कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

हावाहुरीले क्षति

बुधबार साँझको हुरीले सबैभन्दा बढी कुश्मा-९ कटुवाचौपारीमा क्षति पुगेको छ
दिप्ती सिलवाल

पर्वत — असिनापानीसँगैको हावाहुरीले जिल्लाका धेरैजसो स्थानमा क्षति पुर्‍याएको छ । बुधबार साँझको हुरीले सबैभन्दा बढी कुश्मा- ९ कटुवाचाैपारीमा क्षति पुगेको छ । 

हावाहुरीले क्षति

त्यहाँका दर्जनौं घरमा क्षति भएको हो । कच्ची ढुङ्गामाटाको घर र जस्ताको छाना हुनेहरू बढी प्रभावित छन् । साँझ करिब ५ बजेदेखि असिनापानीसँगै करिब दुई घण्टाको हावाहुरीले कुश्मा, कटुवाचौपारी, ठूलीपोखरी, फलेबास, पातीचौर, महाशिलालगायतमा दर्जनौं घरटहरामा क्षति पुगेको छ । प्रहरीले संकलन गरेको विवरणअनुसार केही विद्यालयमा समेत क्षति पुगेको छ । 'सबै विवरण आइपुगेको छैन,' प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले भने, 'सबैतिरबाट विवरण आउने क्रम छ ।' उनका अनुसार बिहिबार दिउँसोसम्म प्राप्त विवरण अनुसार ८ घर, दुई विद्यालय र केही मठमन्दिरमा ठूलो क्षति पुगेको छ ।

तर स्थानीयक अनुसार हावाहुरीले कुश्मा ९ कटुवाचौपारीमा मात्रै दर्जन बढी घरगोठमा क्षति पुगेको छ । कटुवाचौपारीका प्रताप अधिकारी, जयप्रसाद अधिकारी, आनन्द अधिकारी, दधिराम दमाई, प्रकाश अधिकारी लगायतका घरमा क्षति पुगेको छ । भूकम्पले घर भत्किएपछि छिमेकीको घरमा बस्दैआएका प्रताप अधिकारीले गतवर्ष बनाएको एक तल्ले कच्ची घरको गारोसहित जस्ताको छानो उडाएपछि उनको बिचल्ली भएको छ । नजिकैका जयप्रसादको भान्साकोटा, शौचालय, घरको पाली र ठोठको छानो उठाएको छ । हुरीले घरनजिकैको बाँसको रुख ढल्दा दधिराम दमाईको घरमा क्षति पुगेको छ ।

हुरीपीडितहरूले स्थानीय सरकारलाई खबर गर्दा चासो नदेखाएको गुनासो गरेका छन् । 'हामीले बिहान ७ बजे नै वडाध्यक्ष्ालाई हेर्न बोलाएका थियौं,' प्रतापले भने, 'चार घण्टा कुर्दा पनि आउनुभएको छैन । बेलुका सुत्ने ओछ्यान छैन । भएको अन्नपात भिजेको छ । अब गुहार माग्न कता जानु ?' कुश्मा ९ का वडाध्यक्ष्ा कृष्णप्रसाद लामिछानेले क्षतिको विवरण लिन गाउँभर डुलेको बताए । 'सबैतिर क्ष्ाति पुगेकोले एकैपटक सबै ठाउँमा पुग्न सकिएन,' उनले भने, 'सबैतिर डुल्दा केही ढिला भएको हो । क्षति भएका सबै परिवारमा पुगेको छु ।' उनले विपन्न परिवारलाई नगरपालिकाबाट हुनसक्ने सहयोगका लागि आफूले पहल गर्ने बताए ।

हुरीले स्थानीय मन्त्री थापाको परिवारको पनि बिचल्ली भएको छ । मजदुरी गरेर ५ जनाको परिवार पाल्दैआएका थापा भाडामा बसेको छाप्रो हुरीले उडाइदिएपछि बासको चिन्ता भएको उनले बताए । हुरीले घरगोठ भत्किएका कतिपय परिवारमा मर्मत गर्ने जनशक्ति समेत नभएपछि बुढाबुढी र बालबालिकाको बिजोग भएको छ । हुरीले भान्साकोठा क्षतविक्ष्ात बनाइदिएपछि बिहीबार दिनभर भोकभोकै बस्नुपरेको जयप्रसाद अधिकारीले बताए । 'जनप्रतिनिधिलाई देखाएपछि मन शान्त होला भनेर मर्मत गर्न सकिएन,' उनले भने, 'अब बनाउने उपाय छैन । आशलाग्दो आश्वासन पनि पाइएन ।

भूकम्पबाट तङग्रन नपाउँदै धक्का

मोदी- २ देउपुरस्थित जननेत्र माध्यमिक विद्यालयका सबै कक्षाकोठा ०७२ को भूकम्पले भत्किएका थिए । भूकम्पपछि पूर्व विद्यार्थी र अभिभावकको सहयोगमा बनेको ४ कोठे भवन पनि बुधबारको हुरीले भत्किएपछि विद्यालयको बिजोग भएको छ । विद्यालयका शिक्षक भूमिराज शर्माका अनुसार हुरीले विद्यालयको एकातर्फको छानो उडाएको छ ।

'बिदाको दिन भएकोले मानवीय क्षतिबाट बँचियो,' उनले भने, 'विद्यार्थी पढाउने ठाउ छैन ।' बिहीबार विद्यार्थीलाई छानो नभएको कक्षामा पढाउनुपरेको उनले बताए ।

करिव ४ सय विद्यार्थी अध्ययनरत विद्यालयको छानो ०७३ को चैतमा आएको हुरीले पनि उडाएको थियो । भूकम्प पुनर्निर्माणकै लागि आएको रकम र श्रमदानबाट उतिबेला छाना हाले पनि नयाँ संरचना बनिनसक्दै अर्को विपत्ति आएको हो । 'उतिबेला सबैतिरबाट सहयोग आएकोले छिट्टै बनाउन सकियो,' प्रधानाध्यापक दीपक शर्माले भने, 'अहिले पक्की भवनको गारैसहित उडाएको छ । हामीलाई मात्रै सधैं विपत्ति आइलाग्यो ।'

छानो उडाएको भवन २५ लाखको लागतमा केही समयअघि मात्रै निर्माण भएको थियो । कक्ष्ाा ११ र १२ का विद्यार्थी अध्ययन गर्ने भवनको छानो उडाएपछि विद्यार्थी राखेर पढाउने ठाउँको समस्या भएको व्यवस्थापन समितिका अध्यक्ष दाताराम चापागाईंले बताए । पहाडको टुप्पोमा विद्यालय भवन भएकोले जुनसुकै बेला हावाहुरी आउनसक्ने जोखिमका कारण विद्यार्थी र शिक्षकलाई जोगिन समस्या भएको शिक्षक भूमिराज शर्माले बताए ।

विपत् व्यवस्थापन समितिको बैठक

हावाहुरीको अवस्थाबारे जानकारी लिन बिहीबार दिउँसो जिल्ला दैवीप्रकोप व्यवस्थापन समितिको बैठक बसेको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकमा बुधबार हावाहुरीबाट भएको क्ष्ातीको वास्तविक विवरण पेस गर्न स्थानीय तह, जनप्रतिनिधि, प्रहरी लगायतलाई अनुरोध गरिएको छ । कतिपय स्थानीय तहबाट क्षतीको वास्तविक विवरणसमेत आउन नसकेको भन्दै प्रजिअ गुरुदत्त ढकालले आक्रोश पोखेका थिए ।

'कतिपय जनप्रतिनिधिले फोन पनि उठाउनुहुन्न,' उनले भने, 'वास्तविक क्षति के हो । कहाँ कहाँ के भएको छ । त्यो जानकारी गराउनुपर्छ । राहत दिनुपर्ने भए विवरण आउनुपर्छ ।' बैठकमा वर्षा सुरु भएपछि हुनसक्ने सम्भावित क्षतिमा अपनाउनुपर्ने सतर्कता लगायतबारे छलफल भएको थियो ।

प्रकाशित : वैशाख २०, २०७६ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?