बारपाकका कटुवाल बाजे

हरिराम उप्रेती

गोरखा — वडा कार्यालयदेखि विभिन्न संघसंस्था बारपाकमा भेला बोलाउने कार्यक्रम लिएर पुग्दा सबैभन्दा पहिले खोजी उनकै हुन्छ । कटुवाल बाजे भनेर चिनिने बारपाक-२ कोटका ६४ वषर्ीय बुद्धबहादुर गुरुङको स्वर अझै टाठो छ ।

बारपाकका कटुवाल बाजे

मुलुकको राजनीतिक व्यवस्था पञ्चायतदेखि गणतन्त्रसम्म आइपुग्दा थुप्रै परिवर्तन आए । जिम्मेवारीमा व्यक्ति फेरिए, व्यक्तिपिच्छे पेसा पनि फेरिए । तर, गुरुङको पेसा यथावत् छ । गाउँमा कुनै नयाँ खबर फैलाउन परे अझै उनकै आवश्यकता खड्किन्छ ।


'२०३३ सालदेखि हल्ला फिजाउने काम थालेको,' उनले भने, 'यो काम थाल्दा देशमा पञ्चहरूको शासन थियो । कोट पञ्चे, पँधेरा पञ्चे भन्ने चलन थियो, उनीहरूले भनेबमोजिम कराउनेको काम त हो ।' चर्को र स्पष्ट स्वर भएका आधारमा कटुवाल छान्ने परम्परा यहाँको उत्तरी क्षेत्रमा कायम छ । देशमा आएका परिवर्तनबारे गुरुङ धेरै जानकार छैनन् ।


'अहिले पनि गाविसले भनेअनुसार हल्ला गर्ने हो,' उनले भने, 'धेरै त वडाकै काम पर्छ । नयाँ योजना कुनै आए मैले नभनी अरूले थाहा पाउने कुरै भएन ।' गाउँपालिका र वडा कार्यालयका निर्णय, योजना सम्झौता र कार्यालयले दिने सेवा प्रवाहको सूचना पनि गाउँमा कटुवालकै माध्यमबाट प्रवाह हुने गरेको छ ।


३१ वर्षदेखि बारपाकका बासिन्दाको खबर संवाहकका रूपमा परिचित गुरुङको बुढेसकालमा पनि आफ्नो कामप्रति लगाव घटेको छैन । उनी युवाजस्तै जोसका साथ खबर सुनाउँछन् । नयाँ प्रविधि भित्रिएसँगै आफ्नै पेसा संकटमा पर्ने चिन्ता पनि नभएको होइन । तर, प्रविधि भित्रिएर उनको जिम्मेवारी घटेको छैन । गाउँका सबैलाई सूचना दिन मुखले कराएमात्रै सम्भव छैन । त्यसैले हाते माइकको सहारा लिएका छन् । मनिडाँडामा उक्लिएर हल्ला फिँजाउनु उनको दैनिकी नै छ ।


'माइक पनि पाँच वर्षअघि गाविसले किनिदिएको हो,' उनले भने, 'मुखैले जति चर्को स्वरमा कराए पनि सबैका कानमा पुग्छ भन्ने हुँदैन । माइकबाट बोलेपछि बूढाबूढीलाई सुन्न सजिलो भएको छ ।' पाका पुस्ताको सजिलोका लागि स्थानीय भाषामै कराउने गरेको उनले बताए । 'यहाँ बोलिने भाषा बूढाबूढी, केटाकेटी सबैले जान्दछन्, नेपालीमा कराए बूढाबूढीले नबुझ्न पनि सक्ने भए,' उनले भने, 'त्यसैले आफ्नै भाषामा कराउने हो ।'


कटुवाल कराएबापत सुरुका वर्ष गाउँलेबाट एक बाली पाक्दा एक माना अन्न लिने गरेको उनले सुनाए । 'पहिले पहिले त सात महिनामा एक माना कोदो, जौ वा मकै उठाउने गर्थ्याे ,' उनले भने, 'घर-घर उठाउँदै हिँड्दा कसैले दिने कसैले नदिने । अन्न दिए ठीकै छ नभए अब त सय रुपैयाँ उठाउने नियम आफैं बसालेको छु ।' १४ सय घरधुरी रहेको बारपाकमा पाका पुस्ता इमेल-इन्टरनेटको पँहुचबाट टाढा छन् ।


उनीहरूलाई सामान्य जानकारीका लागि कटुवालकै भरोसा छ । 'कटुवालले नकराएसम्म गाउँमा के कार्यक्रम हँुदैछ भन्ने पनि थाहा हुँदैन,' स्थानीय कुलबहादुर घलेले भने,'वर्षौंदेखि कटुवालले कराएपछि कान ठाडो पारेर गाउँको नयाँ खबर थाहा पाउँछौं ।' गाउँमा हुने सभासमारोह, आमा समूहको भेला, एनजीओ, आईएनजीओका कार्यक्रम, सामाजिक तथा मर्दापर्दा भेला हुन यहाँ कटुवालकै भर छ ।


'कटुवालले नभनी अन्तबाट केही कुरा सुनिहाल्याैं भने पनि झट्ट पत्याउन गाह्रै पर्छ,' कुलबहादुरले भने । बारपाकमा पछिल्लो समय स्थानीय रेडियो पनि खुलेको छ । घर-घरमा टीभी र हातहातमा मोबाइलको सेवा छ । तर, स्थानीय सरोकारको सूचनाका लागि कटुवाल नै विश्वसनीय मध्यम रहेको उनले बताए ।


कटुवाल बुद्धबहादुरलाई अन्न वा पैसा संकलनमा स्थानीय कान्छी गुरुङले सघाउँछिन् । संकलित रकम वा अन्न दुवै परिवार बराबरी बाँडेर लिन्छन् । अर्का १३ वषर्ीय सन्तमान गुरुङ पछिल्लो समय बुद्धबहादुरसँगै कटुवाल कराउन सघाउँछन् । 'उसले पनि कराउन सिक्दै छ,' बुद्धबहादुरले भने । प्रविधि नपुगेका उत्तरी गोरखाका अधिकांश गाउँमा कटुवाल कराएर सूचना प्रवाह हुँदै आएको छ । उत्तरका प्रत्येक वडामा कटुवालबाटै सुचना फैलाउने गरिन्छ ।

प्रकाशित : वैशाख २१, २०७६ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?