म्याद गुज्रेका सामान जफत

कान्तिपुर संवाददाता

लमजुङ — किराना सामग्रीको एउटा गोदाममा सिल गरेको चौथो दिन म्याद गुज्रेका सबै सामान जिल्ला प्रशासन कार्यालयले जफत गरेको छ  । शिल गरेको दिन केही सामान उठाएपनि ३ दिन कुरेर चौथो दिनमा अन्य सामान उठाएको हो  ।

गोदाममा प्रायः सवै म्याद गुज्रेका सामान भएको सूचना आएपछि प्रशासन नेतृत्वमा अनुगमन टोलीले बिहीबार बेंसीसहर नगरपालिका ३, रानीकुवास्थित सुरज किराना स्टोर्समा छापा मारेर गोदाम सिल गरेको थियो । उक्त दिन साँझ परेको भन्दै केही सामान ल्याएपछि आइतबारमात्रै प्रशासन नेतृत्वको अनुगमन टोली उक्त गोदाममा पुगेको थियो । पसलमा राखिएका सामान करीब ९९ प्रतिशत म्याद गुज्रेका, उपभोग्य मिति नटाँसेको भेटिएको अनुगमन अधिकृत समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले बताए ।


बिहीबार शिल गरेर केही सामान ल्याएपनि प्रशासनले भने आइतबार अनुगमनका क्रममा भेटिएको मुचुल्का उठाएको छ । रौतहट जिल्ला बौदिमाई नगरपालिका ७ का घर भई हाल बेंसीसहर नगरपालिका ३, रानीकुवास्थित पतुली श्रेष्ठको घरमा डेरा गरी बस्ने रामकिशोर राउतले उक्त घरमै गोदाम राखेको र म्याद गुज्रेको सामान रहेको थाह पाएपछि अनुगमन गरिएको सुनारले बताए । लमजुङ उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च, प्रहरी, पक्रकारको संयुत्त टोलीले अनुगमन गर्दा सुरज किराना स्टोर्सको नाममा दर्ता रहेको गोदाममा म्याद गुज्रेको समान भेटिएको मुचुल्कामा उल्लेख छ ।


प्रशासनका अनुसार म्याद गुज्रेका १५ प्रकारका खाद्यसामग्री बरामद गरिएको छ । क्यान्डी मिठाई र चुइगम ४ सय ६५ बट्टा, हाजमोला २० बट्टा, मिट मसला ६५ माला, किन्डर जोय ४० पोका, भुटेको चनाकेराउ २० माला, ट्यांक ४५ पोका, चोकोबार चकलेट २५ प्याक, जेली चकलेट ९१ वटा, जेम्स चकलेट ४० पोका, पान्डा किन्डरजोय ४० जार, ललिपप मिठाई १ कार्टुन, मोटुपत्लु ३० बट्टा, पोलो मिठाई ५ बट्टा, कच्चा आप २७ पोका, कफि क्यान्डी २० पाउच बरामद गरिएको सुनारले बताए ।


पोखरामा एकजना व्यापारीसंग पसल किनेर सवै सामान ल्याउँदा म्याद गुज्रेको परेको गोदामधनी राउतले बताए । बैशाख २ गतेदेखि पसल संचालन गरेको र आइतबारमात्रै घरेलु तथा साना उद्योग विकास समिति र लमजुङ उद्योग वाणिज्य संघमा दर्ता गरिएको उनले बताए । बिना दर्ता पसल वा गोदाम संचालन गरेको भेटिएपनि गोदाम धनीलाई प्रशासनले कारबाही नगरी ३ दिनभित्र पसल दर्ता गरी संचालन गर्न निर्देशन दिएको थियो । उनको पसलबाट म्याद गुज्रेका सामन उठाएको र नष्ट गरिएको भनी मुचुल्का उठाएपनि सवै सामान प्रशासन आफैंले नष्ट नगरी बेंसीसहर नगरपालिकाको फोहर फाल्ने ट्याक्टरमार्फत सोमबार बिहान डम्पिङसाइटमा पठाएको छ । सहायक प्रजिअ सुनारले मिठाई तथा प्लाष्टिक जलाउँदा दुर्गन्ध फैलिने, स्वास्थ्यमा निकै हानिकारणक हुने ग्यास उत्पन्न हुने भएकाले डम्पिङसाइटमा पठाएको बताए ।


गोदामधनी राउतले मोटरसाइकलमार्फत गाउँगाउँमा सामान लाने र विक्री गर्ने सोंचले पोखरामा पसल किनेर सामान ल्याएको बताए । ‘सामान यस्तो परेछ, मलाई थाह भएन । यस्तो सामान विक्री गर्ने मेरो नियत होइन’ उनले भने । करीब साँढे २ लाख रुपैयाँ बराबरको सामाग्री जफत भएको उनले दावी गरे । प्रशासनले भनेपछि उनले तुरुन्तै पसल दर्ता गरेको बताए । म्याद गुज्रेका सामान गाउँगाउँमा पुर्‍याउन लागेको सुइँको पाउनेवित्तिकै प्रशासनले यसलाई रोक्न सफल भएको दावी गरेको छ ।

प्रकाशित : वैशाख ११, २०७६ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्

बेपत्तालाई सम्झँदै आफन्त

कान्तिपुर संवाददाता

बागलुङ — गलकोट नगरपालिका २ नरेठाँटीकी ५३ बर्षिय सरस्वती बिकले पत्रकार र मानवअधिकारकर्मी भेट्नै हुँदैन  । रुँदै आफ्नी छोरीको खोजी गरिदिन आग्रह गर्छिन्  ।

१६ बर्ष अघि सरस्वतीकी ११ बर्षिय छोरी बेपत्ता भएपछि अहिले सम्म उनले नियमित घर व्यवहार चलाउन सकेकी छैनन् । ‘फुपुको घरमा जान्छु भनेपछि ११ बर्षकी छोरीलाइ हरिचौर पठाएको थिएँ, छिमेकीसँगै गएको बेला सेनाले पक्रेर छोरीलाइ बेपत्ता बनायो,’ विकले रुदै भनिन्, ‘सेना, प्रहरी र सिडिओलाई धेरै पटक भेटे, अहिले सम्म केही पत्तो दिएनन् ।’ मरेकी भए लास देउ, बाँचेकी भए सास देउ भनेको सुन्ने कोही भएन ।


बिकले छोरीको खोजी गर्न बेपत्ता आयोगमा पनि उजुरी दिएकी छिन् । २०५९ को मंसिरमा छोरी बेपत्ता भएपछि अहिले सम्म राम्रोसँग निदाउन नसकेको उनले गुनासो गरिन् । ‘द्वन्द्व पिडित भनेर बोलाउँछन्, बेपत्ता छोरीको नमिठो सम्झना मात्र आउँछ’ विकले भनिन्, ‘कही गएर पनि न्याय पाउन सकिन ।’

उनले छोरीको सत्य जान्न पाउनुपर्ने बताइन् । विकका श्रीमान हरिलाल पनि अहिले मानसिक सन्तुलत गुमाएका छन् । कसैले बोलाउँदा छोरी भेटिएकी होकी भन्दै आत्तिएर बोल्छन् र परिवारमा पनि झर्केर बोल्ने वानी परेको छ । रक्सी पिउने, बरबराउँदै हिँड्ने गरेकोले ज्याला मजदुरी गरेको दुई चारपैसा पनि बचाउन नसकेको विकले गुनासो पोखिन् ।


दुइ छाक खानका लागि मजदुरी गर्न बाध्य विक दम्पतीले भोकभोकै धेरैपटक सेना र प्रहरीमा धाएका थिए । बेपत्ता आयोगले लिएको निवेदन पनि कार्यान्वयनमा आएपछि भने उनीहरूको आसा मरेको छ । ‘छोरी बाँचेकी जस्तो लाग्दैन, तर मरेकी हो पनि भनेनन्’ उनले भनिन्, ‘मानवअधिकारवादी देखें भने केही पाइन्छ की भन्ने आस लाग्छ, घर फर्केपछि उस्तै पिर लाग्छ ।’ विक दम्पत्तिले मजदुरी गरेकै भरमा कान्छि छोरी अमृतालाइ पढाउन सकेका छैनन् । छोरा यामबहादुर पनि मानसिक रोगी भएकोले विकको परिवार पिडामा छ ।


समितिको तथ्यांक अनुसार बागलुङमा २४ बेपत्ता परिवारले प्रारम्भिक राहत बुझेका छन् भने एकजनाले अझै राहत पाएका छैनन् । सशष्त्र द्वन्द्वको समयमा १ सय ३९ जनाको मृत्यु भएको थियो भने १ सय २ जना अपहरणमा परेका थिए । शर्माका अनुसार बिस्थापित ७९ जना, अंगभंग २३, घाइते ५३ जना छन् भने ४१ बालबालिकाले बाबुआमा मृतक भएकोले छात्रवृत्ति पाएका छन् ।
राज्यपक्षबाट बेपत्ता बनाएका पीडित धेरै छन् भने केहीलाई तत्कालिन बिद्रोही पक्षले पनि बेपत्ता बनाएका घटना छन् । ती घटनामा पनि मरे बाँचेको कुनै सूचना पीडितले पाउन नसकेको बताए ।

प्रकाशित : वैशाख ११, २०७६ १२:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्