कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्व सम्पदामा सूचीकृतको पहल

मन्दिर विश्व सम्पदा सूचीमा समावेश भए विश्वभर परिचित हुने र पर्यटकको संख्यामा वृद्धि हुने विश्वास लिइएको छ 
हरिराम उप्रेती

गोरखा — प्रसिद्घ मनकामना मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न गाउँपालिकाले पहल गर्ने भएको छ । सहिद लखन गाउँपालिका– २ मा रहेको मन्दिर विश्व सम्पदा सूचीमा समावेश भए विश्वभर परिचित हुने र पर्यटकको संख्यामा वृद्घि हुने विश्वास लिइएको छ । 

विश्व सम्पदामा सूचीकृतको पहल

‘हाम्रो स्तरबाट हुने प्रारभ्भिक गृहकार्य थालिसकेका छौँ,’ गाउँपालिका अध्यक्ष रमेश थापाले भने, ‘सम्पदा सूचीमा समावेश हुनका लागि चाहिने आवश्यक मापदण्ड के के छन्, यसको अध्ययन गर्छौं ।’ सम्पदा सूचीमा समावेश हुन युनेस्कोको तोकेको मापदण्ड भने पूरा गर्नुपर्ने हुन्छ ।


विश्व सम्पदा सूचीमा समावेश हुनका लागि मन्दिर आसपास बनेका क्रंकिटका घरका ठाउँमा परम्परा झल्कने संरचना निर्माण पहिलो आवश्यकता हुनेछ । शनिबार गाउँपालिकाले आयोजना गरेको विज्ञ सम्मेलनका वक्ताले पनि विश्व सम्पदा सूचीमा समावेशका लागि पहल गर्न गाउँपालिकालाई सुझाव दिएका थिए । प्रदेश र संघीय सरकारलाई मनकामना मन्दिर सम्पदा सूचीमा सूचीकृतका लागि पहल गरिदिन यसअघि नै गाउँपालिकाले आग्रह गरेको छ ।


वार्षिक १८ देखि २० लाख धार्मिक पर्यटक आउने मन्दिर विश्व सम्पदा सूचीमा सूचीकृत हुनसके विश्वभर परिचित हुने मनकामनाका स्थानीय होमबहादुर रानाले बताए । मनकामनासँगै बक्रेश्वरी, लखन गुफादेखि त्रिवेणीसम्मको क्षेत्रलाई समेटेर समग्र विकास गर्नसके अझै पर्यटक बढ्ने उनको भनाइ छ । यसले स्थानीयको आर्थिक आयस्तर वृद्घिमा सघाउने उनले बताए ।


लखन थापा जन्मिएको र फाँसी दिएको ठाउँ सहिद लखन गाउँपालिका– ७ वुंकोटको काहुलेभङ्गारलाई पर्यटकको आकर्षक गन्तव्य बनाउन कुनै कसुर बाँकी नराख्न पनि विज्ञले सुझाव दिएका छन् । प्रचारप्रसार आवश्यक संरचना निर्माण गर्ने भए उक्त स्थल पर्यटकको रोजाइमा पर्ने विश्वास लिइएको छ ।


राणा शासनविरुद्घ पहिलो विद्रोह गर्ने लखन थापालाई काहुलेभङ्गारमा १९३३ फागुन २ गते तत्कालीन सरकारले फाँसी दिएको थियो । विज्ञले ढुङ्गगाढे–वुंकोट–नाम्जुङ–मनकाना हुदै रामशाहघाट सडकलाई प्रमुख प्राथमिकतामा राख्न गाउँपालिकालाई सुझाएका छन् । सडक कालोपत्रेका लागि पहल थालिने अध्यक्ष थापाले बताए ।


‘यो सडकले गाउँपालिकाका सवै वडालाई समेट्छ,’ उनले भने, ‘अब यो सडकको स्तरोन्नति गर्दै रिङरोड बनाउन सके धेरै जनता लाभान्वित हुनेछन् ।’ विज्ञले प्रत्येक वडामा एक नमुना विद्यालय वनाउन सुझाएका छन् । ‘शिक्षाको गुणस्तरयतामा ध्यान दिन्छौँ,’ उनले भने, ‘सबै वडाका नागरिकलाई सुलभ स्वास्थ्य सेवाको पहुँचमा ल्याउन कुनै कसुर बाँकी राख्दैनौँ, यसका लागि अब अध्ययन गरेर अव आउने नीति तथा कार्यक्रममा समेट्छौं ।’


गाउँपालिकाका सबै घरमा ‘एक घर एक धारा’ जडान गरिने उनले बताए । यसको लागि खानेपानी सेवा पाएका र वञ्चित भएकाहरूको तथ्याङ्क संकलन सुरु गर्ने तयारी गरिएको छ । होमस्टेको विकास र जीवित रहेको भाषा संस्कृतिको संरक्षणलाई प्राथमिकतामा राखिने उनले बताए । वन संरक्षणका लागि पनि योजना बनाउन तयारी थालिएको थापाले बताए । ‘निजी र सामुदायीक वन संरक्षण गर्दै पैदावारबाट कसरी फाइदा लिन सकिन्छ विज्ञको पनि सुझाव प्राप्त भएको छ,अब योजना बनाएर अघि बढ्छौँ,’ उनले भने ।


योजनाबद्घ विकासमा सघाउ पुर्‍याउने उद्देश्यले सहिद लखन गाउँपालिका स्थायी घर भई विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेकाहरूको पाँच विषयगत विज्ञ समिति गत वर्ष नै बनाएको छ । समग्र क्षेत्र समेट्ने गरी विज्ञको सुझावका आधारमा योजना बनाइने गाउँपालिकाले जनाएको छ ।


आगामी नीति तथा कार्यक्रम तय गर्न पनि सम्मेलनले सघाउने अध्यक्ष थापाले बताए । गाउँपालिकाले बनाएको विज्ञ समितिमा सामाजिक विकास समितिको संयोजकमा सरकारका पूर्व सहसचिव धनबहादुर श्रेष्ठ, पूर्वाधार विकास समितिमा इन्जिनियर दीपक श्रेष्ठ, वन वातावरण तथा विपद् व्यवस्थापनमा एकबहादुर राना संयोजक छन् । आर्थिक विकास समितिमा विपिन मल्ल, संस्थागत विकास समितिमा नरहरि न्यौपानेलाई विज्ञ समितिको संयोजक तोकिएको छ ।


योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्ले सल्लाहकार छन् । सम्मेलनमा उनीहरूले विषयत कार्यपत्र प्रस्तुत गरेका थिए । विज्ञको सुझावका आधारमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना छनोट गर्ने अध्यक्ष थापाले बताए ।

प्रकाशित : वैशाख ३१, २०७६ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?