१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

विद्यार्थी पढाउँदै प्रहरी

‘हरेक साता समुदायमा पुग्दा ससाना बालबालिकादेखि बूढाबूढीले समेत साथीजस्तो व्यवहार गर्छन् ।’

पर्वत — प्रहरीले विद्यार्थीलाई सचेतनामूलक कक्षा दिन थालेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले हरेक साता विभिन्न विद्यालयमा पुगेर सचेतनामूलक कार्यक्रमको कक्षा दिन थालेको हो  ।

विद्यार्थी पढाउँदै प्रहरी

प्रहरीले पर्वतका सबै स्थानीय तहका माध्यमिक विद्यालयमा मुलुकी संहिता ऐन २०७४, आधारभूत सुरक्षा, समुदाय प्रहरी साझेदारीको महत्त्व, घरेलु हिंसा नियन्त्रण, साइवर सुरक्षा तथा लागूऔषध नियन्त्रण विषयमा कक्षा दिएको छ ।

गत वर्षदेखि सञ्चालित समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयमा पुगेर यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको प्रहरी निरीक्षक राजन रायमाझीले बताए । ‘अहिले यो नियमित कामजस्तै भएको छ,’ उनले भने, ‘हरेक साता समुदायमा पुग्दा ससाना बालबालिकादेखि बूढाबूढीले समेत साथीजस्तो व्यवहार गर्छन् ।’ कुनै बेला प्रहरी देख्नेबित्तिकै तर्सिने स–साना बालबालिकाहरूमा समेत प्रहरीप्रति हेर्ने नजर बदलिएको उनले बताए ।

प्रहरीले विद्यालयमा सञ्चालन गर्ने सचेतना कक्षाले विद्यार्थीहरूमा ऐनकानुन, सामाजिक व्यवहार र सम्बन्ध, समुदायमा आफ्नो कर्तव्य र दायित्वलगायत विषयमा जानकारी वृद्धि भएको शिक्षकहरूले बताए । ‘बालबालिकाहरूले अभिभावकभन्दा शिक्षकलाई विश्वास गर्छन् । शिक्षकलाई भन्दा प्रहरीलाई,’ थापाठाना माविका प्रधानाध्यापक विष्णुप्रसाद शर्माले भने, ‘एउटै कुरा अभिभावक, शिक्षक र प्रहरीले भन्दा प्रहरीको कुरा धेरै प्रभावकारी हुन्छ ।’

प्रहरीले सिकाएका विषय विद्यार्थीमा गहिरो छाप पर्ने उनले बताए । प्रहरीले सिकाएका विषय विद्यार्थीले विद्यालय, परिवार र समुदायमा सहजै लागू गर्ने बताए । प्रहरीले विशेषगरी कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूलाई यस्ता सचेतना कक्षा सञ्चालन गर्दैआएको छ ।

मोदी गाउँपालिका–१ भुकस्थित भुक देउराली माविका प्रधानाध्यापक तथा विद्यालय सम्पर्क संयोजक विकास गुरुङले प्रहरीले सञ्चालन गर्ने यस्ता कार्यक्रमले विद्यालयलमा मात्रै नभएर समुदायमा समेत सकारात्मक छाप पर्ने बताए । ‘समाजमा हुने झैझगडा स–साना विवादले हुने हो,’ उनले भने, ‘विद्यार्थी समाजको मुख्य भूमिकामा हुन्छ ।’

विद्यार्थीलाई कानुन र कुलतबारे जानकारी गराउँदा त्यसको असरबारे सचेत हुनेभएकाले हरसमय उनीहरू सजग हुने उनले बताए । प्रहरीको यस्तो अभियानमा जिल्ला प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी, सामुदायिक सेवा केन्द्रलगायतका जिम्मेवार पदाधिकारीहरू सहभागी हुनेगर्छन् । भुक माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा प्रजिअ ढकालले कानुनको अनविज्ञता क्षम्य नहुने भएकाले हरक्षण आफूले गर्ने कामप्रति सजग हुन आग्रह गरे ।

संविधान र अहिलेको मुलुकी ऐनमा भएका धेरैजसो कानुन सामान्य लागे पनि त्यसले गम्भीर असर पर्नेभएकाले कानुनबारे जानकार हुनु सबै नागरिकको कर्तव्य भएको बताए । उनले शान्ति सुरक्षाका लागि विद्यार्थीको पनि महत्त्वपूर्ण भूमिका हुने बताए । प्रहरी नायब उपरीक्षक श्याम अर्यालले सामाजिक सुरक्षामा प्रहरीको भन्दा समुदायको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले सामाजिक विकृतिलाई हटाउन प्रहरी र विद्यार्थीको सम्बन्ध जरुरी रहेको बताए ।

प्रहरीसँग एक दिन
स्याङ्जा (कास)– समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालयले ले ‘प्रहरीसँग एक दिन’ कार्यक्रम चलाएको छ । ऊक्त कार्यत्रमअन्तर्गत पुतलीबजार–४ को रामकोस फूलबारी माविका ९ र १० का विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालयको निरीक्षण गराइएको छ । शिक्षक शिक्षिकासहित २७ जनाको टोलीमा रहेका विद्यार्थीलाई जिल्ला प्रहरी प्रमुख राजकुमार लम्सालले स्वागत गर्दै आफ्ना मातहतका निकाय र कामका बारेमा बताए ।

एसपी लम्साल, प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीलगायतले विद्यार्थीलाई स्वागत, भेटघाट गर्दै नागरिक सहायता कक्षको काम र कर्तव्य र सेवाग्राहीलाई सहयोगको बारेमा बताए ।

जिल्ला प्रहरी कार्यालय भवनको अवलोकन, प्रहरी परिचालन कक्ष र टोल फ्री नं. १०० को प्रयोग र प्रभावकारिता, अपराध अनुसन्धान शाखा, महिला तथा बालबालिका सेवा केन्द्र, कार्य तथा सामुदायिक शाखा, आकस्मिक सेवा, आदिको बारेमा प्रहरीले २४ सै घण्टा कसरी नागरिकका लागि सेवा प्रवाह गर्ने, शन्ति सुरक्षा, अमनचयनको व्यबस्थापन, अपराध रोकथाम, नियन्त्रण र अनुसन्धान गर्छ भन्ने बारेमा समेत सरल र सहज रूपमा बुझाइएको जिल्ला प्रहरी प्रमुख एसपी लम्सालले बताए ।

‘विद्यार्थीलाई प्रहरीसँग डराउने र त्रसित बन्ने वातावरण बनाउनु हुँदैन भनेर नै समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरिएको हो,’ लम्सालले भने, ‘विद्यार्थीलाई प्रहरीको बारेमा जानकारी गराउँदा धेरै जना भविष्यमा प्रहरी बन्ने र देशको सेवामा खटिनेसमेत बताउँछन् ।’

उनले प्रहरी हिरासतको अवलोकन गराई सोसम्बन्धी जानकारी गराइएको बताउँदै समुदाय–प्रहरी साझेदारीअन्तर्गत समुदाय केन्द्रित कार्य, ट्राफिक व्यवस्थापन, विभिन्न पोसाक र प्रहरीका ढाँचा र भूमिकाको सन्दर्भमा अवगत गराइएको बताए ।

प्रकाशित : वैशाख १७, २०७६ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?