२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

भूकम्पबाट दिवंगत भएकाको स्मरण

हरिराम उप्रेती

बारपाक, गोरखा — भूकम्पमा परी ज्यान गुमाएकी श्रीमती नौतानी गुरुङको सम्झनामा बारपाक–२ का शेरबहादुरले सालिक ठड्याएका छन् । बिहीबार आफन्त भेला भएर सालिकमा धूपबत्ती बाले ।

‘श्रीमतीको सम्झनामा २०७३ सालमा सालिक बनाएको हुँ,’ उनले भने, ‘आज याद गरेको ।’ भूकम्पले क्षति पुगेका संरचना विस्तारै उठेका छन् । दिवंगत भएका परिवार भने १२ वैशाखको कालो दिन सम्झँदा अझै आत्तिन्छन् ।


मंगलबहादुर घलेले भूकम्पमा दिवंगत भएकी नातिनी इलाको सम्झनामा मैनबत्ती बाले । ‘भूकम्पको दिन सम्झँदा पनि मन आत्तिन्छ,’ उनले भने, ‘आँगनमा खेलिरहेकी ९ वर्षीया नातिनीलाई पर्खालले च्याप्यो, परिवारको सदस्य गुमाउनुको पीडा भुल्न सकेका छैनौँ ।’ पर्खालले च्यापिएर पुरिएकी इलाको शव निकाल्न दुई दिन लागेको थियो ।


चौथो भूकम्प स्मृति दिवसको अवसरमा बिहीबार गाउँपालिकाभर सार्वजनिक बिदा दिइयो । भूकम्पको इपिसेन्टर बारपाकमा ११.५६ मा मौनधारण गरी दिवंगत भएकाहरूलाई सम्झँदै स्मृति दिवस मनाइयो । कार्यक्रमका सहभागीले पुनर्निर्माणको गतिलाई अझै बढाउनुपर्ने धारणा राखे ।


प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले भूकम्पपछिको मौलिकतामा ध्यान दिन स्थानीयलाई सुझाए । ‘भूकम्पको केन्द्रबिन्दु हुनुभन्दा पहिल्यैदेखि बारपाक ऐतिहासिक ठाउँ हो,’ उनले भने, ‘यहाँको मौलिकता जोगाइराख्न बाहिरबाट आयातित चिजभन्दा स्थानीय उत्पादनमा जोड दिनुस् ।’ संस्कृतिको संरक्षण र उत्पादनलाई विशेष जोड दिनुपर्ने उनले बताए । ‘गाउँ–गाउँबाट आर्थिक उत्पादनलाई विशेष जोड दिनसके विकास पनि तीव्र गतिमा हुन्छ,’ महराले भने ।


बारपाकसम्म पुग्ने सडक स्तरोन्नति, गुरुयोजना निर्माणलगायत विकासका महत्त्वलाई प्राथमिकतामा राख्नका लागि नेपाल सरकारसँग पहल गर्ने उनले आश्वासन दिए । भूकम्पपछिको पुनर्निर्माण द्रुतगतिमा भइरहेको र आगामी वर्षको बजेटमा यसलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए ।


‘चार वर्ष बितेको छ, सोचे जति काम हुन सकेको छैन,’ उनले भने, ‘आगामी वर्षको वजेटमा पुनर्निर्माणका लागी मुठी खोलेर विशेष महत्त्व दिनु जरुरी छ ।’ बारपाकमा निर्माण भएको ७ कोठे स्वास्थ्यचौकी भवनको बिहीबारै उद्घाटन गरियो । स्मृति दिवसको अवसरमा खुला भलिबल प्रतियोगिता पनि सुरु भएको छ ।


प्रतियोगितामा १० टिममा सहभागिता रहेको गाउँपालिकाका प्रशासकीय अधिकृत शिव गुरुङले बताए । पहिलो हुने टिमलाई एक लाख ५ हजार, दोस्रो हुनेलाई ६०, तेस्रोलाई ३० हजार पुरस्कारको व्यवस्था गरिएको छ ।


गाउँपालिका सम्मानित

पुनर्निर्माणमा उत्कृट काम गरेको भन्दै ‘२०७२ गोरखा भूकम्पको चौथो स्मृति सम्मान’ स्वरूप यहाँको बारपाक सुलिकोट गाउँपालिका सम्मानित भएको छ ।


बिहीबार काठमाडौं वसन्तपुरमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजनामा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङलाई उत्कृष्टताको प्रमाणपत्र प्रदान गरे । गाउँपालिकामा ८९ प्रतिशत पुनर्निर्माण सम्पन्न भएको छ । ७ हजार २ सय लाभग्राहीमध्ये ६ हजार १ सय ५० ले घर निर्माण सकेर तेस्रो किस्ता बुझेका छन् ।


त्यस्तै गोरखा सदरमुकाममा भएको कार्यक्रममा पुनर्निर्माणमा उत्कृष्ट प्रगति हासिल गरेका चार वडालाई जिल्ला पुनर्निर्माण सहजीकरण समितिले सम्मान गरेको छ ।


९४.५ प्रतिशत निजी आवास पुनर्निर्माण सकेको आरुघाट गाउँपालिका २ मान्वु, ९२/९२ प्रतिशत पुनर्निर्माण सकेका बारपाक, सुलिकोट गाउँपालिका– २ र ५ को ताकुमाझ लाकुरीबोट तथा ९१ प्रतिशत पुनर्निर्माण सकेको धार्चे गाउँपालिका– ५ गुम्दालाई कदरपत्रले सम्मान गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख रामशरण आचार्यले बताए ।

प्रकाशित : वैशाख १३, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?