कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रदेशसभा सचिवालयलाई संरचना अभाव

लालप्रसाद शर्मा

पोखरा — मुख्यमन्त्री, सभामुखलगायत मन्त्री र सांसद दोहोर्‍याइरहन्छन्, ‘गण्डकीलाई भौतिक पूर्वाधारलगायत क्षेत्रमा अरूभन्दा अब्बल र समृद्धि प्रदेश बनाउने ।’ प्रदेशसभा गठन भएको १५ महिना पुग्यो । प्रदेश सरकार गठन भएको पनि वर्षदिन नाघ्यो । 

प्रदेशसभा सचिवालयलाई संरचना अभाव

विडम्बना, सरकार गठनदेखि विभिन्न कानुन बनाउने सार्वभौम प्रदेशसभा सचिवालयको संरचना व्यवस्थापनमा भने अहिलेसम्म चासो देखाइएको छैन । संसदीय दल, संसदीय समितिलगायतका लागि पर्याप्त भौतिक संरचना अभावमा समग्र प्रदेशसभाको काम नै प्रभावित बनेको छ । नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको भवनमा प्रदेशसभा हल छ । त्यसैको एउटा भवनमा सचिवालय निकै गाह्रोसाथ सञ्चालित छ । अर्को भवनमा लेखा र स्टोर छन् । तर, संसदीय दल, संसदीय समितिका कार्यालय, मुख्यमन्त्रीको कार्यालय, पुस्तकालयलगायत संरचना बनेका छैनन् ।


‘न्यूनतम तर अत्यावश्यक संरचना पनि बनाउने प्रयास भएन,’ सचिवालयका एक कर्मचारीले भने, ‘निकै दयनीय अवस्थामा काम गर्नुपरेको छ ।’ भौतिक संरचना अभावमा सचिवालयमा कुर्चीसमेत राख्ने ठाउँ नभएपछि कर्मचारी उभिएरै काम गर्न बाध्य छन । सार्वजनिक लेखा समितिका सभापति कुमार खड्का भौतिक पूर्वाधार अभावमा समितिहरूले सक्रिय रूपमा काम गर्न नपाएको बताउँछन् । ‘प्लाजाका कुरा गरेर प्रदेश सरकारले प्रदेशसभाको भौतिक पूर्वाधारतर्फ ध्यान दिएन,’ उनले भने, ‘संरचना अभावले प्रदेशसभाको काम प्रभावित भइरहेको छ । प्रदेशसभा भवन कहाँ बनाउने भन्ने टुंगो छिटो लगाउनुपर्‍यो ।’


प्लाजा बन्न वर्षौं लाग्ने भएकाले हाललाई यही ठाउँमा संरचना बनाएर अघि बढ्दा राम्रो हुने उनको भनाइ छ । प्रदेश मामिला समितिका सभापति कृष्ण थापाले पनि दुई समितिको बैठक एकैदिन परेमा एउटाले स्थगित गर्नुपर्ने बताए । भौतिक संरचनाका लागि धेरैपटक कुरा राखे पनि सुनुवाइ नभएको भन्दै उनले सचिवालयले योजना बनाएर अघि बढ्नुपर्ने सुझाव दिए ।


सचिवालयको माथिल्लो तलामा सभामुखको कार्यकक्ष, प्रमुख प्रतिपक्षी कांग्रेसको संसदीय दलको कार्यालय छ । त्यसैगरी समितिका लागि एउटा हल र सत्तासीन नेकपा संसदीय दलको कोठा छ । साबिकका एमाले र माओवादी केन्द्र एउटै भएपछि दलको कोठा पनि साँघुरिएको छ ।


स्थान अभावमा संसदीय समितिहरूले एउटै कोठामा आलोपालो बैठक बस्छन् । सोही भवनको भुइँतलामा उपसभामुख, सचिवको कार्यकक्ष, मिडिया सेन्टर, कार्यव्यवस्था र विधायन समितिका कर्मचारी, प्रशासन र कानुनका कर्मचारी साँघुरो हालतमा बसेर काम गर्छन् । ‘कर्मचारी नै बस्ने ठाउँ छैन,’ सचिवालयका निमित्त सचिव हरिप्रसाद बाँस्तोला भन्छन्, ‘कामविशेषले आउनेलाई बसाउन पाइँदैन ।’ नगर विकास प्रशिक्षण केन्द्रसँग थप ८ कोठा मागेर रङरोगनको काम भइरहेको छ । यसले पनि ठाउँ पर्याप्त हुँदैन ।


सचिवालयमा ३६ कर्मचारीको दरबन्दी रहेकोमा अहिले ३० जना छन् । प्रदेश सरकारले हालको स्थान अस्थायी भएको, मुख्यमन्त्री कार्यालय नजिकै प्लाजा बनाएर सार्ने र नगर विकास प्रशिक्षण केन्द्रलाई प्रदेश प्रशिक्षण प्रतिष्ठान बनाउने भनेको छ । तर तत्काल सम्भव छैन । सत्तासीन नेकपाका प्रमुख सचेतक मायानाथ अधिकारीले प्रदेशसभाको संस्थापक हुनुको नाताले दुःखसुख र निर्वाहसाथ चित्त बुझाएर बसिएको बताउँछन् । प्रशिक्षण केन्द्रकै सबै संरचना ल्याएमा पर्याप्त भएर ५ वर्ष ढुक्क भइने उनको भनाइ छ । ‘भौतिक संरचना जुन रूपमा व्यवस्थापन हुनुपर्थ्यो त्यो भएको छैन,’ उनले भने, ‘थप कोठा मागिएको र अस्थायी संरचना पनि बनाउन लागिएकाले अब दुःख नपाइएला ।’


सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सरकारले प्लाजा भने पनि आफूहरूले भने हालकै स्थान उपयुक्त रहेको भन्दै दुई पटकसम्म निर्णय गरी पठाएको बताए । ‘प्रदेशसभा कहाँ रहने भन्ने ठोस निर्णय भएको छैन,’ उनले भने, ‘उपयुक्त स्थान अहिलेकै ठाउँ हो । अब अस्थायी भए पनि संरचना बनाउँछौं । संरचनागत रूपमा सचिवालय व्यवस्थित हुन्छ ।’ सचिवालयले तत्काललाई अस्थायी संरचनाका लागि आवश्यक प्रक्रिया थालेको जनाएको छ । ५ कोठे प्रिफेब (अस्थायी भवन) बनाउनका लागि चैत २२ मा ललितपुरको मेट्री कन्स्ट्रक्सन प्रालिसँग सम्झौता भइसकेको छ । सम्झौताको एक सातामा काम सुरु गर्ने र ६ महिनाभित्र सक्नुपर्ने सम्झौतामा भनिएको छ ।

प्रकाशित : वैशाख ७, २०७६ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?