१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

मेसिनबाट सेनेटरी प्याड

प्रतिक्षा काफ्ले

स्याङ्जा — बैंकको एटीएम मेसिनबाट ग्राहकले आफ्नो खाता भएको पैसा निकाल्न पाउने सुविधा अब सहरबजारका लागि नौलो रहेन  । त्यस्तै मेसिनबाट सेनेटरी प्याड निकाल्न पाइने सुविधा पनि स्याङ्जामा भित्रिएको छ  ।

मेसिनबाट सेनेटरी प्याड

फेदीखोला गाउँपालिकाले यस्तो उपकरण भित्र्याएको हो । ‘यस्तो मेसिन प्रयोगमा ल्याउने हामी तेस्रो जिल्ला भएका छौं,’ गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले भने । सुवेदी, जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दास र एक छात्राले कार्ड स्वाइप गरेर सेनेटरी प्याड निकाल्दै नयाँ सुविधा शुभारम्भ गरेका छन् । फेदीखोला–२ को सिद्धार्थ माध्यमिक विद्यालयमा मेसिन सञ्चालनमा ल्याइएको हो ।


महिनावारी भएका बेला छात्राहरू हरेक महिना दुई/तीन दिन कक्षामा अनुपस्थित रहने समस्या छ । ‘त्यस्तो बेला कक्षामा आउनेले पनि सेनेटरी प्याड प्रयोग गर्न नपाएको र बढि रक्तश्राव हुनेहरू नपढी घर फर्किने कुरा हामीले थाहा पाएपनि मेशिन ल्याउन सल्लाह मिलेको हो,’ अध्यक्ष सुवेदीले भने । कक्षा ६ देखि माथिका छात्रालाई लक्षित गरी गाउँपालिका र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको सहकार्यमा सेनेटरी प्याड भेन्डिङ मेसिन ल्याइएको जानकारी उनले दिए । ‘छात्राको महिनाबारीलाई मर्यादित, गोपनीयता राख्न र स्वच्छता व्यवस्थापन गर्न यो मेसिनको सुरुवात गरिएको हो,’ उनले भने, ‘हामीले बुझदा यो प्रविधि काठमाडौं र बुटवलको एक/एकवटा विद्यालयमा मात्र रहेछ । नेपालभर सेनेटरी प्याड निकाल्ने मेसिन प्रयोग गर्ने विद्यालयमध्ये हामी तेस्रो स्थानमा पर्ने रहेछौं ।’


कक्षा ९ की छात्रा शुभेक्षा शर्माले मेसिनबाट पहिलोपटक कार्ड प्रयोग गरेर सेनेटरी प्याड निकालिन् । ‘पहिला स्कुल कसरी जाने, कक्षामा छँदा महिनावारी भएमा के गर्ने, महिनाबारी भएका बेला साथी वा शिक्षकलाई भन्न अप्ठ्यारो हुने दुविधा थियो,’ उनले भनिन्, ‘अब महिनावारीका बारेमा थाहा नपाउने कोही छैनन् । मेसिन आएपछि झन् सजिलो हुने देखेकी छु ।’ धेरैजना छात्राले महिनावारीका बेला लाजले कक्षा छाड्ने र असुरक्षित कपडा प्रयोग गर्ने बाध्यता अब हट्ने उनले बताइन् ।


मेसिनमा स्मार्ट कार्ड प्रयोग गरिन्छ । प्रत्येक विद्यार्थीलाई एक/एकवटा स्मार्ट कार्ड दिइन्छ । उक्त कार्ड मेसिनमा राखेपछि त्यसबाट प्याड निस्कन्छ । एउटा कार्ड एकपटक मात्र प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । एकपटकमा ५० प्याड राखिने मेसिनमा घटेको संख्या हेरेर पुनः थप गर्दै जाने व्यवस्था गरिएको छ । ८८ हजार मूल्य बराबरको मेसिन काठमाडौंबाट ल्याइएको गाउँपालिकाले जनाएको छ । जिसस प्रमुख सीता सुन्दासले किशोरीलाई महिनावारी हुँदा नियमित विद्यालय आउनका लागि सेनेटरी प्याड सुलभ बनाइनु असल काम भएको बताइन् । ‘यसरी सुविधा भयो भने कुनै पनि छात्राले महिनावारीकै कारण अप्ठ्यारो लागेर कक्षा छाड्ने छैनन्,’ उनले भनिन् ।

प्रकाशित : चैत्र १८, २०७५ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?