इन्जिनियर पर्खंदै भूकम्पपीडित

आश गुरुङ

लमजुङ — भूकम्पले घर भत्काएपछि दोर्दी–४ जितौरेकी मैतमाया गुरुङको परिवार अझै टहराको ओतमा छ । तत्कालीन गाविसले दिएको परिचयपत्र छ । बाटैमा भत्किएको घर । त्यसलाई हेर्न कुनै पनि इन्जिनियर प्राविधिक अहिलेसम्म नआएको उनको गुनासो छ । 

भूकम्पले घर भत्काए पनि अनुदान नपाएको गुनासो गर्दै लमजुङको दोर्दी गाउँपालिका ४, जितारेकी स्थानीय । तस्बिर : आश/कान्तिपुर

लाभग्राही सूचीमै नपरेपछि उनले घर बनाउन किस्ता पाउने कुरै भएन । ‘घर भत्किएर धूलोपीठो भएको छ । ४ बर्ष भयो । अहिलेसम्म कसैले हेरेको छैन,’ उनले गुनासो गरिन्, ‘इन्जिनियर आउँछ भन्छ, आउँदैन । कहाँ खोज्न जाऊँ इन्जिनियर ?’ राइनास नगरपालिका १, बोराङखोलाकी शान्ता न्यौपानेको पीडा पनि उस्तै छ । भूकम्ले घर क्षति पुर्‍याएको छ । तर, घर बनाउन अनुदान पाएका छैनन् । ‘प्राविधिकले हेरेर गएको हो । भत्किएको घर पनि किन सूचीमा परेन ?’ उनले गुनासो गरिन् । उनले समस्या सुनाउन इन्जिनियरलाई भेट्न खोजे पनि नपाएको गुनासो गरिन् ।

भूकम्पले घर भत्किए पनि लाभग्राही सूचीमा नपरेको भन्दै ६ हजार ८ सय बढीले गुनासो फारम भरेका छन् । कतिपयले गुनासो फारम कहाँ भर्ने भन्ने जानकारी अझैसम्म छैन । भूकम्पले घर भत्काए पनि लाभग्राही सूचीमा नपरेको भन्दै भूकम्पपीडितले २०७४ मंसिर अगावै गुनासो फारम भरेका थिए । गुनासो फारम भरेको डेढ वर्ष बित्नै लाग्दासमेत सम्बोधन नगरेको भन्दै पीडित रुष्ट छन् ।

तिनै पीडितको छुट सर्वेक्षणकार्य चैत १५ गतेदेखि गर्ने तयारी गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) कार्यालयका डिस्ट्रिक सपोर्ट इन्जिनियर उमेशकुमार डंगोलका अनुसार स्थानीय तहमा खटिएका इन्जिनियरमार्फत स्थलगत लगत संकलन गर्ने तयारी गरिएको हो । तर, स्थानीय तहमा खटिएका इन्जिनियर प्राविधिक आन्दोलनमा रहेकाले तत्काल कार्यान्वयनमा समस्या आउन सक्ने आकनल गरिएको छ ।

नगरपालिका तथा गाउँपालिकामा परिचालित इन्जिनियरबाट वरिष्ठताको हिसावबाट २/२ जनालाई छनोट गरी २ दिन प्रशिक्षण दिइने र उनीहरूलाई परिचालन गरिने डंगोलले बताए । उनका अनुसार पहिले सवेक्षणमा छुट भएका र सर्वेक्षण भएर पनि लाभग्राही सूचीमा नपरेकाको लगत संकलन हुनेछ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनः जाँच सर्वेक्षण कार्य वैशाख मसान्तसम्म गर्ने भएको छ । यस अवधिमा २०७४ मा लगत संकलन नभएका गुनासोकर्ता र स्थानीय तहमा तोकिएको समयसीमाभित्र नयाँ दर्ता गरिएका गुनासोको पनि सर्वेक्षण हुनेछ । यसका लागि लमजुङका ८ वटा स्थानीय तहमा १६ जना इन्जिनियर खटिनेछन् ।

कार्यालयका फोकल पर्सन इन्जिनियर शीतलबाबु लोहनीका अनुसार इन्जिनियर गाउँमा खटिएको समयमा वडा तथा नगरपालिकाको सिफारिसमा स्थलगत गुनासो दर्ता हुने र सर्वेक्षण हुने व्यवस्था छ । गुनासो गरेपछि प्रक्रियागत रूपमा इन्जिनियरले सर्वेक्षण गरी लगत संकलन गर्नेछ ।

यो कार्य उक्त वडामा छुट तथा पुनः सर्वेक्षणका लागि खटिएका इन्जिनियर रहेको समयमा मात्रै गर्न सकिनेछ । ‘जवसम्म पुनः सर्वेक्षणमा खटिएका इन्जिनियरले सोही वडामा सर्वेक्षण गरिरहेको हुन्छ, तबसम्म मात्रै उक्त वडाका पीडितले गुनासो गरी आफ्नो भत्किएको घर सर्वेक्षण गराउन सक्नेछन्,’ उनले भने, ‘इन्जिनियरले वडा छोडेर गएपछि यो सुविधा प्राप्त हुने छैन ।’

यसबारे जिल्ला समन्वय समितिका प्रमुखलगायत सबै स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, प्रमुख जिल्ला अधिकारीलगायतलाई जानकारी गराएको उनले बताए । स्थानीय तहका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी गराउन जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) ले शुक्रबार अभिमुखीकरण गराएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले भूकम्प गएको ४ वर्ष बित्नै लाग्दा पनि पीडितको घर सर्वेक्षण नहुनु, अनुदान रकम पाउन नसक्नु लाजमर्दो कुरा भएको बताए । ‘कति पीडित रुन आउँछन् । कति कराउन आउँछन् । यस्ता कार्यमा ढिलाइ हुँदा नागरिकले राहत पाउन सकेका छैनन्,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले सरकारले निर्देश गरेपछि कर्मचारीले आफ्नो काम कर्तव्य पूरा गर्नुपर्ने बताए । ‘फिल्डमा खटिएका साथीहरूका कारण समस्या भइरहेको सुन्नमा आउँछ । नागरिकलाई जसरी हुन्छ प्रक्रियागत रूपमा कानुनमा टेकेर सेवा दिने हो,’ उनले भने, ‘नागरिकलाई सेवा दिन कन्जुस्याइँ किन गर्ने ?’

२०७२ वैशाख १२ गतेको भूकम्पपछि लमजुङमा २०७३ पुस २१ गतेबाट निजी आवास पुनर्निर्माणका लागि प्राविधिक सर्वेक्षण सुरु भएको थियो । चैत २८ गतेदेखि अनुदान सम्झौता थालिएकोमा असार १४ गतेदेखि अनुदान वितरण सुरु गरिएको थियो । पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार), का निमित्त आयोजना प्रमुख इन्जिनियर उशेष श्रेष्ठका अनुसार लमजुङका १३ हजार ९ सय ५९ लाभग्राही सूचीमा छन् ।

यीमध्ये १३ हजार ४ सय ९५ लाभग्राहीले अनुदान सम्झौता गरेका छन् । १३ हजार ४ सय ५९ ले पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ लगेका छन् । ५ हजार ३ सय ३४ घरपरिवारले दोस्रो किस्ताबापत १ लाख ५० हजार रुपैयाँ लगेका छन् । १ हजार ३ सय ६४ जनाले तेस्रो किस्ताको १ लाख रुपैयाँ लगेका छन् । प्रवलीकरण सूचीमा परेका ५ सय ३९ जना लाभग्राहीमध्ये २ सय ९० जनाले पहिलो किस्ताबापत ५० हजार रुपैयाँ पाइसकेका छन् ।

प्रकाशित : चैत्र १०, २०७५ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्

वृद्धवृद्धाको गुनासो : नयाँ पुस्ता मोबाइलमै भुल्छन्

‘हामीले जीवनमा के के दुःखकष्ट भोग्यौं । के–के देख्यौं भन्ने कुरा छोराछोरी, नातिनातिनाले सुनिदिनुपर्छ’
दुर्गालाल केसी

दाङ — वृद्धवृद्धाको बौद्धिक सम्पत्ति उपयोग कसरी गर्ने ? जीवनभर उनीहरूले सँगालेका अनुभव नयाँ पुस्तामा कसरी हस्तान्तरण गर्ने ? यी विषयमा शनिबार तुलसीपुरमा गम्भीर बहस र छलफल भएको छ । ६० देखि ९० वर्षसम्मका ८३ वृद्धवृद्धा एक ठाउँमा जुटेर आफ्ना अनुभव साटासाट गरे । उनीहरूले आफ्ना कुरा नयाँ पुस्ताले नसुनेकामा गुनासो पनि गरे ।

दाङको तुलसीपुरमा शनिबार अनुभव साटासाट गर्न भेला भएका वृद्धवृद्धा । तस्बिर : दुर्गालाल/कान्तिपुर

जीवनभर सिकेका सीप नयाँ पुस्ताले सिक्न आवश्यक रहेको तुलसीपुर उपमहानगरपालिका–८, कटकुइयाकी ८३ वर्षीया भागीरथी पाण्डेले बताइन् । ‘हामीले जीवनमा के के दुःखकष्ट भोग्यौं । के के देख्यौं भन्ने कुरा छोराछोरी, नातिनातिनाले सुनिदिनुपर्छ,’ उनले भने, ‘हामीले देखे भोगेका कुरा अहिले छैनन् । हामी गएपछि ती कुरा पनि हराएर जान्छन् ।’

तुलसीपुर–८, ज्ञानज्योति टोलकी शिवाकुमारी उपाध्यायका ९ छोराछोरी र २६ नातिनातिना छन् । उनी कहिलेकाहीं केटाकेटीसँग कुराकानी गरौं भन्ने सोच्छिन् तर सबै आफ्नै धुनमा हुन्छन् । कुरा सुनिदिने कोही हुँदैन । ‘सबै मोबाइल खेलाइरहन्छन् । मोबाइलमा के के हेर्छन् । खेल्छन् । हाम्रा कुरा सुन्न कोही तयार हुँदैन,’ उनले भनिन्, ‘हामी आँखा देख्दैनौं, मोबाइल चलाउन जान्दैनौं । अचेलका केटाकेटी त्यसैमा भुलेका छन् । हाम्रा कुरा कसले सुनिदेओस् !’

तुलसीपुर–३ का ८४ वर्षीय हर्कसिंह ओलीले पनि जीवनमा अनेक अनुभव सँगालेका छन् । खेतीपाती गरे, छोराछोरी हुर्काउन मिहिनेत गरे, सकीनसकी पढाए । त्यसबेला पढ्न नपाए पनि कामका आधारमा धेरै ज्ञान हुने उनको अनुभव छ । आफूसँग भएको ज्ञान बाँडन चाहन्छन् तर कसले सिक्ने ? ‘वृद्धवृद्धाका कुरा सुन्ने र भएको सीप लिने काम गर्नुपर्छ । हाम्रो ज्ञान, सीप मर्न दिनुभएन,’ उनले भने, ‘हामी जाँदा हाम्रो सबै अनुभव हराउने अवस्था नहोस् ।’

पहिले पहिले बूढाबूढी र केटाकेटी एकै थलोमा बस्ने, कुराकानी सुन्ने र सरसल्लाह लिने चलन भए पनि अहिले सबै हराउँदै गयो । ‘अब त सबै एक्लाएक्लै बस्न थाले,’ तुलसीपुर–९ का ८८ वर्षीय दामोदर भट्टराईले भने, ‘नयाँ र पुराना पुस्ताको भेटै नहुने समय आइसक्यो । सबै आफ्नै धुनमा छन् । सिक्ने चलन हरायो ।’

वृद्धवृद्धासँग ज्ञानको भण्डार भएकाले उनीहरूका कुरा सुन्ने र सिक्ने चलन सुरु गर्न आवश्यक रहेको ज्येष्ठ नागरिक सरोकार केन्द्रका जिल्ला अध्यक्ष भोलानाथ योगीले बताए । ‘जीवनभर सँगालेको ज्ञान, सीप निकै उपयोगी हुन्छ । यो सीप हस्तान्तरण हुन आवश्यक छ,’ उनले भने, ‘घर परिवार र समाज भरिलो हुन ज्येष्ठ नागरिकले सम्मानजनक जीवन बाँच्न पाउनुपर्छ ।’

बोलीवचन र व्यवहार मीठो गर्न सके मात्रै पनि ज्येष्ठ नागरिकलाई सन्तोष मिल्ने नागरिक समाजका पूर्वअध्यक्ष टीकाराम रेग्मीले बताए । ‘सन्चो, बिसन्चो ख्याल गर्ने, कहिलेकाहीं सरसल्लाह लिने, कुरा सुनिदिने गर्दा पनि सन्तुष्टि मिल्छ,’ उनले भने, ‘समाज एकल परिवारमा बढी केन्द्रित भएकाले समस्या छ । ज्येष्ठ नागरिकको अनुभव उपयोग हुन सकेको छैन ।’

ज्येष्ठ नागरिकका अनुभव साटासाट गर्ने वातावरण मिलाउन र बुढेसकाल सुखद बनाउन विभिन्न मनोपरामर्शका कार्यक्रम सञ्चालन गर्न थालिएको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख डा. गोकर्ण दाहालले बताए । ‘बुढेसकाल निकै दुःखद र पीडादायी हुन्छ । यसलाई कसरी व्यवस्थापन गरी अधिकतम खुसी जीवन बाँच्ने भन्नेबारे परामर्श गर्ने गरेका छौं,’ उनले भने, ‘उहाँहरूको बौद्धिक सम्पत्ति उपयोग गर्न दिवा जमघट र छलफल कार्यक्रमलाई पनि महत्त्व दिइरहेका छौं ।’

ज्येष्ठ नागरिक सम्मान, न्यानो कपडा वितरण, स्वास्थ्य जाँचजस्ता कार्यक्रम गरेर वृद्धवृद्धाका समस्या सम्बोधन गर्ने प्रयास गरिरहेको तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले बताए । ‘अब ज्येष्ठ नागरिकलाई आरामदायी जीवनयापनमा सहायता गर्दै उहाँहरूको अनुभवबाट सिक्ने वातावरण तयार गर्दैछौं,’ उनले भने, ‘टोलटोलमा उहाँहरूका कथा सुन्ने परिपाटी सुरु गर्दैछौं ।’

प्रकाशित : चैत्र १०, २०७५ १०:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्