कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नगरसमक्ष गुनासैगुनासा

तनहुँ — व्यास नगरपालिकाले स्वास्थ्य, शिक्षा, सडक, खानेपानी, विद्युत्, नालालगायत भैतिक पूर्वाधार निर्माणका विषयमा गुनासो तथा सुझाव संकलन गर्न थालेको छ । प्रत्येक सोमबार नगरवासीको राय, सुझाव तथा गुनासो संकलन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा नगरवासीले समस्या र सुझाव दिने गरेका छन् ।

नगरसमक्ष गुनासैगुनासा

व्यास– ४ का टीका दाहालले पृथ्वीराजमार्गको दायाँवायाँ अव्यवस्थित सवारी साधन पार्किङ गरिदिंदा पैदल यात्रुलाई समस्या परेको छ तर, नगरपालिकाले सुधार्न चासो नदेखाएको नगरप्रमुखसंग गुनासो राखे । उनले भने, ‘दमौली बजारसंगैको राजमार्ग दायाँवायाँ नालाको फोहोर, सडक किनारमा नाङ्गो बिजुलीको तार, पैदल यात्रुसमेत हिड्न नमिल्ने गरी अव्यवस्थित रुपमा गरिएको पार्किङले दमौलीलाई कुरुप बनायो, नगरपालिकाको नजर पुगेन ।’

अन्य ठाउँमा एक दिन पानी नआउँदा सिद्धिविनायक टोलमा १ महिनासम्म पनि पानी नआउने व्यास– २ का विकास खनालले बताए । ‘वडामा खानेपानीको समस्या भएको धेरै भयो, खानेपानी वितरण कार्यालयलाई भन्दा पनि कुनै सुनुवाइ भएको छैन, नगरपालिकाले पनि हेर्दैन ? समस्या कहिलेसम्म झेल्ने ?’ उनले भने । अधिकांश नगरवासीले नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा वडाध्यक्षलाई सुधार गर्न सकिने विषयमा सुझाव पनि दिए ।

नगरवासीले दमौलीमा बढ्दै गएको अव्यवस्थित बसोबास, टोलटोलमा उपभोक्तामार्फत भएका नाला, सडक पेटी निर्माण कार्य मापदण्ड विपरीत हुँदै गएको, यस्ता कार्यमा नगरपालिकाले समयमै प्राविधिक खटाई व्यवस्थित गर्न चासो नदेखाएको, खानेपानी वितरणमा समस्या रहेको, अव्यवस्थित पार्किङजस्ता कारणले दमौली बजार दिनप्रतिदिन कुरुप बन्दै गएकोजस्ता गुनासो प्रमुखलाई सुनाएका थिए ।

नगरपालिकाद्वारा प्रवाह हुने सार्वजनिक सेवालाई अझ गुणस्तरीय, प्रभावकारी एंव सहज र सुलभ गराउँदै लैजाने उद्देश्यले नगरपालिकाले प्रत्येक सोमबार नगरबासीसंग संवाद कार्यक्रम गरी समस्या समाधानतर्फ लाग्ने नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । न्यौपानेले भने, ‘स्थानीय तहको निर्वाचन सम्पन्न भई नगरपालिकामा जनप्रतिनिधि बहाल भई कार्य सञ्चालन गरेको दुई वर्ष बितेसंगै यस अवधिमा भएका विकासका काम कार्यप्रति नगरवासीको गुनासो, राय सुझाव के कस्तो छ ? त्यो संकलन गरी भावी लक्ष्यहरूलाई थप नतिजामुखी गराउँदै लैजाने लक्ष्य लिइएको छु ।’

त्यस्तै, नगरपालिकाले वडास्तरीय बजेट र कार्यक्रमअनुसार टोलटोलमा नाला निर्माण, मर्मत सुधार तथा पेटी निर्माणका लागि उपभोक्ता समितिको लागत सहभागितामा जिम्मा दिने तर, उपभोक्ता समितिले पनि निर्माण कार्यको जिम्मा ठेक्कापट्टा दिने गर्दा तोकिएको स्टेमेट र मापदण्डमा नभएको भन्ने गुनासो बढी मात्रमा आउने गरेको नगरप्रमुख न्यौपानले बताए ।

नगरपालिकाले सिटी लाइबेरी, सेन्टर पार्क निर्माण, मादी नदीमा ताल, बीपी रंगशाला निर्माण जस्ता कार्यहरू अगाडि बढाइरहेको जानकारी गराउँदै नगर प्रमुख न्यौपानले नगर क्षेक्रमा विकासोन्मुख कार्य सञ्चालनका त्रममा नगरवासीको तर्फबाट राय, सुझावको अपेक्षा गरेको बताए ।

व्यास नगरपालिका प्राकृतिक र धार्मिक हिसावमा धनी भए तापनि पर्यटकीय आकर्षणको लागि आफ्ना प्राकृतिक श्रोतको सही सदुपयोग नगरेको, पर्याप्त प्रविधिहरू नभएको कारणले विकास कार्य रोकिएको, बजारमा फिजारिएका विद्युत्का नांगा तर, अव्यवस्थित रुपमा टाँगिएका केवल, इन्टरनेट, टेलिफोनका तारले बजार क्षेत्र कुरुप बनाउनुका साथै दुर्घटनको जोखिम बढाएको, पृथ्वी राजमार्गको नाला नछोपिएको, राजमार्गको सडक खण्ड चौडा गर्न ढिलासुस्ती, बिग्रे भत्किएका सडक, नाला मर्मत सुधारमा नगरपालिकाले ध्यान नदिएको जस्ता गुनासो नगरवासीको थियो ।

–सम्झना रसाइली

प्रकाशित : वैशाख ३१, २०७६ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?