कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

‘नियमित औषधि खाइरहनुपर्छ’

लालप्रसाद शर्मा

पोखरा — झट्ट हेर्दा ४८ वर्षीया विजया सुवेदी तन्दुरुस्त देखिन्छिन् । अनुहार हँसिलो छ । जब २०६२/६३ को जनआन्दोलन सम्झिन्छिन्, एकाएक गला अवरुद्ध हुन्छ । आँशु टिलपिलाउछ । उनको पीडा सुन्ने पनि भावुक हुन्छन् ।

‘नियमित औषधि खाइरहनुपर्छ’

बैशाखीको सहारामा हिड्डुल गर्न बाध्य ५५ वर्षीय नेत्रपाणी सुवेदी सधै निरास देखिन्छन, बेलाबेला आक्रोशित पनि । दोस्रो जनआन्दोलनका घाइते दुवै जना आक्रोश पोख्नुको एउटै कारण हो, देशमा राजनीतिक व्यवस्था परिवर्तन भएपछि राजनीतिक दल र सरकारले घाइते तथा सहिद परिवारको वेवास्ता गर्नु र दलहरू जनभावना अनुसार नचल्नु ।


जनआन्दोलनका क्रममा २०६३ वैशाख ५ गते पोखरामा अग्रपंक्तिमा थिइन् बिजया । सुरक्षाकर्मीको अत्याधिक बल प्रयोग र अश्रुग्यासले उनी बेहोस भइन् । ४ महिनासम्म स्वर सुक्यो । उपचार भयो । त्यतिबेला खासै वास्ता भएन । अहिले रोग बल्झिएर ‘दीर्घरोग’ बनेको छ । उतिबेलाको सुरक्षाकर्मीको कुटाइले देब्रेखुट्टा खोच्याएर हिड्नुपर्छ । श्वासप्रश्वास र आँखाको समस्या छ । मासिक ८ हजार रुपैयाँको औषधी खानुपर्छ । २ लाख रुपैयाँ व्यक्तिगत खर्च गरिसकेी छन् । निद्रा लाग्दैन । आँखामा दैनिक ६ पटक औषधी राख्नुपर्छ । नियमित औषधीको प्रतिक्रियाले अरु रोग पनि थपिएका छन । त्यतिबेला किन लडिस्, लडेर के पाइस भन्ने घरपरिवारका सदस्यको ‘वचन’ ले उनको मन भरंग हुन्छ ।


आन्दोलनकै कारण राजनीतिक परिवर्तन भयो । तर राजनीतिक दल र सरकारले आन्दोलनका घाइतेलाई कहाँ के गर्दैछौ भन्नेसम्म पनि खोजी नगर्दा उनको मन दुख्छ । ‘राज्यले स्वास्थ्य, शिक्षा र रोजगारीमा चासो लिइदिए पीडामा मल्हम लाग्थ्यो,’ उनले भनिन्, ‘चासो नदेखाउँदा पीडा थपिन्छ ।’ उनका श्रीमान् दैनिक ज्यालामा विद्युतको काम गर्छन । पहिला साविक एमाले कास्की सचिवालय सदस्य उनी अहिले कुनै जिम्मेवारीमा छैनन् ।


साविक कास्कीकोट– ४ का नेत्रपाणी पनि जनआन्दोलन दौरानमा सुरक्षाकर्मीबाट निर्घात कुटिए । उनको देब्रे हातखुट्टा राम्रोसंग चल्दैन । अहिले ढाँड दुखिरहन्छ, अप्ठेरो गरी सुत्नुपर्छ । शरीर दुखिरहने भएकाले पेन्किलर खानुपर्छ । हिडदा बैशाखीको सहारा चाहिन्छ । शौच पनि उभिएरै गर्नुपर्छ । खुट्टा खुम्चाउन नभएपछि बस्न मिल्दैन । ‘उपचारका लागि २५ लाख रुपैयाँ व्यक्तिगत खर्च भइसकेको छ,’ उनले भने, ‘चिकित्सकले विदेश गएर शल्यक्रिया गरे निको हुने भनेका थिए । अमेरिका जान खोज्दा सरकारले सहमति दिएन ।’ थप उपचारका लागि थुप्रै नेता भेटे पनि चासो नदेखाउँदा उनी आक्रोशित छन ।

‘सरकारले राहत पनि दिएन । सम्मान पनि गरेन,’ उनले भने, ‘मुलुकमा सेता हात्ती बढी भए । हामीजस्ता पीडितको पीडा बुझ्ने कोही भएन ।’ कास्कीकोटस्थित गाउँमा मोटरबाटो लैजाने क्रममा आफ्नो मात्र जग्गा हिनामिना पारेको उनले दुखेसो गरे । मुलुकमा ठूलो परिवर्तन भए पनि अनुभूत गर्न नपाएको उनको भनाइ छ । ‘केन्द्रका नेताले चिन्दैनन, स्थानीय नेता बोल्न पनि छाडे,’ उनले भने ।


राजनीतिक परिवर्तनको लडाइमा होमिदा तत्कालिन सरकारबाट यातना पाएका अन्य घाईते पनि अहिले सरकारले बिर्सदा ‘पीडा’ भोग्नुपरेको बताउँछन । पर्बत थापाठाना घर भई पोखरा बस्दै आएकी पार्वती पौडेलको देब्रे फिलामा अहिले पनि एउटा गोली छ । यतिबेला उनी क्यानाडा पुगिसकेकी छन् । हिजैजस्तो लाग्छ, ढाकाराम पौडेललाई सडकमा निरकुंशताविरुद्ध आन्दोलनमा उक्रिएको ।

आन्दोलनका त्रममा सुरक्षाकर्मीको प्रहारबाट टाउकोमा चोट लागे पनि प्रवाह गरेनन् । अहिले उनी राजनीतिक दल, नेता र सरकारसंग सन्तुष्ट छैनन् । राजनैतिक परिवर्तन भएर संघीयता आए पनि दलहरू जनआन्दोलनको मर्म र भावनाअनुसार नचल्दा मन कुँडिने र पुरानो घाऊ बल्झिने उनको भनाइ छ । ‘राजनैतिक दललाई सत्तामा पुर्‍याउन मात्र लडेका थिएनौ’, उनले भने, ‘व्यवस्था परिवर्तन भयो । संविधान बन्यो । तर दलहरूले जनभावना बुझ्न नसक्दा दुख लागेको छ, ब्यर्थमा टाउको फुटाएजस्तो लाग्छ ।’ संविधानले जनआन्दोलनका घाइतेलगायतलाई उचित सम्मानसहित शिक्षा, स्वास्थ्य, रोजगारी, आवास र सामाजिक सुरक्षामा प्राथमिकताासथ अवसर पाउने हक हुनेछ भने पनि त्यो व्यवहार राज्यले नदेखाएको उनले बताए । ‘राज्य र राजनीतिक दलले हामीलाई चिन्न छाडे,’ उनले भने, ‘संविधानले व्यवस्था गरेको हकलाई प्रष्ट अनूभूत हुनेगरी सम्बोधन गर्नुपर्छ ।’ परिवारजनलाई हिजो लडेको ठिकै रहेछ भन्ने महशुस हुनेगरी राज्यले सुविधा दिनुपर्नेमा उनले जोड दिए ।


कास्कीमा जनआन्दोलनका क्रममा एक सय ४९ घाइते भएका थिए । तर त्यो संख्या अझै बढी रहेको जनआन्दोलन सहिद परिवार तथा घाइते समन्वय समिति कास्कीका अध्यक्ष शेखर गौतम बताउँछन । ‘कतिपय घाइते राज्यको प्रक्रियामा छिर्न नसकेर गणनामा परेनन् । आफै उपचार गराए,’ उनले भने, ‘तत्कालिन अवस्थामा पार्टीले सिफारिश गरेका र अस्पतालमा उपचार गराएको विवरणका आधारमा घाइतेको सूची पुनरावलोकन गर्न भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन बुझाएका छौं ।’ राज्यले जनआन्दोलनमा पीडित भएकालाई राम्रोसंग हेर्नुपर्ने उनले बताए । घाईते मध्ये कतिले राहत पाए कतिले पाएनन् भन्ने कुनै तथ्यांक नरहेको पीडितले बताएका छन । आन्दोलनक्रममा काभ्रे घर भै यहाँ ब्यवसाय गर्दै आएका भीमसेन दाहालको मुत्यु भएको थियो ।


समिति कास्कीका पूर्व अध्यक्षसमेत रहेका पौडेलले ५ घाइतेले नियमित औषधी सेवन गरिरहेको बताए । डाक्टरसहित विभिन्न पेशागत संस्थाले क्षेत्रीय अस्पतालमा गठन गरेको कोषको रकमबाट केहीले उपचार गराएको उनले बताए । जनआन्दोलन शुरु हुँदा तत्कालिन राजा ज्ञानेन्द्र पोखरामा भएकाले पनि सुरक्षाकर्मीको बढी धरपकड थियो । फागुन ५ गते पोखरा आएका ज्ञानेन्द्र आन्दोलनले चरमरुप लिएपछि चैत ३० मा राजधानी फर्किएका थिए ।

प्रकाशित : वैशाख ११, २०७६ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?