कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

सामुदायिकमा पढाउन होडबाजी

वडाध्यक्ष पुनले आफ्नै छोरीलाई निजि विद्यालवाट छुटाएर स्थानीय बनौ माविमा भर्ना गराएका छन्

पर्वत — स्थानीय निकायले सामुदायिक विद्यालयलाई स्तरीय र व्यवस्थित बनाउन लागेसँगै विद्यार्थीको आकर्षण बढेको छ  । स्थानीय तहले अभिभावक र विद्यार्थीका लागि आकर्षक योजनासँगै कडाइका नियम ल्याउन थालेका छन्  ।

सामुदायिकमा पढाउन होडबाजी

कतिपय स्थानीय तहका वडाहरूले सर्वपक्षीय भेला बोलाइ निर्णय गरेर अभिभावकलाई अंकुश लगाउन थालेका छन् ।

फलेबास–४ का वडाध्यक्ष एवं प्रवक्ता टिकाराम भुषालले दुई साताअघि आफ्नो वडाका विद्यार्थी अन्य वडामा अध्ययन गर्न गएको प्रमाणित भए वडाबाट दिइने सबै सुविधा रोक्ने विज्ञप्ती जारी गरे । वडाभित्रै कक्षा १२ सम्म बाली विज्ञान सहितको प्राविधिक विद्यालय र अरु सुविधासम्पन्न सामुदायिक विद्यालय वडाभित्रै भएकाले अन्यत्र जान नपाइने उनले बताएका छन् ।

सामुदायिक विद्यालयको गुणस्तर बढाउन र स्थानीय अभिभावकलाई विद्यालयप्रति जिम्मेवार बनाउन यस्तो निर्णय गर्नुपरेको दाबी उनको छ ।

जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लले सामाजिक सञ्जाल मार्फत आर्थिक अभावमा कुनै पनि बालबालिकाले पढ्नबाट बञ्चित हुनु नपर्ने सूचना सार्वजनिक गरे । उनले गाउँपालिकाका सबै वडाका वडाध्यक्ष, विद्यालय, शिक्षक, अभिभावक र सरोकारवाला सबैलाई निम्नवर्गका बालबालिकालाई गाउँपालिकाले पोशाक, झोला, कापीकलम लगायतका सबै सामाग्रि गाउँपालिकाले उपलव्ध गराउने जनाएका छन् ।

‘शिक्षाको हक सबै बालबालिकालाई समान छ,’ उनले भने, ‘स्थानीय सरकार भएको नाताले त्यसको कार्यान्वयन गर्ने हाम्रो दायित्व हो ।’ गाउँपालिकाले बैसाख महिनाभर सबै विद्यालयलाई भर्ना अभियान सञ्चालन गर्न र अभिभावकको घरदैलो गर्न अपिल गरेको छ ।

कुश्माकै शिवालय नमुना माध्यमिक विद्यालयले भर्नां अभियान शुरु भएकै समयमा विद्यालयमा अध्यापनरत शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीका छोराछोरी आफु आवद्द विद्यालयमै भर्ना गर्ने अभियान शुरु गर्‍यो । व्यवस्थापन समितिका अध्यक्ष इश्वर गिरीकाअ अनुसार शिक्षक र अभिभावक सबैले नीजि विद्यालयबाट आफ्ना छोराछोरी शिवालय माविमै भर्ना गरिसकेका छन् ।

‘आफुले पढाउने विद्यालयमा नपढाउने शिक्षकले छोराछोरी अन्य पढाउँदा आफैलाई विश्वास नगरेको ठहर्छ,’ गिरीले भने, ‘आफुप्रतिको विश्वास बढाउन शिक्षक र अभिभावकलाई अनिवार्य भर्ना गर्न भनिएको हो । सबैले पालना गर्नुभयो ।’
गत चैतमै सरकारी पारिश्रमिक लिनेका छोराछोरी सामुदायिकमै पढाउनुपर्ने निर्णय गरेको जलजला– ९ बनौमा निजि विद्यालय छाडेर सामुदायिकमा बालबालिका भर्ना गराउने अभियान शुरु गरिसकेको छ । वडाले त्यस्ता अभिभावकलाई सम्मान समेत गरेको छ ।

शनिबार एक कार्यक्रम आयोजना गरेर स्थानीय वनौ माविमा विद्यार्थी भर्ना गराउने अभिभावकहरूलाई सम्मान गरिएको हो ।
सरकारी निकायमा आवद्ध र जनप्रतिनिधिले अनिवार्य सामुदायिक विद्यालयमै पढाउनुपर्ने भनि गरेको निर्णय सवै जनप्रतिनिधि र शिक्षक तथा अभिभावकहरूका बालबालिका सामुदायिकमा भर्ना गरेपछि सबैलाई सम्मान गरिएको वडाध्यक्ष गौबहादुर पुनले बताए । वडाध्यक्ष पुनले आफ्नै छोरीलाई निजि विद्यालवाट छुटाएर स्थानीय बनौ माविमा भर्ना गराएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्वर बहादुर पुर्जाले पनि आफ्ना दुई छोरीलाई कक्षा १ र कक्षा ४ मा भर्ना गराएका थिए । त्यस्तै वडा सदस्य पार्वती सर्किनीले दुई छोराछोरी, विव्यस सदस्य टिकाराम पुर्जा, शिक्षिका गौमाया पुर्जा, मनकुमार गर्वुजा, सविता फगामी लगायतले पनि आ–आफ्ना बालबालिकालाई गाउँमै रहेको र केहि सदरमुकाममा रहेको निजि विद्यालयबाट छुटाएर सामुदायिक विद्यालयमा भर्ना गरेको वडाध्यक्ष पुनले बताए । वडाको पहलमा चालु शैक्षिक सत्रदेखि विद्यालयमा गुणस्तर सुधार भएको छ ।

प्रकाशित : वैशाख १७, २०७६ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?