विद्यार्थी नभएपछि खारेज

प्रकाश बराल

बागलुङ — शिक्षा नियमावलीले ४५ जना विद्यार्थीको अनुपातमा एक शिक्षक दरबन्दीको व्यवस्था गरेको छ । सदरमुकामकै बागलुङ नगरपालिका ६ को सिमस्थित भगवती प्राविमा झण्डै चार वर्षदेखि विद्यार्थी थिएनन् । 

हरेक वर्ष कक्षा १ मा ५ जना विद्यार्थी देखाइए पनि अन्य कक्षा शून्य थियो । कक्षा ४ सम्म चलेको यो विद्यालयमा ३ शिक्षक र १ सहयोगी छन् । नगरपालिकाकै वडा १२ को कृष्ण प्रावि र भैरव प्राविमा केही वर्षदेखि शून्यता छ । वडा १३ को आदर्श प्राविमा ७ विद्यार्थी देखाइए पनि कक्षामा पुग्दा सुनसान हुने गर्थ्यो ।


बागलुङ नगरपालिकाभित्रका ८८ विद्यालयमध्ये दुई दर्जन बढी विद्यालयमा शिक्षक मात्र हाजिर गरेर दिन बिताउने गरेको टिप्पणी भइरहेको थियो । नगरपालिकाले विद्यार्थी र शिक्षक अनुपातको अवस्था अध्ययन गर्न टोली खटायो । उक्त टोलीले वास्तविकता पत्ता लगाएपछि चालु शैक्षिक शत्रदेखि लागू हुने गरी ६ विद्यालय खारेजीमा परेका छन् । नगरभिक्रकै ८ विद्यालयलाई घटुवा गरिएको श्रोतव्यत्ति ढकबहादुर पुनले बताए ।


अझै दर्जन बढी विद्यालयमा साह्रै न्यून विद्यार्थी छन् । ९ हजार ३ सय १२ बालबालिका पढ्ने सामुदायिक विद्यालय मध्ये सदरमुकामको विद्यामन्दिर माविमा १ हजार ४६ जना, नारायणस्थानको गणेश माविमा ५ सय ८० र रुद्रे पीपलमा ४ सय ९५ विद्यार्थी छन् । ‘विद्यार्थी शून्य भएका विद्यालयलाई एक वर्षलाई स्थगन गरिएको छ’ पुनले भने, ‘तोकिएका विद्यार्थी संख्या आएको खण्डमा पुनः सञ्चालन गर्न दिने निर्णय भएको छ ।’ अभिभावकको विरोध आउने देखेर उनले खारेज नभई स्थगन मात्र भएको दाबी गरे ।


विद्यालय खारेजीपछिको सम्पत्ति वडा शिक्षा समिति र वडा कार्यालयलाई जिम्मा लगाइएको हो । नगरपालिकाले ती विद्यालयमा कार्यरत शिक्षकलाई वैशाखभर नजिकको विद्यालयमा भर्ना अभियान चलाउन पठाइएको छ । त्यसपछि अनुकूलताका आधारमा पदस्थापन गरिने योजना छ ।


नगरपालिकाको शिक्षा शाखाले दिएको जानकारी अनुसार बागलुङ ६ को भगवती प्रावि, वडा १० को जनता प्रावि, वडा १२ का कोटभैरव प्रावि कृष्ण प्रावि र कालीगण्डकी प्रावि तथा वडा १३ को आदर्श प्रावि खारेजीमा परेका हुन् । त्यस्तै वडा ८ को भैनडाँडा आधारभूत विद्यालयलाई कक्षा ६, ७ र ८ खारेजी गरेर प्रावि बनाइएको छ । त्यस्तै वडा ६ को सदाशिव प्राविको कक्षा ४ र ५ घटुवा भएको छ । ज्योतिपुञ्ज प्रावि र वसुन्धरा प्राविको कक्षा ४ र ५ काटिएको हो ।


त्यस्तै रानीभूमि प्रावि, बराह प्रावि, माछापुच्छ्रे प्राविलगायतमा समेत कक्षा ४ र ५ हटाएको हो । सरस्वती सामुदायिक प्राविको भने कक्षा १ मात्र राखिएको हो । अब ती विद्यालयमा बालविकास केन्द्र मात्र सञ्चालन हुनेछन् । शिक्षा नियमावलीले ४५ जना विद्यार्थीलाई एकजना शिक्षक भने पनि त्यसको १० प्रतिशतमा भए पनि दरबन्दी दिने नीति नगरपालिकाले बनाएको प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले बताए । १ कक्षादेखि ३ सम्म चलेको विद्यालयमा कम्तीमा १५ जना विद्यार्थी भएमा एकजना दरबन्दी दिएर सञ्चालन अनुमति दिने नीति बनाउँदासमेत ती विद्यालय खारेजीमा परेका हुन् ।


यो अनुपातले कम्तीमा २५ बालबालिका भए प्रावि र ३५ जना भए आधारभूत तहको अनुमति दिने नगरपालिकाले नीति बनाएको हो । भूगोलको कठिनाइले अप्ठ्यारो परेको खण्डमा आवश्यकताको आधारमा दरबन्दी दिएर पढाइ सञ्चालन गर्ने गरी निर्णय भएको सुवेदीले बताए ।

प्रकाशित : वैशाख ५, २०७६ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?