कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

असहायलाई २७ घर

आफ्नो थातबास उभ्याउन नसक्नेका लागि निर्माण गरिएका घर अपांगतामैत्री र बालमैत्री
आश गुरुङ

लमजुङ — भूकम्पबाट प्रभावित दोर्दी गाउँपालिकाका अपांगता भएका र असहाय २७ परिवारले नयाँ घर पाएका छन् । नयाँ घर पूर्ण रूपमा भूकम्प प्रतिरोधी बनेको छ ।

असहायलाई २७ घर

भूकम्पबाट क्षतिग्रस्त आफ्नो थातवास उभ्याउन नसकेकाहरूका लागि घर निर्माण गरिएको हो । यसमा अपांगता अवस्थाका १२ परिवारको घर बनेको छ । दोर्दी गाउँपालिकाका ९ वडामध्ये वडा ४, नौथर, ५ को पाचोक र ६ को ढोडेनीमा ७/७ वटा नमुना आवास बनाइएको छ । वडा १ को भारते, २ को अर्चलबोट, ३ को श्रीमञ्ज्याङ, ७ को फलेनी, ८ को बन्सार र ९ को हिलेटक्सारमा एउटा/एउटा घर निर्माण गरिएको छ । जनजाति २०, आदिवासी १, दलित ५ र ब्राह्मणका एउटा घर निर्माण भएको हो ।


टियर फन्ड यूकेको आर्थिक सहयोगमा इन्टरनेसनल नेपाल फेलोसिप (आईएनएफ) ले शतप्रतिशत लगानीमा अपांगता तथा असाहयको घर निर्माण गरिदिएको हो । एउटा घर निर्माणमा आइएनएफले ५ लाख ९६ हजारदेखि ७ लाख ५० हजार रुपैयाँसम्म खर्च गरेको छ । नमुना आवास निर्माणमा मात्रै १ करोड ८२ लाख ९२ हजार रुपैयाँ खर्च भएको सेल्टर परियोजना दोर्दीका संयोजक दिनेश कुँवरले बताए । उनका अनुसार भूकम्प प्रतिरोधी घर अपांगतामैत्री र बालमैत्री बनाइएको छ । शौचालयसमेत निर्माण तथा मर्मत गरिदिएको उनले बताए ।


आइएनएफ कास्की कम्युनिटी क्लस्टरका म्यानेजर विष्णु गिरीका अनुसार स्थानीय गाउँमै पाइने स्थानीय स्रोत ढुंगा, माटो र काठ प्रयोग गरी भूकम्पपीडितका घर निर्माण गरिएको छ । अपांगता भएकालाई मध्यनजर राखेर शौचालयका केही ठाउँमा कम्बोट प्यान राखिएको छ । ‘हामीले अपांगता र असाहय घर छनोटका लागि गाउँपालिकालाई जिम्मा लगाएका थियौं । यसमा २७ घर छनोट भयो । हामीले उक्त घर निर्माण गर्‍यौं,’ उनले भने ।


उनका अनुसार १ सय ५० जना डकर्मीलाई तालिम दिएर घर निर्माण गर्न लगाइएको थियो । गाउँपालिका साथै सबै वडामा विपद व्यवस्थापन समिति गठन साथै दोर्दी गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा १ लाख १० हजार सहयोग गरेको उनले बताए । दोर्दी गाउँपालिका ४, नौथर शेरामा बिहीबार एक कार्यक्रमको आयोजना गरी नेकपा संसदीय दलका प्रमुख सचेतक, संघीय सांसद देव गुरुङले २७ घरपरिवारलाई आवास हस्तान्तरण गरे । उनले भने, ‘पुनर्निर्माणमा सरकारलाई सबैको साथ र सहयोगको आवश्यक छ ।

समयमै पुनर्निर्माण सक्न जनप्रतिनिधि, कर्मचारी र लाभग्राही स्वयं पनि लाग्नुपर्छ ।’ भूकम्प गएको ४ वर्ष पुगे पनि वास्तविक पीडित कतिपयको घर पुनर्निर्माण हुन नसकेकाले समयमै पुनर्निर्माण सक्न उनले जनप्रतिनिधिलाई आग्रह गरे । ‘अझै पनि कतिपय पीडित छाप्रामा छन् । कतिपयले वडा तथा स्थानीय तहमै आउन सकेका छैनन् ।असाहय तथा विपन्नलाई सहयोग पुग्ने गरी अघि बढौं ।’


संस्थाले हाल १२ जिल्लामा काम गरिहरेको आईएनएफ नेपालका सामुदायिक निर्देशक डा. बुद्धिबहादुर थापाले बताए । उनका अनुसार अपांगता सशक्तीकरण, पुनःस्थापना र समावेशीकरण, भूकम्पीय पुनर्निर्माण, विपद् न्यूनीकरण तथा व्यवस्थापन सामुदायिक स्वास्थ्य तथा विकास, मातृ शिशु तथा पोषणको क्षेत्रमा काम गर्दै आएको छ ।


जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले निजी आवास पुनर्निर्माण कार्य ढिलाइ भएकाले यसलाई चाँडो सक्नुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई, दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङ, गैरसरकारी संस्था महासंघ लमजुङका अध्यक्ष प्रेमबहादुर भट्टराईलगायतले भूकम्प प्रतिरोधी आवास निर्माण भएनभएकोबारे सबै चनाखो हुनुपर्नेमा जोड दिए ।

प्रकाशित : चैत्र २९, २०७५ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?