२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

पेन्सन झिक्न बोकिएर

निसीखोला गाउँपालिका–६ की ८६ वर्षीया तिलजा बुढा छोरीको पिठ्युँमा बोकिएर सदरमुकाम आएकी हुन्
प्रकाश बराल

बागलुङ — श्रीमानका नाउँको पेन्सन बुझ्न निसीखोला गाउँपालिका–६ की ८६ वर्षीया तिलजा बुढा छोरीको पिठ्युँमा बोकिएर सदरमुकाममा आएकी छन् । निसीदेखि सदरमुकाम बागलुङ आइपुग्न उनलाई दुइ दिन लाग्यो । श्रीमान भारतीय सेनामा थिए । उनी दिवंगत भएपनि पेन्सनले बुढालाई ठूलो भर छ ।

पेन्सन झिक्न बोकिएर

तर, उक्त पेन्सन तोकिएको बैंकबाट मात्र लिन पाउने व्यवस्थाले भने उनी हैरान छिन् । सैनिक बोर्डले गत वर्षदेखि पेन्सन बैंकमा पठाउने निर्णय गरेको थियो । यसअघि वर्षको दुई पटक सदरमुकाममा आएर नियमित पेन्सन बुझेकालाई बैंकमा पठाएपछि झनै समस्या परेको गुनासो बढेको छ ।

तोकिएको बैंक नजिकमा नभएपछि सदरमुकाम धाउनुपर्ने बाध्यता एकातर्फ थियो, पेन्सन क्याम्पसमा पुगेर हरेक बर्ष आफू जिवितै भएको प्रमाण र सिफारिस समेत बुझाउनु पर्दा अर्को झण्झट भएको उनले गुनासो गरिन् ।


यसअघि सदरमुकामस्थित सैनिक बोर्डमा आएर उनले पट्टा देखाएपछि पेन्सन पाउँथे । बोर्डको कागजात मिलाएपछि मात्र फेरी बैंकमा घण्टौं लाईन बसेर खाता ‘अपडेट’ गर्नुपर्ने झण्झट उनीहरूलाई परेको हो । पेन्सन पाउनका लागि सदरमुकाममा मात्र शाखा भएको एसबिआई र एभरेष्ट बैंक तोकिएको छ ।

हरेक बर्षको एकपटक पेन्सनकर्ता जिउँदै छु भन्ने प्रमाण जुटाउन सैनिक बोर्डमा अनिवार्य आउनुपर्ने व्यवस्थाले सास्ती भोग्नु परेको हरिचौरका ८१ बर्षिय टेकबहादुर खत्रीले गुनासो गरे । बोर्डले भारतीय बैंक सँग कारोवार भएका एसबिआई र एभरेष्ट बैंकमा मात्र खाता खोल्ने सुविधा दिएको छ । नियमित सदरमुकाम आउन साथी चाहिने, सदरमुकाम आउजाउ गर्न हजारौं खर्च हुने समस्याले बुढाबुढी निरास भएका हुन् । बैंकमा आएर सबै रकम एकैपटक झिक्न पनि नपाउने व्यवस्था छ । बोर्डले एक पटकमा एकलाख रुपैयाँ भन्दा धेरै रकम झिक्न नदिएपछि पटक पटक सदरमुकाम धाउन बाध्य भएको बुढाले गुनासो गरिन् ।


एक बर्षदेखि जिल्लाका सबै स्थानीय तहमा बाणिज्य बैंकका शाखा पुगेका छन् । उनीहरूमा पैसा पाउने व्यवस्था नभएपछि उनीहरूले सदरमुकाममै आउन परेको हो । बोर्डले भने पेन्सन बितरणको समयमा धेरै जनशक्ति लागेको, बुढाबुढीको पैसा ठगिने वा चोरिने समस्या हुने गरेकोले बैंकमा खाता खुलाएको बताएको छ ।

केही समय अघि भारतीय सेनाका समाजकल्याण प्रमुख बागलुङ आएर बैंकबाट पेन्सन बितरण घोषणा गरेका थिए । उक्त घोषणापछि पेन्सन खातामा पठाउन थालेको हो । बोर्डमा दर्ता भएर पेन्सन थाप्ने धौलागिरी अञ्चलका ७ हजार भन्दा धेरै छन् । क्षेत्रगत आधारमा बागलुङ, पर्वत र म्याग्दीकालाई १२ दिन सम्म लगाएर पेन्सन वितरण गरिन्थ्यो । यहाँबाट बर्षमा ७० करोड रुपैयाँ बढी रकमको पेन्सन वितरण हुने गरेको छ । पेन्सन क्याम्पस संचालनको बेला बागलुङमा मेला समेत लाग्थ्यो ।

प्रकाशित : वैशाख ११, २०७६ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?