जोखिमकै जमिनमा नयाँ बस्ती

नयाँ घरमा सर्ने खुसीसँगै वर्षामा पहिरो दोहोरिएला भन्ने चिन्ता

लस्ती, पर्वत — पहिरोले बस्तीको नामनिसाना नै मेटिनेगरी पुरिएको जमिनमा पुनः धमाधम नयाँ घर ठडिँदैछन् । गाउँको बीचमा बमबहादुर परियारको घर पनि बन्दैछ । पहिरो गएपछि उनको घरको भग्नावशेष पनि देखिएको थिएन । त्यही पहिरो पन्छाएर अहिले लस्तीको बरेनेटामा १९ घर निर्माण हुँदैछन् ।

जोखिमकै जमिनमा नयाँ बस्ती

गत साउनमा १६ वर्षीय छोरा गुमाएका जलजला–८ बरेनेटाका परियार अबको एक महिनाभित्रै नयाँ घरमा सर्दैछन् । नयाँ घरमा बस्न पाउँदा खुसी हुनुपर्ने हो तर उनलाई मनमा चैन छैन ।

अझै पनि छोराको सम्झनाले राती निद्रामा बर्बराउँछन् । नयाँ घर बन्दैगर्दा अधिकांशले पहिरोको घटना बिर्सेका छैनन् । गत साउन १ को राति बस्तीमाथिबाट धमाधम पहिरो खसेर सोत्तर बनेको गाउँ अहिले झट्ट हेर्दा भरिभराउ हुँदै गरेको भए पनि गाउँवासी ढुक्क छैनन् ।


गाउँपालिकाले विभिन्न दाताहरू खोजेर यहाँका पीडितलाई नयाँ घर बनाउन सुरु गरेको हो । नयाँ घर निर्माणका लागि अन्तर्राष्ट्रिय पर्वत समाज र असल छिमेकी नामक संस्थाले सहयोग गरेको छ । प्रतिपरिवार ३ लाख रुपैयाँका दरले सहयोग रकम आएकोमा बाँकी स्थानीयले श्रमदान गरेका छन् ।

त्यसबाहेक पर्वत र पोखराका लायन्स क्लबले समेत आर्थिक सहयोग गरेका थिए । एउटा घर निर्माण गर्दा कम्तीमा सात लाख रुपैयाँ खर्च हुने अनुमान छ । २ महिनाअघि निर्माण सुरु गरेका घर आगामी दिनमा सकिँदैछन् । वर्षाअगावै घर सकिएर सर्ने सुरसार गरेका पीडित नयाँ बासमा सर्न पाउने खुसीसँगै आगामी वर्षामा पहिरो दोहोरिने चिन्तामा छन् । ‘एकै राति १३ वटा पहिरो खसेका थिए,’ अम्मर परियारले भने, ‘अहिले पनि यहाँ पहिरो नखस्ला भन्न सकिन्न । रोकथाम केही भएको छैन । अब पहिरो खसे हामी कता जाने ?’


नयाँ जमिन खोजेर एकीकृत बस्ती बनाइदिन स्थानीयले आग्रह गरेका थिए । गाउँपालिकाका अध्यक्ष, वडाध्यक्षलगायत यहाँ आउने देशकै विशिष्ट व्यक्तिलाई समेत गरेको आग्रह सुनुवाइ नभएकोमा भने पीडित चिन्तित छन् । ‘सांसददेखि राष्ट्रियसभाका अध्यक्षसम्म पहिरो हेर्न आए,’ स्थानीय गणेश नेपालीले भने, ‘आउनेजति सबैलाई बिलौना गरियो । हाम्रा लागि कसैले नयाँ ठाउँ देखाइदिएनन् । जोखिम मोलेरै नयाँ घरको जग हालियो ।’

प्रकाशित : चैत्र १५, २०७५ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?