कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

घर–घरमा दाँतेओखर

म्याग्दी — हावापानी अनुकूल हुने प्राविधिकको सुझावपछि जिल्लाको दुर्गम धौलागिरि गाउँपालिकाले ३ हजार १ सय घरधुरीलाई दाँतेओखरका २–२ वटा बिरुवा रोप्न लगाएको छ । गाउँपालिकाभित्रका सबै घरधुरीलाई रोप्न लगाइएको हो । 

गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयका एक विद्यार्थी बराबर दुइ बोटका दरले ५ हजार दाँतेओखरका बेर्ना रोपिएको हो । गाउँपालिका क्षेत्रभित्र फलफूल र जडीबुटीको व्यावसायिक खेती प्रवर्द्धन गर्न पहिलो चरणमा नमुनाका रूपमा ओखर सबैको बारीमा पुर्‍याइएको हो । त्यसैगरी व्यावसायिक खेती गर्न स्थानीयलाई २० हजार सिल्टिमुरका बेर्ना पनि वितरण गर्न थालिएको छ ।


त्यसैगरी व्यावसायिक जडीबुटी प्रवर्द्धन गर्न धौलागिरि गाउँपालिकाले बहुमूल्य जडीबुटी सतुवाको ५० हजार बेर्ना धमाधम वितरण गरिरहेको छ । धौलागिरि गापा, १ गुर्जा, ४ मुदी र खिवाङ्गमा छुट्टाछुट्टै जडिबुटी तथा कृषि समूहमार्फत १४ हजारका दरले र ८ हजार २ नम्बर वडाको खोरिया आधारभूत विद्यालयले सतुवाको खेती गर्न सुरु गरेका छन् । सतुवा खेती गर्न समूहले निजी बाँझो जग्गा २० वर्षका लागि निःशुल्क लिजमा लिएका छन् ।


‘हाम्रो प्राथमिकता व्यावसायिक जडिबुटी, फलफूल र पशुपालन नै हो । गापाको बजेट, नीति तथा कार्यक्रम पनि सडकपछि यही क्षेत्रमा केन्द्रित गरेका छौं,’ धौलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुनले भनिन्, ‘धौलागिरि वास्तवमा हर्बल हव नै हो । धौलागिरीका गुर्जा, लुलाङ्ग, मुदीबाट बर्सेनि करोडौं मूल्यका जडिबुटी निकासी हुने गरेको छ ।’


धौलागिरी प्रथम, दोस्रो, तेस्रो, चौथो, पाँचौं र छैटौं, मानपाथी, चुरेन, पुथा र गुर्जासमेत १० वटा हिमाल रहेको धौलागिरी गाउँपालिकाले म्याग्दीको ४५ प्रतिशत भुगोल ओगटेको छ । धौलागिरी गापा, १ गुर्जाबासीको मुख्य आम्दानीको श्रोत नै यार्चागुम्बा, जंगली च्याउ समेतका जडिबुटीको ब्यापार हो । यार्सागुम्बा, रातो च्याउ, सतुवा समेत बहुमुल्य जडिबुटी र वनस्पतीको उत्पादन र निकासी गरी जीविकोपार्जन गर्ने हुँदा गुर्जालाई हर्वल भिलेज पनि भनिन्छ ।


‘गुर्जामा प्रयाप्त जग्गा छ, जडिबुटी खेतीको संभावना छ र सफल प्रयोग पनि भएको छ, बजारको चिन्ता लिनु पर्ने छैन । म प्रष्ट छु त्यसैले हर्वल हव गुर्जा बनाउने वाचा कार्यान्वयन सुरु गरेको छु,’ वडाध्यक्ष झकबहादुरले भने, ‘यस बर्षदेखी समुहमा सतुवा खेती सुरु गरेका छौं, अरु जडिबुटीको पनि व्यावसायीकरण गर्ने प्रयत्नमा छौं ।’


डिभिजन वन कार्यालय म्याग्दीको अभिलेख अनुसार धौलागिरी गाउँपालिकाबाट मात्र ३० क्विन्टल रातो च्याउ उत्पादन हुन्छ । वन कार्यालयले जिल्लाभित्र खपत हुने च्याउको संकलन र छोडपुर्जी दिने गरेको छैन ।


गुर्जाको जंगलमा यार्चागुम्बु, रातो, गुच्ची र खुत्ले जातका च्याउ व्यापारिक प्रयोजनमा संकलन गरिन्छ । वडाध्यक्ष समेत रहेका व्यापारी झक छन्त्यालका अनुसार गुर्जामा अघिल्लो वर्ष यार्चागुम्बु प्रतिकेजी ५ लाख, गुची च्याउको प्रतिकेजी २० हजार, खुत्के च्याउको ८ हजार र रातो च्याउको एक हजार पाँच सयमा किनबेच भएको थियो ।


यार्चागुम्बु, रातो, गुची, खुत्के च्याउबाहेक गुर्जाबाट कटुकी, पदमचाल, पाँच औले, सिलाजित, विष, सतुवासमेत तीन दर्जनबढी जडिबुटी निर्यात गरी वार्षिक सरदर ८० लाख बढी भित्रिने गरेको छ । यार्चागुम्बु र खुत्के च्याउ चीन निर्यात हुन्छ भने गुची च्याउको माग दक्षिण भारतमा बढी छ ।

प्रकाशित : चैत्र २९, २०७५ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?