कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यार्थीको सहयोगमा विद्यालय भवन

बागलुङ — उच्च शिक्षा र रोजगारीमा देश विदेश पुगेका पूर्व विद्यार्थीले भूकम्पले भत्केको जिल्लाकै जेठो विद्यामन्दिर माविको भवन बनाएका छन् । महायज्ञ र अन्य चन्दा अभियानमार्फत संकलित १० करोड रुपैयाँले विद्यालय बनेको छ । 

विद्यार्थीको सहयोगमा विद्यालय भवन

विद्यालयको २६ कोठे मुख्य भवन ५ करोड रुपैयाँको लागतमा बनेको हो । अन्य सहायक ४ भवन र थप २६ कोठा पनि बनेको प्रधानाध्यापक जगन्नाथ आचार्यले बताए । चार वर्ष अघिको भूकम्पले भवन जीर्ण भएको थियो । भत्केको सूचना संचार माध्यममा आएपछि पूर्व विद्यार्थी महायज्ञ र चन्दा अभियानमा लागेका थिए ।


विद्यालय भवनको पूर्व प्रधानान्यायाधीश तथा विद्यालयका पूर्व विद्यार्थी कल्याण श्रेष्ठले बुधबार उद्घाटन गरे । उनले पूर्व विद्यार्थी जुट्दा जस्तोसुकै काम गर्न सकिने उदाहरण बनेको बताए । ‘हामी जुटेर १० करोडको विद्यालय बनायौं, यो उदाहरण मात्र हो,’ उनले भने, ‘अब सबै जाग्ने हो भने देशै पुनर्निर्माण हुन सक्छ ।’ पूर्व विद्यार्थी जस्तै राष्ट्रनिर्माणमा पूर्व कर्मचारी, सामाजिक अगुवा र राजनीतिक नेतृत्व गम्भीर भएर लाग्नुपर्ने उनले सुझाव दिए ।


विदेशीको सहयोग आउला र देश बनाउँला भनियो भने पछाडि परिने भन्दै उनले आफ्नै लगानीमा बनेका संरचनामा मात्र अपनत्व महसुस हुने जनाए । १९९७ सालमा ओमप्रसाद गौचन र मेघकुमार वैद्यले विद्यालय स्थापना गरेका थिए । औपचारिक शिक्षा दिन प्रतिबन्ध भएकाले उनीहरूले घरेलु उद्योगको नाम दिएर विद्यालय संचालन गरेका थिए ।


सबैले भवनको सामूहिक जिम्मा लिएपछि करोडौं संकलन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारीले बताए । राजभण्डारीसहित निर्माण समितिका अध्यक्ष लालचन्द्र राजभण्डारी, प्रधानाध्यापक जगन्नाथ आचार्य, सदस्य डिल्ली गौतम र देवबहादुर श्रेष्ठले चार वर्षसम्म अभियानमा खटेका थिए ।


न्यूनतम १२ लाख ५० हजार रुपैयाँ दिएकाको नाममा कक्षा कोठाको नामकरण भएको छ । अहिलेसम्म २६ वटा कोठाको नामकरण भएको आचार्यले बताए । ‘नजिकैको नगरपालिका र अन्य सरकारी संयन्त्रले हामीलाई वास्तै गरेनन्,’ उनले भने, ‘बरु कतिपयले ऋण काँढेरै सहयोग गरे ।’


बागलुङ बजारका पुष्पमान श्रेष्ठको नाममा एउटा कोठा छ । ‘पढेको विद्यालयलाई सहयोग गर्न पाउनु ठूलो अवसर हो,’ उनले भने, ‘जेहोस् आफ्नो चाहना पूरा भएको छ ।’ उनी बागलुङ कल्याण समाज काठमाडौंका अध्यक्ष हुन् ।

प्रकाशित : वैशाख २८, २०७६ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?