।’ खाना र लत्ताकपडामा पनि धुलोले हैरानी पार्ने उनको भनाइ छ । ठेकेदारले समयमा बाटो बनाइदिए यस्तो समस्या हुन्थेन भन्ने उनलाई लागेको छ ।


निर्माण कम्पन्नी स्वछन्द मनाले भमादको पुरानो स्कुलदेखि रिसिङसम्म १७ किमी सडक ओटासिलको काम ०७३ असोज मसान्तमा सक्नुपर्थ्यो । १८ महिनाभित्र काम सक्नुपर्ने भनिए पनि पटकपटक म्याद थप गरिएको तर प्रगति भने नभएको हो । १० करोड ५८ लाखमा काम सक्नुपर्ने सम्झौता छ ।


‘श्रंगपथको ओटासिल गर्न संयुक्त रूपमा काम गर्ने भनेर ठेक्का लिइयो,’ ठेकेदार जयराम लामिछानेले भने, ‘पाटर्नरले धोका दिए ।’ ठेकेदार महेन्द्र अधिकारीले कामको सबै जिम्मा लिएर पनि जिम्मेवारी पूरा नगरेको र अहिले एक वर्षदेखि सम्पर्कमै नरहेको उनले बताए । आवश्यक कच्चा पदार्थको पैसा पनि क्रसर उद्योगलाई अधिकारीले नदिएको र यसले थप कच्चा पदार्थ उद्योग ल्याउन नपाएको उनको गुनासो थियो । म्याद सकिए पनि असार मसान्तसम्म देखिने गरी कार्यालयसंग प्रतिबद्धता गरेको उनले बताए ।


सडकको ट्र्याक २०२० सालमा खुलेको हो । अहिले तनहुँको भिमाद, रिसिङ, घिरिङ, पाल्पाको रामपुर, नवलपुरको डेढगाउँ जाने मुख्य प्रवेशद्धार मानिन्छ । यही सडक खण्डलाई गण्डकी प्रदेश सरकारले कोरलादेखि त्रिवेणी नाका जोड्ने प्रदेशको मुख्य सडकको रूपमा लिएको छ ।

प्रकाशित : जेष्ठ १, २०७६ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?