२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

लोकल कुखुरामा बर्ड फ्लु

नवलपरासी — पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका एक किसानले पालेको स्थानीय जातको कुखुरामा बर्ड फ्लु भेटिएको छ । नन्दपुरका पीताम्बर महतोले पालेको कुखुरामा बर्ड फ्लु भेटिएको मध्यविन्दु नगरपालिका पशु सेवा शाखा प्रमुख डा. श्यामकृष्ण तिवारीले बताए ।
 

धमाधम कुखुरा मर्न थालेपछि महतोले परीक्षणका लागि चितवनको राष्ट्रिय पक्षी ल्याबमा लगेका थिए । त्यहाँ बर्ड फ्लु पुष्टि भएको तिवारीले बताए । महतोको घरमा रहेका अन्य सबै कुखुरा नष्ट गरिएको छ । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी व्यवस्था मन्त्रालय, प्रदेशकै पशुपक्षी विकास निर्देशनालय पोखराको पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, मध्यविन्दु नगरपालिकाको पशु सेवा शाखाका प्राविधिकको टोलीको रोहबरमा कुखुरा, हाँसलगायत पक्षी र पक्षीजन्य वस्तु नष्ट गरिएको छ ।


महतोको घरको दायाँबायाँका १२ घरमा रहेका १ सय ८१ हाँस, ६५ स्थानीय कुखुरा, ७८ अन्डा, ३४ केजी दाना, साढे ४ केजी कुखुराको सुली सुरक्षित तरिकाले नष्ट गरिएको छ । नष्ट गरिएको पक्षी र पक्षीजन्य वस्तुलाई खाडल खनेर पुरिएको हो ।


त्यहाँ आसपासका क्षेत्रमा बर्ड फ्लु भए/नभएको पत्ता लगाउन महतोको घर आसपासका जिउँदा कुखुरा तथा हाँसको नमुना संकलन गरी परीक्षणका लागि पठाइएको छ । आसपासमा त्यसको जीवाणु सबै नष्ट नभएसम्म कुखुराजन्य पशुपक्षी नपाल्न पशु सेवा कार्यालयले आग्रह गरेको छ ।


प्रकाशित : वैशाख २७, २०७६ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?